सीसीक्यामेराभित्र छद्मभेषी राजकाज

मुलुकमा प्रजातान्त्रिक व्यवस्था छ । प्रजातन्त्रको एउटा सुन्दर पक्ष खुला समाज हो । यसको अर्थ राजनीतिक दल, राज्य र यसका संयन्त्रलगायत मुलुकमा भइरहेका घटना तथा परिघटनाहरू जनताले बुझिरहेका हुन्छन् । सामाजिक आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिकलगायतका हरेक क्षेत्रका ’boutमा बोल्न, लेख्न र अभिव्यक्ति दिन नागरिकहरू स्वतन्त्र छन् । मुलुकको चौथो अंगका रूपमा रहेको सञ्चार जगतले हरेक क्षेत्रका समाचारहरू सम्प्रेषण गरिरहेका छन् । मुलुकका लेखक, बुद्धिजीवी, विज्ञ, विशेषज्ञहरूले राजनीतिक दलहरू र राज्यको कार्यशैलीका ’boutमा निग्रानी गरिरहेका छन् । मुलुकका कुन राजनीतिक दलको सैद्धान्तिक तथा वैचारिक निष्ठा के हो ? अमूक दलका नेताहरूको क्षमता, योग्यता, कार्यशैली कस्तो छ ? दलहरूले के कस्ता कार्यहरू गर्दै आइरहेका छन् ? कुन दल वा नेता विशेष कुनकुन प्रकरणमा संलग्न छन् ? आदि इत्यादि कुराहरू जनताका सीसीक्यामेरारूपी आँखाले देखिरहेका छन् ।

हाम्रो मुलुकको सन्दर्भमा राज्य पारदर्शी, जवाफदेही तथा विकासमैत्री हुन सकेको अवस्था छैन । नेताहरूले सत्तामा बसेर भाँडभैलो गर्ने, भ्रष्टाचार गर्ने, भ्रष्टहरूलाई जोगाउने, सत्ताका लागि जस्तोसुकै कार्य पनि गर्ने जस्ता निर्लज्ज कार्यहरू जनताले देखिरहेका छन्, सुनिरहेका छन् । मन्त्रालयहरूको सीसीक्यामेराको तार मुसाले काट्न सक्ला । भूmठका प्रतिवेदन लेखाउन सकिएला । तर, जनताका आँखारूपी सीसीक्यामेराले खिचेको कुरा नेतृत्वले मेट्न सक्दैनन् । प्रजातन्त्रमा राजनीतिक दल वा नेता विशेषका राजनीतिक क्रियाकलापहरूलाई लुकाएर लुक्दैनन् । राज्यका निकायहरूको कार्यशैली नागरिकको सीसीक्यामेरारूपी निगरानीमा रजिस्टर भएका हुन्छन् । लोकतान्त्रिक मुलुकमा हुने गरेका राम्रा, नराम्रा, विकास, निकास, अविकास, सुशासन, कुशासन, आदि इत्यादि क्रियाकलापहरूमा जनता सूचित हुन्छन् ।

नेपालको राजनीतिमा आधुनिक कालको सुरुवातसँगै षड्यन्त्र जन्मिएको हो । राजेन्द्रलक्ष्मी र बहादुर शाहका पालामा जन्मिएको राजनीतिक षड्यन्त्र अहिलेसम्म कुनै न कुनै रूपमा गाँजिएको छ, झाँगिएको छ । भीमसेन थापाको शासनकाल होस् कि राणाहरूको १ सय ४ वर्षे निरंकुश शासन । २००७ देखि २०१५ सालसम्मको प्रजातान्त्रिक युग होस् कि पञ्चायती व्यवस्था । राजनीति षड्यन्त्र र स्वार्थको खेल बन्दै आएको छ । प्रजातन्त्रको पुनस्र्थापना २०४६ सालपछाडिको युगलाई स्वतन्त्र नागरिक भएर हेर्दा छद्मभेषी राजविद्या भएका नेताहरूको बिगबिगीले राजनीति भाँडभैलो भएको छ । दलहरूकोे कथनी र करणीमा आकास जमिनको फरक छ । सर्वहारा जनताको नेतृत्व गर्ने कम्युनिस्ट दलका नेताहरू नवधनाड्य वर्ग भएका छन् । दलका शीर्ष भनिनेहरू छद्मभेषी छन् । सत्ताका लागि साम, दाम, दण्ड भेदको उपयोग गर्ने नेतृत्व बेइमान हुन्छ । छद्मभेषी हुन्छ । गैरराजनीतिक चरित्रको हुन्छ । यो कुरा जनतालाई थाहा छैन र ?

छद्मभेषी नेतागणबाट यस मुलुकले विकास र निकास पाउने देखिँदैन

राजनीति भ्रष्ट भयो, गैरजिम्मेवार भयो भनेर राजनीतिका विसंगतिहरूलाई सामाजिक एजेन्डा बनाएर राजनीति गरेका नयाँ दल अहिले अझै छद्मभेषी देखिएको छ । लाटाको खुट्टो बाटामा पारी सांसद र मन्त्रीसम्म बनेकाहरूको हरकत अहिले छताछुल्ल भएको छ । नयाँ पुस्ताको दल भन्नेहरूमा अझै छद्भेषी, बेइमान तथा लोकलाज पचेको अवस्था देखेर समाज जिल्लपर्दो छ । किन यो मुलुकमा योग्य राजनेता जन्मन सकेन ? छद्मभेषी र षड्यन्त्रकारीहरूको नेतृत्वबाट यो मुलुकले कहिले छुट्करा पाउला ?

आप्mनो पदका लागि जे पनि गर्ने, समय र ठाउँनुसार बोली फेर्ने नेतृत्व छद्मभेषी हो । भ्रष्टहरूलाई जोगाउन सार्वजनिक ठाउँहरूमा अभिनय गर्ने शीर्ष भनिनेहरू छद्मभेषी हुन् । सुशासनका बाधक हुन् । अलोकतान्त्रिक पात्र हुन् । राजनीतिलाई व्यक्ति, राजनीतिक दल, आसेपासे, नाता र दाताहरूको हितमा काम गरिरहेको नेतृत्व कसरी लोकतान्त्रिक हुन सक्छ ? सक्दैन । प्रजातन्त्रमा सत्ताका लागि जस्तोसुकै क्रियाकलाप गर्दा पनि लोकलाज नमान्ने नेतृत्व सम्भवत यस जगतमा नेपालमा मात्र भएको जानकारहरू बताउँछन् ।

प्रजातन्त्रको ३३ वर्षमा जनताले विकास, समृद्धि, विधिको शासन अनुभव गर्न पाएनन् । राजनीतिक दलहरूका अनेक रूपहरू देखे । अहिलेसम्म आइपुग्दा नेताहरूको छद्मभेषी राजविद्या देख्दादेख्दा जनता वाक्कदिक्क भएका छन् । जस्ता गुरु, त्यस्तै चेला भनेझैं दलका कार्यकर्ताहरू नेतामुखी छन् । यस्ता प्रवृत्तिका कार्यकर्ता पनि सुशासन र विकासका बाधक हुन् । बेइमान नेता, छद्मभेषी नेतृत्वकै कारण राजनीति लाजनीति बनेको छ । डोकोभित्र लुकेका भ्रष्टहरूलाई जनताले देखेका छैनन् र ? भोलीवादी प्रशासनतन्त्र, नीति हराएको नेता, सत्ताका लागि जे पनि गर्ने राजनीतिक दल भएपछि राजनीति विकासमैत्री कसरी हुन्छ ?

मेचीदेखि महाकालीसम्म लोक संवाद, कुराकानी, छलफल तथा अन्तरक्रियामा हाम्रो मुलुकका नेतृत्वको सकारात्मक कुरा सुन्न पाइँदैन । छद्मभेषी नेतृत्वका कारण आज मुलुक दक्षिण एसियाको सबैभन्दा कमजोर, गरिब तथा भ्रष्टाचार हुने मुलुकमा रेकर्डेड छ । राजनीतिक दलहरूले मुलुक र जनताका लागि राजनीति गरेका भए आज मुलुक यस अवस्थामा हुने थिएन । समाजले आलोचना गर्नुपर्ने थिएन । लेखकहरूले आलोचनात्मक विचार लेख्नुपर्ने थिएन । नेतागणहरू इमानदार भएको भए शब्दका नायकभन्दा विकासका संवाहक हुने थिए । विकास र सुशासनका नायक हुने थिए । प्रशासनतन्त्र जवाफदेही हुने थियो । विकास निर्माणका कामहरू समयमै सम्पन्न हुने थिए । राष्ट्रिय स्तरका योजनाहरूको कन्तविजोग हुने थिएन । आप्mनो स्वार्थसिद्घ गर्ने कामबाट नेतृत्व बाहिर निस्कने थियो । करणी र कथनीमा धेरै भिन्नता हुने थिएन । नेताको योग्यता वाक चातुर्यतामा सीमित हुने थिएन । उमेर, ज्येष्ठता, जेलमा बसेको अवधिजस्ता आधारमा नेतृत्वमा पुग्ने र राजनीतिक गनगन गर्ने बानी देख्नुपर्ने थिएन ।

राजनीतिलाई समाज सेवा र मुलुक विकासमा जोड्नुपर्ने गहन जिम्मेवारीलाई पन्छाएर समाजका गरिब, निमुखा र शिक्षाबाट वञ्चित नागरिकहरूलाई शब्दजालमा राजनीति गर्ने काम भयो । राजनीतिक दलहरूले समाजलाई राजनीतिक फाइदाका लागि जात, जाति, भाषा, भाषी, वर्ग, क्षेत्र, मधेस, तराई, हिमाल, लिम्बुवान, खुम्बुवान, थारुहट, मुस्लिम, महिला, दलित, जनजाति आदि इत्यादि नाममा वर्गीकृत गरेर सदियांैदेखि झाँगिएको सामाजिक सद्भाव खलबलाउने काम गरेका छन् । जनतालाई फुटाएर भोटको राजनीति गर्ने सात दशक कटिसकेका आधा दर्जन छद्मभेषी नेताहरूको कब्जामा परेको छ ।

जसोजसो बाहुन बाजे, उसैउसै स्वाहाको बाटोमा हिँड्ने कार्यकर्ता भएकाले नेताहरू सुध्रिएनन् । लोभ, लालच र आशामा लाग्ने मतदाताहरूका कारण भ्रष्ट नेताहरू निर्वाचनमा विजय हासिल गर्न सफल भएका छन् । कुनै सिद्धान्त, विचार वा गन्तव्य नभएका दलहरू बर्खायाममा च्याउ उम्रिएझैं निर्वाचन आयोगमा दर्ता भएका छन् । मन्त्री हुनकै लागि कोही फुटेका छन् भने कोही जोसँग पनि जुटेका छन् । यस्तो छद्मभेषी राजनीतिक चरित्र र संस्कारलाई नजिकैबाट निग्रानी गरिरहेको प्रशासनतन्त्रले कालेकाले मिलेर खाउँ भालेको अवसरको उपयोग गरिरहेको छ ।

प्रजातन्त्रमा राजनीतिक दल वा नेता विशेषका राजनीतिक क्रियाकलाप लुकाएर लुक्दैनन्

अहिले राजनीतिक दलहरूमा मौलिक सिद्घान्त, निष्ठा, जवाफदेहिता र जिम्मेवारी भन्ने कुनै पनि कुरा देखिँदैन । जुन जोगी आए पनि कानै चिरेका भनेझैं कुनै पनि दलको नेतृत्व पंक्तिमा समय, परिस्थति र मुलुकको चाहना बुझेर काम गर्नसक्ने क्षमता देखिँदैन । कांग्रेसजनहरू सक्षम नेतृत्वको अभावमा अलमलमा परेको अवस्था छ । एमाले मदन भण्डारी, मनमोहन अधिकारीजस्ता लोकप्रिय नेताहरूको साखमा ब्याजको राजनीति गरिरहेको छ । एमालेलाई राम्ररी बुझेका इलिट्सहरूको भनाइनुसार पछिल्लो समयमा छद्मभेषी भनिएका नेता ओलीका बोलीमा बाँधिएको छ भन्ने छ । माओवादी र नयाँ भनिएकाहरूको त के कुरा गर्नु ? कुनै राजनीतिक संस्कार नै देखिँदैन ।

अन्त्यमा लिक्वान यूले सिंगापुर बनाए । सी जिनपिङले चीनलाई माथि उचाले । मोदीले भारतमा तहल्का मच्चाइरहेका छन् । मोहब्मद महाथिरले मलेसियालाई सम्पन्न बनाए । एउटा सक्षम नेतृत्वले मुलुकमा रहेको मानव संसाधन र प्राकृतिक स्रोत र साधनको उचित उपयोग गरी मुलुक विकास गर्न सक्दो रहेछ भन्ने दृष्टान्त उल्लिखित नेताहरूका अतिरिक्त विश्वजगतमा धेरै छन् । तर, हाम्रो मुलुकमा राजनीतिक छद्मभेषीहरूको पञ्जामा नियन्त्रित छ । अहिले नेतृत्व गररिहेका नेतागणहरूबाट यस मुलुकले विकास र निकास पाउने देखिँदैन । नेतृत्व दिनसक्ने लोभ लालचबाट माथि उठेको राजनेता अहिलेको खाँचो हो । यस मुलुकले जनताको मन मस्तिष्कमा बसेर काम गर्ने नेतृत्व कहिले पाउला ? राजकाजमा छद्मभेषीहरूको अन्त्य कहिले होला ?

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु