नेपाल कृषिप्रधान मुलुक हो । पछिल्लो तथ्यांकनुसार कुल जनसंख्याको ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा आबद्ध रहेका छन् । आज रोजगारीका लागि दैनिक २ हजारभन्दा ज्यादा युवा बिदेसिने गरेका छन् । राज्यमा उद्योग तथा कलकारखानाको स्थापना गर्न नसक्दा आममानिस रोजगारीकै लागि घरखेत बन्दगीमा राखेर भए पनि विदेश जान विवश छन् । हामीले कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्दा कृषिमा लाग्ने जनशक्तिको समेत अभाव भइरहेको अवस्था एकातिर रहेको छ भने अर्कातिर कृषि उत्पादनले बजार प्राप्त गर्न नसक्दा कृषकमा निराशा उत्पन्न भई पेसाबाटै पलायन हुने अवस्थासमेत सिर्जना भइरहेको छ ।
कृषिको विकासका लागि राज्यले गर्नुपर्ने सामान्य कार्यहरू पनि गर्नसकेको छैन । कृषिलाई अत्यावश्यक पर्ने रासायनिक मलको समयमै व्यवस्था गर्न नसक्दा हजारौं बिघामा लगाइएका बालीले पर्याप्त उत्पादन नदिने समस्या वर्षैपिच्छे भोग्दै आएको समस्या हो । त्यसैगरी, कृषकका लागि आवश्यक पर्ने कृषि ऋण उपलब्ध गराउन नसक्दा कृषक थप मारमा परेका छन् । वास्तविक किसान पहिचान भएपछि सहज रूपमा ऋण पाउने वातावरणको निर्माण राज्यले गर्न सक्नुपर्छ, तब मात्र कृषिमा आकर्षण बढ्नसक्छ । कृषि विभागको पछिल्लो विवरणनुसार नेपालमा कृषियोग्य जमिनको ३० प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा रहेको छ । बाँकी ७५ प्रतिशत जमिनमा भने अकासे पानी अथवा मनसुनी वर्षाको भर पर्नुपर्ने अवस्था छ ।
यसैगरी, शीत भण्डारको अभावले उत्पादित वस्तु सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । राज्यले कम्तीमा पनि जिल्लामा एउटा मात्र भए पनि शीत भण्डारको निर्माण गरी कृषकको उत्पादन भण्डारणको व्यवस्था मिलाउने काम गर्न सक्नुपर्छ । यस्तै समस्याका कारण कृषियोग्य जमिनहरू बाँझो रहनेक्रम बढेर गएको छ । खासगरी उत्पादनले बजार नपाउने समस्याका कारण कृषि पेसा छाड्ने कृषकहरूको मात्रा बढेको देखिन्छ । आजभन्दा १५÷२० वर्ष अघिसम्म नेपालले भारतमा ठूलो मात्रामा धान निर्यात गर्ने गरेको थियो । तर, आज खाद्यान्न, तरकारी, फलफूललगायतका सबैजसो उपभोग्य सामग्रीहरूको आयात भारतबाटै गरिरहेका छौं । कृषि उत्पादन घट्दो क्रममा रहेको छ भने कृषियोग्य जमिन बाँझो रहने क्रम पनि बढेर गएको छ ।
कृषि उत्पादनले बजार नपाउँदा कृषकहरूले गोलभेंडा फालेका, दूध सडकमा पोखेका समाचार सुन्ने र देख्ने गरेका छौं । उखु किसानको हालत त्यस्तै रहेको छ । चिनी मिलले उधारोमा दिएको उखुको मूल्य नपाउदा उखु नै बालेका घट्ना पनि हामीले थाहा पाएकै छौं । यसरी समस्या नै समस्यामा रहेको कृषि क्षेत्रलाई आमयुवाको आकर्षणको क्षेत्र बनाउन राज्य गम्भीर भएर लाग्नुपर्छ । कृषि नै त्यस्तो क्षेत्र हो, जहाँ हजारौंले रोजगारी पाउनसक्छन् भने उत्पादनबाट आयात घट्न गई आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्छ । तसर्थ, कृषि क्षेत्रको विकासमा प्रभावकारी कार्य गरी आमयुवावर्गको आकर्षणको क्षेत्र बनाउने तर्फ राज्यले विशेष ध्यान दिनुपर्छ ।
अध्यागमन विभागमा झन्झटिलो प्रक्रियाको अन्त्य गरी छिटो र छरितो तरिकाले पर्यटकलाई सेवा प्रदान गर्ने वातावरण निर्माण गरिनुपर्छ
हाम्रो अर्को रोजगारी र आर्थिक विकासको उच्च सम्भावना रहेको क्षेत्र हो, पर्यटन । यसको विकासले रोजगारी सिर्जना, आर्थिक विकास तथा विदेशी मुद्रा आर्जन गर्न महŒवपूर्ण भूमिका खेलेको हुन्छ । नेपाल प्राकृतिक सुन्दरताले विश्वकै प्रसिद्धस्थल हो । क्षेत्रफलका हिसाबले साने भएर पनि हावापानीको विविधता, वनस्पतिमा विविधता अनि भौगोलिक विविधताले गर्दा विश्वमा नै चर्चित रहेको वास्तविकता सबैका सामु छँदै छ । यिनै कारणले गर्दा बर्सेनि लाखौंका संख्याका विदेशी पर्यटक नेपाल भ्रमणका लागि आउने गर्छन् । यो हाम्रो गौरवको विषय पनि बनेको छ भने आर्थिक विकासको आधारसमेत बनेको छ ।
पर्यटनको विकासमा गे्रट हिमालयन ट्रेलको महŒव ज्यादा मात्रामा रहेको छ । कञ्चनजंघादेखि सैपाल हिमालसम्मको क्षेत्रलाई ग्रेट हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालका कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । यसैगरी मध्यक्षेत्रको लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि ग्रेट हिमालयन टे«लअन्तर्गत समावेश गरिएको छ । यसैगरी, पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय गन्तव्यहरू समावेश गरिएका छन् । यस ट्रेलको पर्यटनबाट ५ हजार मिटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गरेको छ । तर, यस क्षेत्रको प्रचारप्रसार अपेक्षित रूपमा गर्न नसक्दा आशा गरिएनुसार पर्यटकहरू भ्रमणमा आउन सकिरहेका छैनन् ।
नेपाल प्राकृतिक सुन्दरताका दृष्टिकोणले आकर्षक मुलुक हो । यहाँका पहाडी स्थलहरू, विभिन्न प्रकारका भूसतह, गुफा, झरना, ताल तथा नदीहरूले विदेशी पर्यटकको मन लोभ्याउँछन् । त्यसैले, यस्ता स्थानहरूको भ्रमण गर्नका लागि ठूलो संख्यामा पर्यटकहरू नेपालमा आउने गर्छन् । यसैगरी, ऐतिहासिक तथा धार्मिक स्थलका लागि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, रिडी, उग्रतारा, मनकामना, पशुपतिनाथ, कृष्ण मन्दिर, चाँगुनारायणजस्ता मुख्य धार्मिक स्थलहरू हुन् । यसैगरी, काठमाडौं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका हिसाबले महŒवपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा मूर्तिकलाका कारण पर्यटकहरू निकै मोहित हुने गरेका छन् ।
नेपालको सांस्कृतिक विविधता पनि रोचक र मनमोहक नै रहेको छ जसका कारण पर्यटकहरू लोभिने गर्छन् । नेपालको जनगणना २०७८ अनुसार १ सय ४३ जातजातिहरू रहेका छन् । यी सबैका आआफ्ना मौलिक परम्परा, रीतिरिवाज तथा मूल्य मान्यताहरू रहेका छन् । दृष्टान्तका लागि राईको धान नाच, थारूको लठी नाच, गुरुङको सोरठी नाच, लिम्बुहरूको पालम, शेर्पाको स्याब्रु, काठमाडौंको नेवारी गीत र नाच आदि रहेका छन् । त्यसैगरी, हावापानीमा रहेको विविधता पनि पर्यटकको अर्को आकर्षणको कारण रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्य भागमा समशितोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । पर्यटकीय हिसाबले नेपालको सबै क्षेत्रमा उत्तिकै मात्रामा पर्यटन व्यवसायको सम्भावना रहेको छ ।
उत्पादनले बजार नपाउने समस्याका कारण कृषि पेसा छाड्ने कृषकहरूको मात्रा बढेको देखिन्छ
हाम्रो मुलुकमा साहसिक पर्यटनको पनि ज्यादा महŒव रहेको छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीहरूमा ¥याफ्टिङको सम्भावना उच्च रहेको छ । यसका साथै हिमाल आरोहण, प्याराग्लाइडिङ तथा बन्जी जम्पिङ, जीपलाइनजस्ता साहसिक पर्यटनका लागि पनि हजारौं पर्यटक बर्सेनि नेपाल भ्रमणका लागि आउने गरेका छन् । नेपालमा रहेको प्राकृतिक विविधता र वन्यजन्तुको विविधता पनि अर्को कारण बनेको देखिन्छ, पर्यटक आकर्षणको । विभिन्न भागमा रहेका निकुञ्ज, आरक्षणस्थलमा रहेका जनावर पन्छीहरू आदिका ’boutमा अध्ययन अनुसन्धानका लागि समेत हजारौंका संख्यामा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने गर्छन् । हाम्रो पर्यटन व्यवसायमा अनेकौं सम्भावना भएर पनि विभिन्न समस्याका कारण अपेक्षित विकास गर्न सकिएको छैन ।
पर्यटन क्षेत्रको विकासमा अनेकौं समस्या पनि रहेका छन् । हाम्रा पर्यटकीय स्थलहरूमा अझै पनि पर्यटकका लागि आवश्यक सेवा र सुविधा पर्याप्त मात्रामा नभएको अवस्था छ । होटल तथा लजहरूमा सुरक्षाको अवस्था कमजोर रहेको छ भने सञ्चार सुविधाहरू पनि विश्वसनीय र भरपर्दो रहेका छैनन् । इन्टरनेटको पहुँच विस्तार गरी पर्यटकका लागि सहज रूपमा सञ्चारका सबै सेवा उपलब्ध गराउन सक्नुपर्छ । त्यसैगरी, चाहेनुसारका आधुनिक र सुविधा सम्पन्न होटल तथा लजहरूको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसका साथै होटल तथा लजहरूमा पर्यटकलाई गरिने व्यवहार पर्यटनमैत्री बनाउन आवश्यक रहेको छ । शिष्ट व्यवहार, पारिवारिक वातावरणजस्ता पक्षमा विशेष ध्यान दिनु जरुरी रहेको छ ।
पर्यटन विभागबाट पनि पर्यटनमैत्री नीति निर्माण गरी भरपर्दो वातावरणको सिर्जना गर्न राज्य विशेष चनाखो बन्नुपर्छ । त्यसैगरी, अध्यागमन विभागमा झन्झटिलो प्रक्रियाको अन्त्य गरी छिटो र छरितो तरिकाले पर्यटकलाई कागजपत्र दिलाउने कार्य पनि सहज बनाउन सक्नुपर्छ । पर्यटनको विकासमा अवरोध सिर्जना गर्ने अर्को कारण भनेको राजनीतिक अस्थिरता पनि रहेको देखिन्छ । छिटोछिटो सरकार फेरिने गर्दा बनेका नीति पनि कार्यान्वयन नहुँदै फेरि सरकार बदलिन जाँदा थप अन्योल सिर्जना हुने गरेको छ । नेपालमा हजारौं मठ मन्दिरहरू रहेका छन् । यस्ता सम्पदाहरूलाई हामी धार्मिक सम्पदा भनेर चर्चा गर्छौं ।
हाम्रा प्राचीन र ऐतिहासिक धार्मिक सम्पदाहरूको अध्ययन अनुसन्धान तथा अवलोकनका लागि पनि ठूलो संख्यामा पर्यटकहरू नेपाल आउने गर्छन् । अझै पनि भूकम्पले क्षतिग्रस्त मठ मन्दिरहरूको पुनर्निर्माणको कार्य पूरा भइसकेका छैनन् । त्यसैगरी, विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूको सुन्दरता कायम राख्न र युनेस्कोको मापदण्डलाई पालना गर्न नसक्दा समयसमयमा हामीलाई युनेस्कोले सचेत गराउँदै आइरहेको छ । कुनै पनि सम्पदास्थलमा युनेस्कोको मापदण्डविपरीतका संरचना निर्माण गर्नुहँुदैन । यसैगरी, नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी ती स्थानमा सबै प्रकारका पूर्वाधारहरूको निर्माण गरी पर्यटन व्यवसायको विकासमा थप पहलको पनि खाँचो रहेको देखिन्छ ।
हाम्रो सन्दर्भमा कृषि र पर्यटनको विकासको प्रचुर सम्भावना रहेकाले यी दुवै क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रभावकारी रूपले काम गरी मुलुकको आर्थिक विकासमा उल्लेखनीय कार्य गर्नका लागि सम्बन्धित सबै गम्भीर भएर अगाडि बढ्नुको विकल्प देखिँदैन ।