खोटाङ । खोटाङमा दृष्टिविहीन दम्पतीले शिक्षक सेवा आयोगबाट एकसाथ स्थायी शिक्षकका लागि भएको परीक्षा उत्तीर्ण गरेका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमाया लिम्बूले प्रावि स्थायीमा एकसाथ नाम निकालेका हुन् ।
जन्मजात दृष्टिविहीन दम्पतीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्र लिएका छन् । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माविमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका छन् । लेखक सहयोगी राखेर परीक्षा दिएका दृष्टिविहीन दम्पतीले सोमबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ति पत्र बुझेका थिए ।
राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा कार्यरत थिए । त्यसअघि उनले दृष्टिविहीनलाई पढाउने पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा सात वर्ष काम गरेका थिए । लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गर्दै आएकी थिइन् ।
खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बुबीच २०७७ सालमा विवाह भएको थियो । राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेका थिए । धरानमा राईको आँखाको ज्योति फर्किएन तर धरानले उचित शिक्षादीक्षा दिलाएको थियो ।
स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्केका हुन् । राई दम्पत्तीले शिक्षक सेवा आयोगको प्रथम पेपरको परीक्षा धरानमा, दोस्रो पेपरको परीक्षा विराटनगरमा र अन्तर्वार्ता शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मोरङमा दिएका थिए ।






