काठमाडौं । विगत केही दिन देखि विभिन्न राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोटप्रति सरकार किन उदार ?’ भन्ने व्यहोराको विज्ञापनप्रति नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । केही समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने कुराको सन्देश दिन खोजेको विज्ञप्तिमा उल्लेख छ ।
संघले चुरोटमा ३३ प्रतिशत मात्र कर लगाइको भन्ने सूचना भ्रामक रहेको दाबी गरेको छ । शुक्रबार एक विज्ञप्ति निकालेर संघले राष्ट्रिय दैनिकमा प्रकाशित भइरहेको ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार ?’ व्यहोराका विज्ञापन भ्रामक रहेको दाबी गरेको हो।
नेपाल सरकारको कूल राजस्वमा सूर्तिजन्य उद्योगको चार प्रतिशतभन्दा बढी योगदान रहेको भन्दै सरकारको राजस्व नितिमा प्रभाव पार्ने उद्देश्यले नियोजित रूपमा भइरहेको प्रचारको भ्रममा नपर्न संघले आग्रह गरेको हो।
नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने उल्लेख गर्दै संघले चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको जनाएको छ।
संघका उपाध्यक्ष नवल किशोर चौधरीद्वारा जारी विज्ञप्तिमा तथ्यहिन एवं भ्रामक सूचनाबाट नीति निर्मातालाई प्रभावित पार्न खोज्नु भनेको उद्योगहरूले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभएर स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैर कानूनी वस्तुहरूलाई प्रोत्साहन गर्नु र निहीत स्वार्थका लागि राज्यलाई गुमराहमा राख्नु भएको ठहर गरिएको छ।
संघले सरकारले मिथ्याङ्कका आधारमा नभएर वास्तविक तथ्याङ्क कै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्याङ्कबाट प्रभावित नहुनेमा आफूहरू विश्वस्त रहेको संघको भनाइ छ।
