सुनापतिलाई थाङ्का हब बनाईने

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकालाई थाङकु÷थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामछापको सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानसँग मिलेर सुनापाति गाउँपालिकालाई सो घोषणा गरेको हो ।

थाङ्काको मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ सो गाउँपालिकालाई ‘सुनापति थाङकु÷थाङ्का कला हब’ घोषणा गरिएको सो प्रतिष्ठानले जनाएको छ ।

सो पालिकाको वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले सोको घोषणा गरेका हुन् । घोषणासँगै पालिकामा ३ महिने थाङ्का कला प्रशिक्षण सुरुवात भएको छ ।

चौलागाईंले थाङ्का हब घोषणालाई लिएर पालिकाका सबै जनताले गौरव गर्नुपर्ने धारणा सो कार्यक्रममा राखे । उनले मौलिक कलालाई जर्गेना गर्दै रोजगारीसँग जोड्नु सराहनीय कार्य भएको सुनाए, ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ । यसलाई बचाउन र विकास गर्न जरुरी छ । मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु ।’ चौलागाईंले थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै यसले अर्थतन्त्रमा विशिष्ट योगदान दिने विश्वस ब्यक्त गरे ।

सो पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले बताए । उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए । उनले भने, ‘यसले पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ ।’

यस्तै, स्वागत मन्तव्य राख्दै पलिकाका वडा नं ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्राण्ड बनाउनुपर्ने बताए । वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकारहरू भएको बताउँदै उनले भने, ‘यहाँ सिकेर बस्नुभएकाले पनि यसलाई निरन्तरता दिनुपर्छ । थाङ्का व्यवसायीसँग छलफल गर्नुपर्छ र यसको निरन्तरता हुनुपर्छ ।’

गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सीप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राखे । गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानु पर्नेमा जोड दिए । उनले कलालाई पर्यटनसँग जोड्दै गाउँपालिकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले ऐतिहासिक कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने बताए । दोङका अनुसार पहिलो चरणमा सुनापति ४ नं. वडाबाट ४० जना प्रशिक्षार्थी सहभागी रहेको जानकारी दिए । उनले आगामी वर्ष यो कार्यक्रमलाई पालिकाका सबै वडामा विस्तार गरिने बताए ।

३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा कर्मध्वज सिंह तामाङ, विष्णुबहादुर लामा र टहलबहादुर लामा रहेका छन् । प्रशिक्षणको पहिलो चरण पालिकाको वडा नं ४ का भलवाडी र डहुमा सञ्चालन हुने छ । त्यसपश्चात यसलाई पालिकाका अन्य स्थानमा लगिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली