विश्वका ४० देशबाट एकसाथ रिलिज हुँदै

काठमाडौं । अघिल्ला जात्रा र जात्रै जात्राको सफलतापछि तेश्रो सिक्वेलको रुपमा निर्माण भएको चलचित्र ‘महाजात्रा’ ९ चैत शुक्रबारबाट विश्वव्यापी रुपमा रिलिज हुँदैछ । ४० देशको २५० शहरमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ । नेपाली चलचित्र नेपालसँगै यतिधेरै देशमा एकसाथ रिलिज हुनलागेको यो नै पहिलो पटक हो । अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका अधिकाँस देशहरु, बेलायत, जापान, कोरिया, युएई, कतार जस्ता कैयौं देशमा यो चलचित्र रिलिज हुँदैछ । यस्तै साउदी अरबमा पहिलो पटक नेपाली चलचित्र महाजात्रा शुक्रबारबाटै प्रदर्शन हुँदैछ ।

विश्वका ४० देशबाट एकसाथ रिलिज हुँदै

रिलिज अघि यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा प्रिमियर शो गरियो । क्युएफएक्स सिभिल मलको दुईवटा हलमा गरिएको प्रिमियरमा ८०० जना भन्दा बढी अतिथिहरुले यो चलचित्र हेरे । २ घन्टा ४० मिनटको यो चलचित्र प्रिमियर शोमा हेदा दर्शकहरु सुरुदेखि अन्तिमसम्म निरन्तर हाँसेको देख्न पाईयो । चलचित्रले प्रिमियर शोमा सबैबाट सुखद प्रतिक्रिया पाएको छ ।

षट्कोण आर्ट्सद्धारा निर्मित यो चलचित्र हेरेपछि अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले प्रतिक्रिया दिँदै भने,‘ चलचित्रले यस्तो हँसायो की समय वितेको पत्तै पाईएन । कुनै फिल्म राम्रो हुन्छ भने कुनै रमाइलो हुन्छ । तर यो चलचित्र दुवै विधामा अब्बल छ ।’ यो परिवारसँग बसेर हेर्न मिल्ने चलचित्र बनेको उनले बताए ।

यस्तै अर्का अग्रज हाँस्य अभिनेता किरण केसीले यो चलचित्रले फिल्मी शैलीमा दिएको संदेश निकै महत्वपूर्ण भएको बताए । जात्रा सृँखलाका अघिल्ला दुई चलचित्र भन्दा यो महाजात्रा धेरै नै राम्रो बनेको उनले दाबी गरे ।

अर्का अग्रज हास्य अभिनेता सन्तोष पन्तले पनि चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म निरन्तर हँसाउने र बेला बेलामा गम्भिर बनाउने बताए । चलचित्रले हाँसोसँगै अहिलेको समसामयिक समस्यासँगै महत्वपूर्ण सन्देश दिएको पनि उनले बताए ।

निर्देशक तथा हास्य अभिनेत्री दीपाश्री निरौलाले आफुले सोचेको भन्दा महाजात्रा धेरै माथिल्लो स्तरको चलचित्र बनेको बताईन्,‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिदैन । किनकि यो चलचित्रको समग्र पक्ष नै राम्रो बनेको छ ।’

अभिनेत्री केकी अधिकारीले पनि यो चलचित्रको खुलेर प्रसँसा गरिन्, ‘जात्राका बिगतका पात्रसागै यसपटक हरिबँश आचार्यज्यू थपिँदा फिल्म झनै राम्रो भएको छ । मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन् र दर्शकले पनि यो चलचित्रबाट पूर्ण मनोरञ्जन लिनुहुने छ ।’

अर्की अभिनेत्री ऋचा शर्माले महाजात्रा हेरेपछि भनिन्, ‘यो चलचित्रमा हँसाइ हँसाइ टिमले कडा म्यासेज दिनुभएको छ । हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने थापा पाउनु हुनेछ ।’

यस्तै अभिनेत्री निशा शर्माले महाजात्राको कथा, पटकथा, संवादसँगै अभिनय उत्कृष्ट छ भनिन्,‘ यो एक हेर्नै पर्ने फिल्म बनेको छ । नेपालसँगै विश्वभर एकसाथ भव्य रुपमा रिलिज हुने महाजात्रा जस्ता फिल्मले हाम्रो बजार बढाउन र विस्तार गर्न मदत गर्छ भन्ने विश्वास मैले लिएको छु ।’

अर्का हास्य अभिनेता जीतु नेपालले पनि समग्रमा राम्रो चलचित्र महाजात्रा बनेको प्रतिक्रिया दिँदै भने,‘फिल्म पूर्ण प्याकेज बनेको छ । एउटा पक्ष मात्र राम्रो भएर फिल्मले यत्तिको तारिफ पाउदैन । यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् ।’

पहिलो पटक जात्रा ग्रुपमा महाजात्राबाट अभिनयमा जोडिएका अभिनेता हरिबँशले सबैको प्रतिक्रियाबाट खुसी हुँदै भने,‘ यसको स्क्रीप्ट राम्रो भएका कारण निर्देशक प्रदीप भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा म डबल हर्षित छु ।’

यस्तै अभिनेता विपिन कार्कीले भने,‘हरिबँश दाईसँग यो जुनीमा यतिराम्रो चलचित्रमा अभिनय गर्न पाउँदा म अत्यत्न खुसी छु । अझ आज सबैबाट चलचित्रको ’boutमा प्रसँसा पाउँदा म झनै खुसी भएको छु ।’ यी अभिनेताले जात्रा र जात्रै जात्रा भन्दा महाजात्रा धेरै नै मनोरञ्जन दिने सिनेमा बनेको बताए,‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृङ्खला हो र यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो ।’

अर्का अभिनेता एवम् कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले आफ्नो फिल्म करिअरलाई कलाकारको रुपमा नया उचाई दिने चलचित्रको रुपमा जात्रा सृँखला भएको बताए,‘जात्राले हामीलाई एउटा नयाँ उचाई दिएको छ । आज सबैबाट राम्रो प्रतिक्रिया पाउँदा दिनरातको मेहनत सफल भएको जस्तो लागेको छ ।’ उनले थपे,‘सिनेमा हलमा पनि दर्शकको भिड लागेपछि हामी अझ खुसी हुने छौं ।’

यो चलचित्रको निर्देशक प्रदीप भट्टराईले पनि प्रिमियरबाट पाएको प्रतिक्रिया प्रति खुसी व्यक्त गर्दै भने,‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुनेमा विश्वस्त छौं ।’

यो चलचित्रकी नायिका वर्षा राउतले प्रिमियर अघि निकै डराएको र प्रिमियरमा राम्रो प्रतिक्रिया पाउँदा आफु दँग परेको छु भनिन्,‘अब दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु । फिल्मको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउँदा म निकै खुसी छु ।’

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल, गौमाया गुरुङ, अर्जुनजंग शाही, प्रकाश घिमिरे, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, राम थपलिया, रोहिया महर्जनलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञराज पौडेल हुन् ।

निर्माता खत्रीले यो चलचित्र नेपालसँगै विश्वभर रिलिज हुने जानकारी दिँदै भने,‘मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अष्ट्रेलियाका केही शोहरु त अहिले नै हाउसफुल भईसकेको छ ।’ सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र पाएको यो चलचित्र नेपालको सबै सिनेमा हलमा रिलिज हुन लागेको पनि निर्माता खत्रीले जानकारी गराए,‘नेपालको सबै हलमा यो चलचित्र रिलिज हुँदैछ । यो वर्ष नेपालमा सवैभन्दा बढी शो पाएको चलचित्र सायद हाम्रो नै हो ।’

खत्रीको अनुसार यो चलिचत्रले मल्टिप्लेक्स चेन क्युएफएक्समा मात्रै देशभरका हलमा ६७ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ५ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ५ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ७ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ५ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको खत्रीले बताए । यस्तै बाँकी सबै मल्टिप्लेक्सले महाजात्रालाई उच्च शो दिएको पनि उनले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या