सरकार, निजी क्षेत्र र जनताको सहकार्य जरुरी

नेपालमा दोस्रो चरणको कोरोना संक्रमणसँगै यसको रोकथामका लागि सरकारले उद्योगी, व्यवसायी, निजी क्षेत्र तथा आमजनतासँग एकताबद्ध भएर अघि बढ्न अपिल गरे पनि अपेक्षाकृत सहयोग भने पाउन सकिरहेको छैन । यस्तो अवस्थामा सरकारलाई सहयोग नहुनु भनेको संक्रमणविरुद्धको तयारीमा बल नपुग्नु पनि हो । यसले समग्रमा मानवजातिलाई र विशिष्टतामा सबै नेपालीलाई संक्रमणको डरलाग्दो चपेटामा पार्न सक्छ । सिंगो मानव जातिको प्राणघाती दुस्मनका रूपमा फैलिइरहेको यो महामारीको सामना सामूहिक प्रयत्नबाट मात्र सम्भव छ । तर, पनि सामूहिक प्रयत्नका लागि सम्बन्धित सबै पक्ष तयार नहुनु र सरकारको नेतृत्वमा राष्ट्रिय एकता कायम हुन नसक्नु आफंैमा दुर्भाग्यको कुरा हो । यस्तो बेलामा राष्ट्र एक हुन सकेन र राष्ट्रव्यापी प्रयत्नमा बल पुगेन भने त्यसको मार सिधै नेपाल र नेपाली जनतामाथि पर्न आउँछ । यस्तो बेलामा आपसी अविश्वास, आशंका र पूर्वाग्रह महामारीविरुद्ध लड्दाका बखतसम्म किनारा लगाएर थन्क्याउन जरुरी छ । सिर्जित विशिष्ट परिस्थितिमा आपसमा रहेका मतभिन्नता, मनमुटाव र अन्तरविरोधलाई पनि त्यही विशिष्टताका आधारमा हल गरी अघि बढ्न सक्ने क्षमता नेतृत्वमा हुनु र देखाइनु जरुरी पनि छ । यसका लागि सबैले कुण्ठा, हीनता र गुनासो त्याग्नुपर्दछ ।

अग्रगमनका लागि सबैभन्दा बढी आत्मसमीक्षा सरकारले नै गर्नुपर्छ । देश र जनताको नेतृत्वको जिम्मा आफ्नै हुने तर तदनुरूपको विश्वास, उत्तरदायित्व, गुण र नेतृत्वदायी क्षमता नहुने हो भने नेतृत्व गर्ने सरकार नै यान्त्रिक हुन जान्छ । यस्तो अवस्थामा उसले लिने निर्णय अनुमोदन नहुन सक्छ र उसका क्रियाकलाप यन्त्रवत अनुभूत हुन थाल्छन् । जनअनुमोदन नभएका र हुन नसक्ने कुरा लादिएका महसुस हुन थाल्छन्, यसले कोरोनाविरुद्धको लडाइँ सरकारविरुद्धको लडाइँमा परिणत हुने अवस्था पनि आउन सक्ने भएकाले सरकारले त्यस्तो अवस्था आउन नदिन पूर्णतः अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ । इतर पक्षहरूले पनि धमिलो पानीमा माछा मार्न खोज्ने सबै हर्कत बन्द गर्नुपर्छ । यस्तो महाविपतको समयमा राजनीतिक लाभ लिने कुत्सित प्रयास कसैले गर्छ भने त्यो महाअपराध हुनेछ । सरकारले पनि स्वास्थ्य सामग्री खरिद प्रकरण, खरिदका लागि अघि सरेका संस्था र तिनका सरकारमा रहेकाको आफन्तको स्वामित्व, खरिद सामानको गुणस्तर, सामान निकासीमा विलम्बजस्ता कुराले सरकारमाथि आमजनताले आशंका उब्जाएकै छन् । उठेका यी आशंकालाई सरकार आफैंले समय छँदै निवारण गर्न जरुरी छ । ‘फगत आरोप लगाए, मुछ्न खोजे, पूर्वाग्रही भए, असहयोग गरे’ आदि शब्दले शंका निवारण गर्दैन, बरु यसलाई गहि¥याउन सहयोग गर्छ । जहाँ घाउ छ, त्यही मलमपट्टी लगाउनुपर्छ । यसले मात्र जनताको विश्वास जित्ने वातावरण सिर्जना गर्न सहयोग पु¥याउँछ । यसमा सरकार निकै संवेदनशील हुन जरुरी छ ।

अर्कोतर्फ, सरकारसँग सहयोगको हात बढाउन नचाहनु अन्य सम्बन्धित पक्षको कमजोरी हो । बरु सरकारका कमजोरी हटाउन जोडदार माग गर्दै र सोका लागि वातावरण निर्माण गरी सहयोगी हातहरू अघि बढाउनु जरुरी छ । यस्तो बेलामा सरकारले पब्लिक–प्राइवेट–कोअपरेटिभ–पार्टनरसिपको अवधारणा विकास गरेर सबैलाई अपनत्व र सहअस्तित्वको अनुभूति दिलाउन सक्नुपर्छ । ‘तँ मभन्दा तल’ होइन कि ‘हामी एकसाथ’ भन्ने सामूहिक सहकार्यको सोच विकास गर्नु जरुरी छ । कोरोनाको महामारीविरुद्ध लड्न विश्वका विभिन्न देशमा अहिलेसम्मकै सबैभन्दा राम्रो, अति सहयोगी र सहागितामूलक सहकार्य भएको देखिएको छ । नेपाली आफंैले त्यसो गर्न नजाने पनि त्यो राम्रो कुराको सिको गर्नु जरुरी छ । आजका बखत एकातिर भाषण र अर्कोतिर आलोचना होइन, सबैतिर एकताको भावना र सहकार्य आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने