प्रधानमन्त्रीले गठबन्धन फेरे, मत बढाउन सकेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत पाएका छन् । सत्तारूढ गठबन्धन फेर्दै सरकारको नेतृत्व गरिरहेका प्रचण्डले १७ महिनामा चौथोपटक विश्वासको मत लिएका छन् ।

भारतको बिहार राज्यमा सत्तारूढ गठबन्धन फेर्दै निरन्तर मुख्यमन्त्री बनिरहने नितिश कुमारलाई नेपालका प्रधानमन्त्री प्रचण्डले पछ्याइरहेका छन् । बिहारमा ‘पल्टुराम’को नामले समेत चिनिने नितिशजस्तै नेपालका प्रधानमन्त्री प्रचण्ड पनि निरन्तर सत्तारूढ गठबन्धन फेर्नेमा पर्छन् ।

सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ३१ वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । यसअघि सरकारलाई समर्थन गर्नुका साथै जसपा नेपाल पनि सरकारमै सहभागी थियो । कहिले नेकपा (एमाले)सँग त कहिले नेपाली कांग्रेससँग गठजोड गर्दै आएका प्रचण्डले अहिले सरकारमै रहेको जसपा नेपाललाई विभाजन गराएको आरोपसमेत लाग्दै आएको छ ।

चौथोपटक विश्वासको मत पाएका प्रचण्डले यसअघि पाएको समर्थन घट्दै गएको छ । यसपटकको विश्वासको मत लिँदैगर्दा उनले कांग्रेसको विरोधको समेत सामना गर्नुप¥यो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनको माग गर्दै आएको छ ।

तर, समिति गठन गर्नमा सहमत सत्तारूढ र प्रतिपक्षी दलका बीचमा समितिको कार्यादेशका ’boutमा सहमति जुट्न नसक्दा कांग्रेसले निरन्तर संसद्मा नाराबाजी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैगर्दा समेत कांग्रेसले आफ्नो विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै नाराबाजी ग¥यो ।

कांग्रेसको नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएर विश्वासको मत लिइएको हो । विश्वासको मतमाथिको प्रस्तावमा मतदान प्रक्रियामा १ सय ५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्तावमा १ सय ५७ मत परेको थियो ।

एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, जसपा नेपालबाट विभाजन भएर गठन भएको जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरूले पक्षमा मत दिएका थिए । प्रस्तावमा मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएनन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथोपटक हो । यसअघि १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले उनलाई समर्थन गरेका थिए ।

त्यसपछि १५ फागुन २०७९ मा एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि ६ चैतमा प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २ सय ६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक गत ३० फागुनमा पुनः गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यतिबेला २ सय ६८ सांसदले मतदान गरेकामा प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत परेको थियो भने विपक्षमा १ सय १० मत परेको थियो । यसरी उनले चौथोपटक विश्वासको मत लिँदैगर्दा संख्यासमेत घट्दै गएको छ ।

बैठकमा विश्वासको मत लिनुभन्दा अघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने चेतावनी दिएका छन् । विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए ।

उनले विगतमा आफूले कांग्रेसलाई पटकपटक साथ दिएको तर कांग्रेसले आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।

‘म अवरोधमा रहेका माननीयज्यूहरूलाई खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आज गलत गर्नुभयो, नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटकपटक साथ दियो, यसपटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,’ प्रचण्डले भने, ‘त्यसका लागि म गहिरो दुःख प्रकट गर्न चाहन्छु, नेपाली कांग्रेसका लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।’

बैठकमा एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पुरै कार्यकाल काम गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतमाथिको छलफलका भाग लिँदै उनले यस्तो बताए । पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गरे ।

उनले सिंगो मुलुक र संसद्ले साथ दिने भएकाले प्रधानमन्त्री प्रचण्डले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए । त्यस अवसरमा पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे ।

यता, कांग्रेसले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएको छ । कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पर्याप्त समय हुँदाहुँदै पनि सरकारले बलमिचाइँ गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदाहुँदै सरकारले बलमिचाइँ ग¥यो, तानाशाही प्रवृत्ति देखायो, पर्याप्त समय हुँदाहुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक ग¥यो, यो नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना मञ्चन गरेको छ,’ प्रमुख सचेतक लेखकले भने, ‘यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ, विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी गर्ने सरकारले नाटक गरेको छ, त्यो खेदजनक छ ।’

सोमबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख घिमिरे कुनै दलको कार्यकर्ताको ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको उनले बताए । उनले कांग्रेसमाथि धम्की दिएर तर्साउन नखोज्न चेतावनी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए ।

उनले माओवादीलाई जंगलबाट संसद्मा ल्याउने काम कांग्रेसले गरेको दाबी गरे । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनीसमेत दिए । ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु, आज नेपाली कांगे्रसले जे ग¥यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो, मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदर पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्छु, तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं, तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो, बिर्सिनु भयो ?’ लेखकले हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँडेकालाई कांग्रेसले शान्तिमा ल्याएको बताए । उनले धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी नभएको स्पष्ट पारे

यता, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसद्मा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसद्को विधिनुसार विश्वासको मत लिँदासमेत कांग्रेसले अवरोध गरेको बताए ।

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख घिमिरे सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । शाहीले प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सभामुखका रूपमा भूमिका निर्वाह नगरेको बताए ।

उनले सभामुखलाई सभामुखका रूपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताका रूपमा कुर्सीमा देखेको टिप्पणी गरे । उनले सभामुखलाई सभामुख हो वा अमूक पार्टीको कार्यकर्ता हो भनी प्रश्नसमेत गरे । बैठकमा प्रमुख प्रतिपक्षी दललगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए ।

‘आज हामीले सभामुख देखेनौं, कुर्सीमा बसेको मान्छे देख्यौं, तर कुन पार्टीको कार्यकर्ता देख्यौं, सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने संसद्मा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ,’ राप्रपा प्रमुख सचेतक शाहीले भने, ‘संसद्मा नेपालको इतिहासमै पहिलोपटक होला कि संसद्मा यसरी प्रमुख प्रतिपक्षीलगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौं भन्दैगर्दा सभाबाट जबर्जस्ती गरेको ।’

उता, कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक सोमबार पनि स्थगित भएको छ । कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । कांग्रेसको विरोधपछि बैठक आज (मंगलबार) सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित