सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीलाई बुझाइयो

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको विषयमा गठित अनुसन्धान समितिले अनुसन्धान सकेको छ ।

विज्ञ टोलीले करिब चार महिना लगाएर तयार पारेको ३ हजार ४ सय १९ पृष्ठ लामो सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बुझाएका हुन् ।

महानगर प्रमुख आचार्यका अनुसार सो प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्नेछ ।

यसअघि बुझाइएको ४ सय ५० पृष्ठको प्रतिवेदनभन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धानसहित विस्तृत अध्ययन गरिएको छ । जसमा विभिन्न सफ्टवेयरको विवरणलाई पनि आधार मानिएको अनुसन्धानमा सहभागी सहकारीविज्ञ दीपकप्रकाश आचार्यले बताए ।

प्रतिवेदन तयारका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारीविज्ञ, चार्टर्ड एकाउन्टेन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरीलगायतलाई राखेर गत २० माघदेखि काम थालेको थियो । जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट इन्जिनियर अनिल लामिछाने विज्ञका रूपमा थिए । यस्तै, सहकारी समिति अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरीलगायतको संलग्नता थियो । प्रतिवेदनमा के छ भन्ने कुराको विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा छिरिसकेपछि मात्र बोल्न मिल्ने अनुसन्धानमा सहभागी सदस्यले बताए ।

पोखरा–४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीनुसार गत २२ साउनमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिमाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

१९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित अधिकांश फरार छन् ।

सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ । ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।

सहकारीपीडितले बचत रकम फिर्ता नपाएपछि संघर्ष समिति नै गठन गरेका छन् । संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले अहिलेको अनुसन्धान प्रतिवेदनबाट केही आशा गरिए पनि पूरक अनुसन्धानमा छानबिन समिति दबाबमा परेको आरोप लगाउँदै न्याय पाउनेमा आशा नरहेको बताए ।

प्रतिवेदन बुझाउने भन्ने सूचनापछि पोखरा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालय परिसरमा सहकारीपीडितको बिहीबार साँझ भीड लागेको थियो ।

भीडमा भेटिएका पर्वतको जलजलाका प्रेमप्रसाद रेग्मीले आफ्नो ९ लाख रकम सहकारीमा डुबेको बताए । तत्काल सहकारी ठग्नेहरूलाई पक्राउ गरी बचत रकम फिर्ता पाउनुपर्ने उनको माग छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान