इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले छ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीकोसचिवालय बैठकले छ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिपल राई र सुहाङ नेम्वाङ रहेका छन् ।
आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन नमाने पछि छ जनाको नाम सिफारिस भएको हो । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि छ जनाको नाम सिफारिस भएको हो । जिल्ला कमिटी इलामले आकांक्षीहरुले जिल्लामा निवेदन दिन आव्हान गरेपछि छ जनाले उम्मेद्धवारीको नाम दर्ता गराएका थिए ।
सचिवालयको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको जिल्ला सचिव उमेश गुरुङले बताए ।
त्यस्तै नेपाली कांग्रेसको क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेको उपसभापति खगेन्द्र देवानले बताए ।
देवानका अनुसार आएका नाममलाई चैत आठभित्र प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले चैत १० मा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ । इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन पछि रिक्त बनेको उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएसँगै नेताहरु लविङमा लागेका छन ।






