धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुनचाँदी पसलमा बुधबार राति चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
चोरी गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ कारागार रोड बस्ने ४५ वर्षीय पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पप्पु यस अघि लागुऔषध तथा सार्वजनिक अपराधमा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
पसल सञ्चालक बिनोद कुमार बर्माले सुनको पाँच जोडी टप, चाँदीको सामान सहित १० लाख बढिको चोरी भएको बताएका छन् ।
गुप्ताले आफ्नै घरको छतमाथिको पानी ट्यांकी भित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई सीसीटीभिको फुटेजकाे माध्यमबाट पक्राउ गर्न सफल भएको जनाइएको छ ।
चोरीको आरोपमा पक्राउ परेका पप्पु र उनका छोरा कारागार जाने चोकमा ठेलामा फलफूल र तरकारी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।






