आफ्नै कीर्तिमान तोडेर कामिरिता ३०औं पटक सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका स्वदेशी आरोही कामिरिता शेर्पाले पुनः ३०औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेका ५४ वर्षीय कामिरिताले यसअघि गत ३० वैशाखमा २९औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । यसपालि वसन्त ऋतुको एउटै सिजनमा दुईपटक सहित ३०औं पटक सगरमाथा आरोहण गरी उनले बुधबार पुनः थप नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

उनले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३०औं पटक सगरमाथाको शिखरमा पुगेर यस्तो नयाँ विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले सो जानकारी गराएका हुन् । सगरमाथा आधार शिविरबाट गौतमले भने, ‘बुधबार बिहान कामिरिता शेर्पाले सगरमाथा शिखरमा ३०औं पटक सफल पाइला टेकेर थप नयाँ विश्व कीतिर्मान कायम गर्नुभएको छ ।’

विभागका अनुसार वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान एकपछि अर्को गर्दै तोडेका हुन् ।

गत ३० वैशाखमा २९औं पटक सगरमाथाको सफल आरोण गरेर पनि नथाकेका कीर्तिमानी आरोही एवं कुशल पथप्रदर्शक कामिरिता अहिले पनि सेभेन समिट ट्रेक्स प्रालिबाट सगरमाथा आरोहणमा गएका थिए । अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सबैभन्दा धेरैपटक सफल आरोहण गर्ने व्यक्तिमा कामिरिताले थप नयाँ रेकर्ड बनाएको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ ।

कीर्तिमानी आरोही शेर्पाले सन् १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । सगरमाथा हिमाल आरोहणको यस सफलतासँगै यसअघि उनले ८ हजार मिटर अग्ला केटु, चोयु, ल्होत्से, मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा धेरैपटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही शेर्पाले यसअघिको आफ्नै २९औं कीर्तिमानलाई तोडेर बुधबार नयाँ रेकर्ड कायम गरेका हुन् । यसपालि पनि उनले गत ३० वैशाखमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत सगरमाथा आरोहण गरेका थिए । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिंमा शेर्पाले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा कामिरिता ३०औं पटक सगरमाथाको शिखरमा पुगेको जानकारी दिए ।

२९औं पटक शिखरमा पुगेको १० दिनको अवधिमै आधार शिविरमा आएर पुनः ३०औं पटकको नयाँ कीर्तिमान बनाएका कामिरिताले यसपालि सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने धोको राखेका थिए । सोही धोको अनुरूप उनले बुधबार आफ्नो लक्ष्य प्राप्ति गरे । आरोही कामिरिताले पहिलोपटक सन् १९९२ र १९९३ मा सगरमाथा आरोहण गरेका थिए । तर, त्यो बेला शिखर चुम्न सकेनन् । त्यस बेला आधार शिविरभन्दा माथिको बीच बाटोबाटै फर्किएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखर चुमेका थिए ।

त्यसपछि सगरमाथा हिमालको चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले उनले सन् २००९, २०१० र २०१३ मा एकै मौमसमा दुईपटक सगरमाथा चढेका थिए । सन् २०१८ बाट उनले सेभेन समिटमा काम सुरु गरेका हुन् । जीवनको आधा उमेर हिमाली क्षेत्रमै बिताएका कीर्तिमानी आरोही शेर्पाले सगरमाथा आरोहणको ५०औं वर्षगाँठका बेला पनि आफूले २५औं पटक सगरमाथा चढेको रजत वर्षका रूपमा विश्राम लिने भनेका थिए ।

त्यसपछि पनि उनलाई हिमाल आरोहणको मोहले छोडेन । फेरि एकपछि अर्को कीर्तिमानी तोड्दै अहिले उनले ३०औं पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानको थप नयाँ रकर्ड बनाइ छाडे । उनलाई हिमाल नचढी चित्तै बुझेन र अहिले लगातार आफ्नै कीर्तिमानी तोड्दै एउटै सिजनमा दुईपटक आरोहण गरी ३० औं पटकसम्म सगरमाथाको शिखर चुम्न सफल भए ।

पर्यटन विभागका फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिएअनुसार बुधबारसम्म कामिरिता, अन्य आरोही र शेर्पा सहयोगी गरी कुल ४ सय ६० जनाभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । यस्तो आरोहीको प्रतिस्पर्धाबीच सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा ३०औं पटक आरोहण गरी सबैभन्दा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा नै भएका छन् ।

यसबाहेक सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । यसपालिको वशन्त ऋतुमा गत २८ वैशाखदेखि आरोहण सुरु भएको थियो ।

यसपालि सगरमाथा आरोहणका लागि कुल ४१ आरोहण दलका ७५ जना महिला र ३ सय ३९ पुरुषसहित ४ सय १४ जनाले अनुमति लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लोकतन्त्र र आन्दोलन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर