सार्वजनिक निकायमा उजुरी व्यवस्थापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले एउटा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, ‘आयोगमा समाजका विकृति र सार्वजनिक अधिकार र स्रोतसाधन दुरुपयोगका उजुरीहरू बढने क्रम जारी छ, आयोग उजुरीहरूको कुशल व्यवस्थापनमा केन्द्रित रहेको छ ।’ आयोगमा नागरिकका उजुरी पर्नु भनेको आयोगप्रतिको आस्था र विश्वासको अभिवृद्धि हो । कसैले व्यवस्थापन गर्न नसकेका अनियमितता र अनैतिक क्रियाकलापहरूको समाधान आयोगले मात्र गर्नसक्छ भन्ने विश्वास समाजमा रहेको छ । यसलाई आयोगको उच्च सफलताको द्योतक मान्नुपर्छ । आयोगले भविष्यमा उजुरीको व्यवस्थापन कुशलतापूर्वक गर्दै नागरिकको भरोसालाई सम्मानित र चीरस्थायी गर्नुपर्छ ।

उजुरीका सम्बन्धमा मेरो आफ्नै एउटा अनुभव छ । काठमाडौं महानगरपालिका २६ नम्बर बडाको कुमारीटोलजस्तो घना आवासीय बस्तीमा एउटा व्यक्तिले राजनीतिक आडमा पानी उद्योग सञ्चालन गरेको छ । ५ सय फिटभन्दा तल पुगेर पानी तानेर उसले व्यापार गर्दा हाम्रा सय फिट गाडेर पानी आउने सबै धारा सुकेका छन् । साना गाडीहरूको निरन्तर ओहोरदोहोरको आवाजले न सुखसँग सुत्न पाइएको छ, न बाटोमा हिँड्न । बालबच्चा र बूढापाकाहरूलाई त पटकपटक ती गाडीले ठक्कर पनि दिइसके । धूलो उडेर गाईजात्रा हेर्न अन्त जानुपर्दैन । हामी हैरान छौं । हामीले उद्योग सञ्चालन गर्न र गाडी गुडाउन विरोध गरिरहेका पनि छौं । काठमाडौं महानगरपालिकाको वडादेखि महानगरपालिकाका नगरप्रमुखको सचिवालयसम्म उजुरी गरेका छौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारीदेखि खानेपानी कार्यालय र मन्त्रालयमा पनि उजुरी गरेका छौं । जहाँजहाँ हामी उजुरी गर्छौं, उहीँउहीँ पानी उद्योगका मालिक पुग्ने र उजुरीलाई निस्तेज गर्ने गरिरहेका छन् । हाम्रो विश्वास त्यताबाट उठेर गइरहेको छ । अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे केही होला भन्ने कि आशा र भरोसामा पुगेका छौं ।

उजुरी सार्वजनिक निकायहरूको काम कारबाहीप्रति नागरिक सेवाग्राही तथा तत्तत् निकायका कर्मचारीका चित्त नुबुझेका क्रियाकलापहरू, भएका अनियमितता, अधिकारको दुरुपयोग तथा सेवा प्रवाहका कमी कमजोरीहरूका सम्बन्धमा दिइने जानकारी, प्रकट गरिने रोष र गरिने सुधार सुझाव उजुरी हो । उजुरी सार्वजनिक निकायहरूको कार्यसम्पादनप्रतिको असन्तुष्टि, अस्वीकार्यता र अनियमितता प्रकट गर्ने माध्यम हो । उजुरीले भइरहेको राम्रो परिपाटीलाई भविष्यमा आउनसक्ने परिवर्तनअनुकूल बनाउन रचनात्मक सुझाव पनि दिन्छ । तर, उजुरीहरू सबै आदर्श र उद्देश्यमूलक हुँदैनन् । उजुरीमा धेरै नेगेटिभ भाव रहेको हुन्छ । यद्यपि, उजुरीले संगठनलाई सचेत गर्दै सुधारका लागि आँखा भने खोलिदिने काम गर्छ ।

सार्वजनिक वा निजी संगठनहरूको सेवा प्रवाहमा सुधार, अधिकार र स्रोतसाधनको सदुपयोग, नागरिक वा सेवाग्राहीका अप्ठेरा र सास्तीहरूको सम्बोधन, नीतिगत वा कार्यगत सुधारको माग वा मनोरञ्जन प्राप्त गर्नु जस्ता उजुरीका उद्देश्यहरू रहेका हुन्छन् । नागरिक वा सेवाग्राहीले गोप्य वा सार्वजनिक रूपमा सम्बन्धित कार्यालयमा उजुरी दिने गर्छन् । कार्यसम्पादन सम्बन्धमा अनुभूत व्यवहारका सम्बन्धमा निजी रूपमा फिडब्याक दिन्छन् । मिडियामा नाम गोप्य रहने वा नरहनेगरी जानकारी पनि दिन्छन् । आजको सूचना सञ्चार प्रविधिको विकास र अभ्यास तथा नेटवर्कमा जेलिँदै गएको डिजिटल समाजमा सामाजिक सञ्जालहरूमा उजुरी राख्ने चलन पनि बढ्दै गएको छ ।

उजुरीका सम्बन्धमा भए गरेका कारबाहीको सरकारका तीनवटै तहले प्रस्ट अभिलेख राख्नुपर्छ

सार्वजनिक निकायहरूले नागरिक तथा सेवाग्राहीका उजुरीलाई महत्व दिँदै आएको देखिन्छ । सार्वजनिक संगठनका लागि नागरिक वा सेवाग्राहीको उजुरी एक नियमित र हटाउन नसकिने कार्य हो । संगठनमा जतिसुकै राम्रोसँग काम गर्न खोजे पनि केही न केही कमजोरी हुने गर्छ । त्यस्ता विषयमा उजुरी पर्ने गर्छ । सार्वजनिक तथा निजी निकायहरूले आफ्नो कार्यसम्पादनमा हुनसक्ने त्रुटी वा कमजोरी जान्न सुझावपेटिका राख्ने, सेवा लिइसकेपछि फिडब्याक लिने तथा सेवाग्राही सर्भे गर्ने गरेको देखिन्छ । नागरिक तथा सेवाग्राहीले सार्वजनिक संगठनमा विभिन्न अभिप्रायले उजुरी गर्ने गरेको पाइन्छ । उजुरीलाई वर्गीकरण गरेर हेर्दा पाँच किसिमका उजुरीहरू देखिन्छन् । पहिलो, सेवा प्रवाह सुधारसँग सम्बन्धित, दोस्रो, नीतिगत सुधार वा नयाँ नीतिको मागसँग सम्बन्धित, तेस्रो, अधिकार दुरुपयोग वा स्रोतसाधनको हिनामिना र दोषीलाई विभागीय कारबाहीसँग सम्बन्धित, चौथो, मनोरञ्जन सम्बन्धित र पाँचौं झुठा आरोपको फेहरिस्त सम्बन्धित हुन्छन् ।

सेवाप्रवाहसँग सम्बन्धित उजुरीमा लामो समयसम्म सेवा लिन कुर्नुपरेको, कर्मचारीले सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको, सेवाप्रवाहमा ढिलासुस्ती हुने र आर्थिक लेनदेन हुने गरेको, सेवाको गुणस्तर राम्रो नभएको, सार्वजनिक सेवा लिनजाँदा धेरै खर्च हुने गरेको, सेवाग्राहीका लागि सेवा प्रवाह सम्बन्धमा पर्याप्त सूचना नदिइएको नागरिक बडापत्रको सही रूपमा कार्यान्वयन नभएको, कार्यालयमा सेवाग्राहीका लागि हेल्पडेस्क नभएको, स्वचालित र अनलाइन सेवा प्रवाहको व्यवस्था नभएको जस्ता आलोचना र सुझाव रहेका पाइन्छ ।

नीतिगत सुधार वा नयाँ नीतिअन्तर्गत भइरहेको नीतिले सम्बोधन गर्न नसकेकाले नीतिगत सुधार गर्न तथा नयाँ नीति आवश्यक परेको तर्फ इंगित गरिएको हुन्छ । संगठनले आफ्नो नीतिगत व्यवस्थामा पुनरालवोकन गर्न अवसर प्राप्त गर्छ । अधिकारको दुरुपयोग वा स्रोतसाधनको हिनामिना सम्बन्धमा पर्ने उजुरीले संगठनको अधिकार र स्रोतसाधनको सही उपयोगलाई प्रेरित गरेको हुन्छ । अधिकार र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने पदाधिकारीमाथि अनुसन्धान गरी कानुनी कारबाहीको माग गर्छ । आधुनिक संगठनमा सूचनाको हकसम्बन्धी अधिकारले शंखघोष गर्नसक्ने अधिकार कर्मचारी वा सेवाग्राहीलाई दिएको छ । सञ्चारमाध्यमको पनि आँखा परेको हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रिया पनि सक्रिय छ । यस प्रकारका उजुरीले नेतृत्वलाई कार्यसम्पादन गर्दा विधि र कानुनको अनुसरण गर्न झकझक्याएको स्पष्ट देखिन्छ ।

उजुरीले सधैं सुधारको गम्भीर उद्देश्य बोकेको हुँदैन । मलाई यहाँ भारतीय चलचित्रमा सिंघामको एउटा दृश्यको सम्झना आउँछ । चलचित्रको हिरो पुलिस अधिकारी हुन्छ । हिरो र भिलेनका बीचमा द्वन्द्व शिखरमा पुगेका बेला एकठाउँमा मर्डर भएको छ भन्ने उजुरी (सूचना) आउँछ । हिरो दौडेर त्यस स्थानमा पुग्छ । त्यस स्थानमा कोही र केही पनि हुँदैन । नजिकैको रेस्टुरेन्टमा केही ठिटाहरू मदिरा पिएर रमाइलो गरिरहेका हुन्छन् । यहाँ कसैले मर्डर भएको भनेर खबर गरेको थियो भनेर हिरोले सोध्छ । हामी त मर्डर फिल्म हेरिरहेछौं भन्दै केटाहरू गलल्ल हाँस्छन् । हिरो रिसाउँदै तिनीहरूलाई भक्कु गोदेर फर्कन्छ । यसप्रकारका मनोरञ्जनात्मक उजुरीहरू पनि संगठनमा पर्ने गर्छन् ।

उजुरीहरू नकारात्मक र झुठा सन्देश बोकेर पनि आएका हुन्छन् । हेर्दा सत्यजस्तो लाग्ने हुन्छ, अनुसन्धान गर्दैजाँदा झुठा ठहर्छ । त्यस्ता उजुरीको व्यवस्थापनले संगठनको समय र बजेट खेर जान्छ । यसकारण उजुरीलाई गुणस्तरीय बनाउनुपर्छ । उजुरीकर्तालाई पनि जिम्मेवार बनाउँदै जानुपर्छ भन्ने माग पनि छ । एउटा छलफल कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले भारतमा उजुरी दिएपछि अनुसन्धान र तहकिकातको हरेक चरणमा आवश्यकतानुसार उजुरीकर्ता सहभागी गराइँदो रहेछ । उजुरीकर्तालाई जिम्मेवार बनाउन खोज्दा आयोगमा उजुरी पर्न कमी आउने जोखिम उच्च हुनसक्ने भन्दै आफ्नो अनुभव सुनाउनुभएको थियो ।

उजुरीको विश्वसनीयताको अध्ययनबिना उजुरीको व्यवस्थापन उत्पादक हुनसक्दैन । उजुरी नामसहित र नामरहित पर्ने गर्छ । संगठनमा कार्यरत कर्मचारीको सूचना, सेवाग्राहीको व्यक्त प्रतिक्रिया, पत्रपत्रिकामा छापिएको समाचार उजुरीका रूपमा अध्ययन अनुसन्धानका स्रोत हुनसक्छन् । उजुरी प्राप्त भएपछि उजुरीको गाम्भीर्यताका आधारमा छनोट गरिन्छ र प्रारम्भिक अध्ययन गरिन्छ । प्रारम्भिक अध्ययनले विस्तृत अनुसन्धान माग गरेमा विस्तृत अध्ययन तथा प्रमाणहरूको ल्याब परीक्षण गरी सुधारका लागि रणनीति विकास गरिन्छ । अधिकारको दुरुपयोग वा भ्रष्टाचारजन्य कार्य भएमा अदालतमा मुद्दासमेत दायर गरिन्छ ।

उजुरी सार्वजनिक निकायको चित्त नुबुझेका क्रियाकलाप, अनियमितता, अधिकारको दुरुपयोग, कमीकमजोरी तथा जानकारी र सुझाव हो

संगठनमा उजुरी धेरै पर्नु भनेको संगठनको अप्रभावकारिताको द्योतक हो भनेर बुझ्ने प्रवृत्ति समाजमा बढिरहेको पाइन्छ । वास्तवमा त्यो होइन, उजुरीहरू धेरैजसो संगठनको थप सुधारसँग सम्बन्धित हुन्छन् । उजुरीको गुणस्तरीयताले उजुरीको जिम्मेवारीपूर्वक समयभित्र व्यवस्थापन गर्न प्रेरित गरेका हुन्छन् । संगठनले उजुरीलाई सुधारको प्रस्थान बिन्दु मानेर उजुरी व्यवस्थापनमा केन्द्रित हुनुपर्छ । उजुरी व्यवस्थापन गर्दा सोही प्रकारको उजुरी पुनः नदोहोरियोस् भनी उजुरीहरूले औंल्याएका पक्षहरूलाई सुधार गर्नु नै प्राथमिकतामा राख्नुपर्छ ।

प्रजातान्त्रिक शासन प्रणाली जहाँ सुशासनको खोजी गरिन्छ, त्यहाँ उजुरीको व्यवस्थापन सधैं पहिलो प्राथमिकतामा पर्छ । उजुरी कुशल व्यवस्थापन आजको आवश्यकता हो । उजुरीको व्यवस्थापन उजुरीको वर्गीकरणमा आधारित हुन्छ । सेवाप्रवाह सुधारका लागि प्रक्रियागत सुधार महत्वपूर्ण हुन्छ । सार्वजनिक सेवाको गुणस्तर वृद्धिका लागि सेवाको उत्पादन प्रक्रियामा सुधार, सेवाग्राहीको समय र लागत कम गर्न सेवा प्रवाहमा स्वचालन र अनलाइन सेवाको प्रभावकारिता, सेवाप्रवाह प्रक्रियामा नैतिकपक्षको आबद्धता र पारदर्शितालाई समेट्नुपर्छ ।

उजुरीले नीतिगत सुधारको माग गरेको छ भने नीति निर्माण तहले गहन अध्ययन गरी नीति सुधार वा नयाँ नीति निर्माण गर्नुपर्ने हुन्छ । यसबेला नीति निर्माण तहले नीतिगत पुनरावलोकन गर्न विज्ञको सेवा लिनसक्ने हुन्छ । सार्वजनिक वा निजी संगठनमा संगठनको जिम्मेवारी पूरा गर्दा अधिकार र स्रोतको प्रयोग हुने भएकाले भ्रष्टाचार हुने सम्भावना उच्च रहन्छ । कार्यसम्पादनमा पारदर्शिता, स्वार्थको संघर्ष भएको अवस्थामा जानकारी निर्णय प्रक्रियाबाट गराइ अलग रहने संगठनभित्र हुनसक्ने गैरकानुनी कार्यलाई निरुत्साहित गर्न शंखघोष गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने, सेवाग्राहीको सहभागितामा सार्वजनिक सुनुवाइ, कार्यसम्पादनको सार्वजनिकीकरण, सार्वजनिक कार्य सम्पन्न भएपछि सार्वजनिक परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ ।

सार्वजनिक संगठनमा नागरिक वा सेवाग्राहीलाई उजुरी दिन प्रोत्साहित गरेको पाइन्छ । कार्यालयको सजिलो स्थानमा सेवाग्राहीले उजुरी गर्न सकोस् भनेर उजुरीपेटिका राख्ने गरेको देखिन्छ । कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार गर्न लगाइएको हुन्छ । उजुरी गर्ने सेवाग्राहीलाई सेवा शुल्कमा छुट, सम्मान वा पुरस्कृत गर्ने गरिन्छ । कार्यालयमा गुनासो सुन्ने वा उजुरी व्यवस्थापन गर्ने अधिकारीको व्यवस्था गरिएको हुन्छ । सेवा लिइसकेपछि सेवाग्रहीसँग रिपोर्टकार्ड भराउने चलन आमरूपमा प्रचलित छ । म चीन भ्रमणमा जाँदा तिब्बत विमानस्थलमा इमिग्रेसन सकिएपछि कर्मचारीले एउटा कागत दिएर फिडव्याक लेख्न लगाए । मैले कागज भरेर दिएपछि उनले मलाई पासपोर्ट दिएका थिए । यसले रिपोर्टकार्ड भर्ने परिपाटीलाई बाध्यात्मक बनाएको मैले अनुभव गरेको थिएँ । किनकि, कर्मचारीले मेरो पासपोर्ट मलाई नदिईकन फर्म भर्न लगाएका थिए । जुन सेवाग्राहीमैत्री थिएन । यसकारण उजुरी लिने र व्यवस्थापन गर्ने प्रक्रिया सदैव सेवाग्राहीमैत्री हुनुपर्छ, भनिन्छ ।

संगठनले परेका सबै उजुरीका सम्बन्धमा भए गरेका कारबाहीको प्रस्ट अभिलेख राख्नुपर्छ । कस्तो उजुरी परेको थियो र सो उजुरीमा के कस्तो कारबाही भयो ? त्यसको विवरण सार्वजनिक गर्नुपर्छ । उजुरीको व्यवस्थापन गर्दा सुधार लागत–प्रभावी, सान्दर्भिक र सेवाग्राहीमैत्री छ या छैन गहन अध्ययन गर्नुपर्छ । संगठनहरूले आफ्नो सेवा प्रवाहको गुणस्तरीयता विकास गर्न निरन्तर फिडब्याक लिने संयन्त्र विकास गरेका हुन्छन् । संवेदनशील तथा आर्थिक अपचलनसम्बन्धी उजुरीकर्ताको सुरक्षालाई दृष्टिगत गरी उजुरीकर्ताको परिचय गोप्य राख्ने सुनिश्चित हुनुपर्छ । यस्ता उजुरीको छानबिन वा अनुसन्धान पनि गहन र तथ्यमा आधारित हुनुपर्छ । उजुरीको वर्गीकरण गरी कुन उजुरीको कहिलेसम्म अनुसन्धान गर्न सकिन्छ सो पनि सार्वजनिक गर्नुपर्छ र अनुसन्धानबाट प्राप्त नतिजा पनि सार्वजनिकीकरण गर्नुपर्छ ।

सार्वजनिक वा निजी संगठनमा उजुरीलाई संगठनको नीतिगत वा कार्यगत सुधारको तथा अधिकार प्रयोग र स्रोत उपयोगको आधारभूत पक्ष मानिएको हुन्छ । आधुनिक संगठनले डिजिटल रूपमै सेवा प्रवाहका सम्बन्धमा उजुरी वा फिडब्याक लिने गरेका छन् । नेपाल सरकारले हेलो सरकार सञ्चालन गरेर उजुरी लिने र सम्बन्धित निकायमा कारबाहीका लागि पठाउने गरेको छ । उजुरी व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारहरू पनि संवेदनशील बन्नुपर्छ । उजुरी गर्ने र उजुरीको व्यवस्थापन गर्ने परिपाटी प्रजातान्त्रिक शासन प्रणालीको विशेष चरित्र हो । पारदर्शी, सहभागितामूलक र उत्तरदायी शासन प्रणालीको परिचायक पनि हो । यसकारण उजुरी व्यवस्थापनमा सरकारका तीनै तह चनाखो र जिम्मेवार बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए