अहिले समाजका हरेक उमेर समूहका मानिस वर्तमान राजनीतिक दलहरू र यिनीहरूका क्रियाकलापहरूबाट सन्तुष्ट छैनन् । नेतृत्वको चरित्र राजनीतिक स्वार्थको वरिपरि नै केन्द्रित भएको हुनाले समाजमा असन्तुष्टि बढेको हो । घटना तथा परिघटनाहरूको समाचार सुन्दा पढ्दा, हेर्दा, मुलुक विकास, सुशासन र सकारात्मक विषयवस्तु पढ्न र सुन्न पाइँदैन । भष्टाचार, गठबन्धन हेरफेर, काममा ढिलासुस्ती, गालीगलोज, कटाक्ष, आलोचनाजस्ता नेपाली राजनीतिमा भएका अवगुणहरू नै समाचार बन्ने गरेका छन् । विकास निर्माण र सिर्जना ओझेलमा परेको अवस्था छ ।
हिमाल, पहाड, तराईका गाउँ, बस्तीहरूमा चिया गफदेखि खेत, खला, घाँस, दाउरा, मेला पात, छलफल, बहस, अन्तक्र्रियाहरूमा नेताहरूले मुलुक बिगारे भन्ने अभिव्यक्ति व्यापक रूपमा आउने गरेको पाइन्छ । नीतिभन्दा नेता हावी भएकाले मुलुकमा सुशासन हरायो, भ्रष्टाचार मौलायो । नेताहरू नाता र दाताहरूको वरिपरि सीमित भए । राजनीतिमा परिवारवाद हावी भयो । यदि, परिवारका सदस्यहरूभन्दा बाहिर जानुपर्ने भएमा दाताहरूलाई अवसर दिने काम भयो । लोकतन्त्रका नाममा केही नेताहरूको सिन्डिकेटमा दलहरू चलेका छन् । शिक्षालय, न्यायालय, मन्त्रालयलगायतका ठाउँहरूमा भागबन्डा हुने गरेको छ । संवैधानिक आयोगहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं विभिन्न निगमलगायतका ठाउँहरूमा राजनीतिक दलहरूको प्रभाव र रवाफ देख्दा हाम्रो नेतृत्व नाता र दाताको पक्ष पोषणमा लागेको प्रस्ट देखिन्छ ।
मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेताको अभावका कारण राजनीतिक विसंगतिहरू चुलिएका छन् । नेता, नाता र दाताहरूको रुचीनुसार नै बारम्बार सरकार परिवर्तन भइरहेका छन् । नेतृत्वले मुलुकको अर्थतन्त्रलाई भष्मासुर तरिकाले नीतिगत खर्च गरेको पाइन्छ । विकसित मुलुकका प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्च ओहोदाका व्यक्ति एवं व्यक्तित्वहरू कामबाट निवृत्त भएपछि राज्यले कुनै सुविधा दिँदैन । उनीहरूले योग्यता र विज्ञताका आधारमा काम गरेको पाइन्छ । तर, हाम्रो मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, सभामुखलगायतका पूर्वभीआईपीहरूको जीवनभरको सेवा, सुविधा पाउने नीतिगत प्रबन्ध गरेर गरिब जनताको करबाट जम्मा भएको ढुकुटी दुरुपयोग गर्ने काम भएको छ । अझ यतिले मात्र नपुगेर ८ सय ८६ जना सांसदहरू बनाइएको छ । सातवटा प्रान्तीय सरकार र यससँग जोडिएको अर्बांै रुपैयाँ अनावश्यक रूपमा खर्च गरिएको छ ।
नेता, नाता र दाताहरूको रूचीनुसार परिवर्तन हुने सरकारले अर्थतन्त्रलाई भष्मासुर नीतिगत खर्चको स्रोत बनाएको छ
यस मुलुकमा जबसम्म जनताहरू सचेत भएर आप्mना राजनीतिक दल र नेताहरूभन्दा माथि मुलुक छ, समाज छ भन्ने चेतनाले प्रशिक्षित हुदैनन्, तबसम्म कम्बल ओढेर घिउ खाने नेताहरूको सिन्डिकेटबाट मुलुकले मुक्ति पाउने देखिँदैन । असत्यका पछाडि लामबद्घ लाग्ने जनता र नीति, सिद्घान्त र लोकलाज पचेको नेतृत्व भएसम्म नेपाल र नेपालीको भविष्य उज्ज्वल हुने देखिँदैन । कतिपय सचेत नागरिकले यस मुलुकलाई बिगार्ने नेपाली जनताहरू हुन् भन्ने गरेको सुनिन्छ । मुलुक चलाउन नसक्ने असक्षमहरूलाई पटकपटक मतदान गरेर सत्तामा पु¥याउने काम समाजले गरिरहेको छ । भ्रष्ट र स्टनबाजहरूका पछाडि समाज लागेको देख्दा मुलुकले अझै दुःख पाउने देखिन्छ । शीर्ष भनिने असक्षम व्यक्तिहरूले सत्तामा पुग्नका लागि गठबन्धन वा एकले अर्को दलको निर्वाचन चिह्नमा मत हाल्न आह्वान गर्दा जनताले त्यसै गरे । नेपाली समाजको चरित्रले गर्दा सक्षम तथा इमानदार व्यक्तिहरू राजनीतिमा आउन सक्दैनन् । आइहाले पनि स्वाभिमानी सक्षमहरू राजनीतिमा टिक्न सक्दैनन् । यस अर्थमा राजनीतिक विसंगतिको एउटा पाटो नेपाली समाज पनि भएको देखिन्छ ।
लोकतन्त्र आवरणमा आयो, व्यवहारमा आएन । साइनबोर्ड र नेपाल सरकारका लेटरप्याडहरूमा लोकतान्त्रिक व्यवस्था भन्ने गरिएको भए तापनि नेतृत्वको चिन्तन र चेतनामा लोकतन्त्र देखिँदैन । लोकतन्त्र आएपछि आमजनताको चुलाचौको महँगिएको छ । युवापुस्ताले मुलुक छोड्नुपरेको छ । उत्पादन घटेको छ, भ्रष्टाचार बढेको छ । यस्तै हो त लोकतन्त्र ? लोकतान्त्रिक शासन व्यवस्था ? होइन । लोकतन्त्रको अनुभूति जनताले गर्नुपथ्र्याे । गर्न पाएनन् । लोकतन्त्र विकास, सुशासन, रोजगार, उत्पादनसँग जोडिनुपथ्र्यो, जोडिनसकेन । शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय तथा सर्वसुलभ हुनुपथ्र्याे । यसो हुनसकेन । यसरी हेर्दा लोकतन्त्र सीमित, नेता, कार्यकर्ता र नेताका नातागोताहरूलाई स्वर्ण युगका रूपमा देखियो । आमजनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातजस्तो भयो ।
यस मुलुकमा राजनीति नीतिभन्दा नेताको षड्यन्त्रमा रुमलिइरहेको छ । नेताको नियतका कारण विधिको शासन हराउँदै गयो । राज्यका निकायहरू तथा कर्मचारीतन्त्रमा लोकतान्त्रिक आचरण तथा व्यवहार हुनसकेन । दलका शीर्ष भनिने नेताहरूको कर्म देखिरहेको प्रशासनतन्त्रले कालेकाले मिलेर खाउँ भालेको जुक्ति सुझायो । नेतृत्वलाई भ्रष्टाचारका बाटा र पाटाहरू बुझायो । त्यसैले वालुवाटार जगा, सुन तस्करी, टेरामक्स प्रकरण, भुटानी शरणार्थी काण्ड, ओम्नी, यती, दिनबन्धु चिया प्रकरणलगायतका घटनाहरू घटे । यस्तो राजनीतिक तथा प्रशासनिक वितण्डामा संलग्न भएकाहरूलाई यिनका वरिपरि परिक्रमा गर्नेहरूले देवत्वकरण गर्न छाडेनन् । ताली पड्काउने र अवसरको पर्खाइमा बस्नेहरूको स्वार्थका कारण अपराध गर्नेहरू अझै साहसी बन्दै गएका देखिन्छ ।
लोकतन्त्र भनेको अरूको विचारको पनि आदर गर्ने, सबैको हित र कल्याणका लागि काम गर्ने शासन व्यवस्था हो । तर, हाम्रा मुलुकका नेताहरूले लोकतन्त्रको माला लगाएका दलहरूका बीचमा आन्तरिक रिस, डाह, ईष्र्या, आलोचना, तँछाड मछाड, गुटबन्दी तथा स्वार्थको अभ्यास व्याप्त छ । आप्mनो र आप्mनाका हितमा केन्द्रित छ । नेतृत्वमा पुग्नेहरूले काम गर्न नसकेको स्वीकार पनि गर्दैनन्, काम पनि गर्न सक्दैनन् । मुलुकका राजनीतिक दल र यिनका नेतृत्वकर्ता, जुन जोगी आए पनि कानै चिरेकाजस्ता प्रमाणित भएको अवस्था छ ।
काण्डैकाण्डले भरिएको राजनीतिक अभ्यासका कारण समाजका अन्य क्षेत्रमा पनि इमानदारिता खस्कँदै गएको छ
मुलुक नेतामुखी स्वार्थको चंगुलमा दिन प्रतिदिन भासिइरहेको छ । मुलुकको आवश्यकता के हो ? विकासका कार्ययोजनाहरू कस्ता बनाउने ? मुलुकमा आर्थिक समृद्धि कसरी ल्याउने ? सुशासन कसरी स्थापित गर्ने ? उद्योगहरू कसरी स्थापना गर्न सकिन्छ ? शिक्षित युवाहरूलाई रोजगारको सिर्जना कसरी गर्ने ? प्रशासनतन्त्रलाई कसरी रूपान्तरण गर्ने ? कृषि उत्पादनलाई कसरी आधुनिकीकरण गर्ने ? शिक्षामा सुधार कसरी गर्ने ? स्वास्थ्य सेवालाई कसरी सर्वसाधारणसम्मको पहँुचमा पु¥याउने, मुलुकका अनावश्यक संरचनाहरू हटाई आर्थिक व्यवस्थापन कसरी गर्नेलगायतका एजेन्डाहरूमा कुनै छलफल, बहस, अन्तक्र्रिया भएको पाइँदैन । विज्ञ, विशेषज्ञ, लेखकहरूबाट प्रकाशित लेख, रचना, समाचारहरूबाट मुलुकको वास्तविकता बुझेर तत्अनुरूप काम गर्ने राजनीतिक संस्कार नहुनु दुर्भाग्य हो ।
राजनीतिक सुझबुझ भएका नागरिकले माओवादीकै कारण मुलुकमा राजनीतिक उथुलपुथल भएको हो भन्ने गर्छन् । माओका चेलाहरूले यो कुरा स्वीकार गर्दैनन् । उनीहरूको तर्क सुनिन्छ, मुलुकमा धेरै परिवर्तन भएको छ । अहिलेका राजनीतिक परिवर्तनहरू माओवादीकै करण भएको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिकलगायतका राजनीतिक परिवर्तनहरूको प्रणेता माओवादी हो भन्ने गरिन्छ । मानांै उनीहरूको दाबी सत्य हो भने यी परिवर्तनले समाजलाई के योगदान दियो ? यस दृष्टिकोणबाट मुलुकका अन्य राजनीतिक दल, नागरिक समाज, बुद्घिजीवीलगायत सिंगो समाजले सोच्नुपर्ने होइन ? मुलुकको वास्तविकताको मूल्यांकन गर्नुपर्ने होइन ?
अहिलेको व्यवस्थामा राखिएको समानुपातिक निर्वाचन प्रणालीकै कारण प्रत्यक्ष निर्वाचनमा कुनै पनि दलको बहुमत आउने अवस्था छैन । यो निर्वाचन प्रणाली र अनावश्यक सांसदहरूको संख्या हाम्रो मुलुकका सन्दर्भमा अनावश्यक सिद्घ भइसकेको छ । नेतृत्वले नाता र दाताहरूलाई सांसद बनाउनका लागि नै यो व्यवस्था राखेका हुन् भन्ने जानकारहरूको तीखो टिप्पणी छ । अहिलेको निर्वाचन प्रणालीकै कारण राजनीतिक अस्थिरता, गठबन्धन, असक्षमहरूको भीड तथा राजनीतिको दुरुपयोग भइरहेको छ । मुलुकलाई भद्रगोल बनाएर सुविधामा डकार्नेहरूले मुलुक कब्जा गरेका छन् । यो कुरा राजनीति गर्ने, दलको झोला बोक्ने, नेताहरूको परिक्रमा गर्नेहरूले किन बुभ्mदैनन् ? बुझेर पनि किन बुझ पचाउँछन् ? नागरिक समाज कहाँ छ ? मुलुकको प्रभुत्व वर्ग कहाँ छ ?
अन्त्यमा राजनीति गर्ने नेताहरूकै संलग्नतामा अनेक प्रकारका काण्ड घटिरहेका छन् । काण्डैकाण्डले भरिएको राजनीतिक अभ्यासका कारण समाजका अन्य क्षेत्रहरूमा पनि इमानदारी खस्कँदै गएको छ । राजनीतिमा इमान हराएको छ । लोकलाज पचेको छ । नेपाली जनताले कहिलेसम्म टुलुटुलु हेरेर बस्ने ? अब यसरी नबसौं ! गुण र दोषका आधारमा धारणा बनाआंै । मुलुक हामी सबैको हो । राजनीतिभन्दा धेरै माथि मुलुक हुन्छ भन्ने बुझौं ! नेता, नाता र दाताको वरिपरि घुमिरहेको राजनीतिक अभ्यासलाई जनता र मुलुकको पक्षमा काम गर्ने बनाउनका लागि सबै नागरिक एकजुट होआंै !






