नेपालमा दोस्रो चरणको कोरोना संक्रमणसँगै यसको रोकथामका लागि सरकारले उद्योगी, व्यवसायी, निजी क्षेत्र तथा आमजनतासँग एकताबद्ध भएर अघि बढ्न अपिल गरे पनि अपेक्षाकृत सहयोग भने पाउन सकिरहेको छैन । यस्तो अवस्थामा सरकारलाई सहयोग नहुनु भनेको संक्रमणविरुद्धको तयारीमा बल नपुग्नु पनि हो । यसले समग्रमा मानवजातिलाई र विशिष्टतामा सबै नेपालीलाई संक्रमणको डरलाग्दो चपेटामा पार्न सक्छ । सिंगो मानव जातिको प्राणघाती दुस्मनका रूपमा फैलिइरहेको यो महामारीको सामना सामूहिक प्रयत्नबाट मात्र सम्भव छ । तर, पनि सामूहिक प्रयत्नका लागि सम्बन्धित सबै पक्ष तयार नहुनु र सरकारको नेतृत्वमा राष्ट्रिय एकता कायम हुन नसक्नु आफंैमा दुर्भाग्यको कुरा हो । यस्तो बेलामा राष्ट्र एक हुन सकेन र राष्ट्रव्यापी प्रयत्नमा बल पुगेन भने त्यसको मार सिधै नेपाल र नेपाली जनतामाथि पर्न आउँछ । यस्तो बेलामा आपसी अविश्वास, आशंका र पूर्वाग्रह महामारीविरुद्ध लड्दाका बखतसम्म किनारा लगाएर थन्क्याउन जरुरी छ । सिर्जित विशिष्ट परिस्थितिमा आपसमा रहेका मतभिन्नता, मनमुटाव र अन्तरविरोधलाई पनि त्यही विशिष्टताका आधारमा हल गरी अघि बढ्न सक्ने क्षमता नेतृत्वमा हुनु र देखाइनु जरुरी पनि छ । यसका लागि सबैले कुण्ठा, हीनता र गुनासो त्याग्नुपर्दछ ।
अग्रगमनका लागि सबैभन्दा बढी आत्मसमीक्षा सरकारले नै गर्नुपर्छ । देश र जनताको नेतृत्वको जिम्मा आफ्नै हुने तर तदनुरूपको विश्वास, उत्तरदायित्व, गुण र नेतृत्वदायी क्षमता नहुने हो भने नेतृत्व गर्ने सरकार नै यान्त्रिक हुन जान्छ । यस्तो अवस्थामा उसले लिने निर्णय अनुमोदन नहुन सक्छ र उसका क्रियाकलाप यन्त्रवत अनुभूत हुन थाल्छन् । जनअनुमोदन नभएका र हुन नसक्ने कुरा लादिएका महसुस हुन थाल्छन्, यसले कोरोनाविरुद्धको लडाइँ सरकारविरुद्धको लडाइँमा परिणत हुने अवस्था पनि आउन सक्ने भएकाले सरकारले त्यस्तो अवस्था आउन नदिन पूर्णतः अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ । इतर पक्षहरूले पनि धमिलो पानीमा माछा मार्न खोज्ने सबै हर्कत बन्द गर्नुपर्छ । यस्तो महाविपतको समयमा राजनीतिक लाभ लिने कुत्सित प्रयास कसैले गर्छ भने त्यो महाअपराध हुनेछ । सरकारले पनि स्वास्थ्य सामग्री खरिद प्रकरण, खरिदका लागि अघि सरेका संस्था र तिनका सरकारमा रहेकाको आफन्तको स्वामित्व, खरिद सामानको गुणस्तर, सामान निकासीमा विलम्बजस्ता कुराले सरकारमाथि आमजनताले आशंका उब्जाएकै छन् । उठेका यी आशंकालाई सरकार आफैंले समय छँदै निवारण गर्न जरुरी छ । ‘फगत आरोप लगाए, मुछ्न खोजे, पूर्वाग्रही भए, असहयोग गरे’ आदि शब्दले शंका निवारण गर्दैन, बरु यसलाई गहि¥याउन सहयोग गर्छ । जहाँ घाउ छ, त्यही मलमपट्टी लगाउनुपर्छ । यसले मात्र जनताको विश्वास जित्ने वातावरण सिर्जना गर्न सहयोग पु¥याउँछ । यसमा सरकार निकै संवेदनशील हुन जरुरी छ ।
अर्कोतर्फ, सरकारसँग सहयोगको हात बढाउन नचाहनु अन्य सम्बन्धित पक्षको कमजोरी हो । बरु सरकारका कमजोरी हटाउन जोडदार माग गर्दै र सोका लागि वातावरण निर्माण गरी सहयोगी हातहरू अघि बढाउनु जरुरी छ । यस्तो बेलामा सरकारले पब्लिक–प्राइवेट–कोअपरेटिभ–पार्टनरसिपको अवधारणा विकास गरेर सबैलाई अपनत्व र सहअस्तित्वको अनुभूति दिलाउन सक्नुपर्छ । ‘तँ मभन्दा तल’ होइन कि ‘हामी एकसाथ’ भन्ने सामूहिक सहकार्यको सोच विकास गर्नु जरुरी छ । कोरोनाको महामारीविरुद्ध लड्न विश्वका विभिन्न देशमा अहिलेसम्मकै सबैभन्दा राम्रो, अति सहयोगी र सहागितामूलक सहकार्य भएको देखिएको छ । नेपाली आफंैले त्यसो गर्न नजाने पनि त्यो राम्रो कुराको सिको गर्नु जरुरी छ । आजका बखत एकातिर भाषण र अर्कोतिर आलोचना होइन, सबैतिर एकताको भावना र सहकार्य आवश्यक छ ।






