विदेशमा पढ्न, घुम्न र रोजगारमा जाँदा कर लाग्ने बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै सदनमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटले विदेशमा पढ्न जाँदा, घुम्न जाँदा र रोजगारमा जाँदा कर लगाउनेगरी बजेट ल्याएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले मुख्यतः आवेदन शुल्क, शिक्षण शुल्क र बिमा शुल्क शीर्षकमा वैदेशिक मुद्रा भुक्तानी शुल्क तिर्दै आएका छन् ।

सुर्तीमा ३ प्रतिशत मात्र कर वृद्धि

अर्थमन्त्री पुनले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको भनेर सम्बोधन गर्दा तालीको गडगडाहटको आवाज आए पनि सुर्तीमा खेर जानेगरी कर वृद्धि गरिएको पाइएको छ ।

उद्योगी र व्यापारीको प्रभावमा परी अर्थमन्त्री पुनले ३ प्रतिशत मात्र कर वृद्धि गरेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले बताए । यो कर वृद्धि नभई कर घटेको र ७५ प्रतिशत पु¥याउनुपर्नेमा ३३ प्रतिशतमा नै सीमित राख्ने प्रपञ्च भएको ठम्याइ उनको छ ।

प्रतिवर्ष ३७ हजार ५ सय २९ जनाको ज्यान लिइरहेको र करिब ६० अर्बको आर्थिक नोक्सानी गरिरहेको हानिकारक सुर्तीजन्य पदार्थमा कर दर वृद्धि गर्न सरकार किन चुकिरहेको छ भन्ने कुरा प्रश्नयोग्य भएको नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा. जयकुमार गुरुङले बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले पनि उद्यमीको प्रभावमा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म पर्छ भन्ने केही गर्न नसकिने बताए । अहिले मुद्रास्फीति नै ५ प्रतिशतको हाराहारीमा रहेको र आगामी आवमा ६ प्रतिशतको हाराहारीमा मुद्रास्फीति हुने हुँदा तात्विक रूपमा सुर्तीको मूल्य घटेको छ ।

सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पानमसलामा प्रतिकिलोग्राम ६० रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिने उल्लेख गरेको छ ।

यसैगरी, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा ३ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिने भएको छ । अहिले सरकारले २ प्रतिशत मात्र कर लगाइरहेको छ ।

नेपालमा पैठारी हुने पेट्रोल र डिजेलमा प्रतिलिटर २० रुपैयाँका दरले पूर्वाधार विकास कर भन्सार बिन्दुमा लगाई असुल गरिने भएको छ ।

यसैगरी, सडक मर्मत तथा सुधार गर्न विदेशबाट नेपालमा पैठारी हुने पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर भन्सार बिन्दुमा लगाई असुल गरिने भएको छ ।

पीएसटीएन प्रविधि हराउँदै गएका बेलामा सरकारले टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्कबापत ५ सय रुपैयाँ असुल गरिने र टेलिफोनको स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गरिनेगरी पीएसटीएनलाई हतोत्साही बनाउन खोजिएको छ ।

मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज शुल्कको २ प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्ने उल्लेख गरिएको छ ।

यसैगरी, एकल प्राकृतिक व्यक्तिको वार्षिक ५ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा सो आयमा १ प्रतिशतका दरले र दम्पतीका हकमा वार्षिक ६ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले कर लाग्ने व्यवस्थालाई यथावत राखिएको छ ।

निवृत्तिभरण बापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने कर नलाग्ने जनाइएको छ ।

नेपालमा उपभोग विलासिताका वस्तु तथा सेवाको बिक्री रकममा २ प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिने भएको छ । जसमा पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित तयारी मदिरा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गरगहना वा हीरा, मोती पत्थर जडित सुनका गरगहना पर्छन् ।

पर्यटकका रूपमा भ्रमणका लागि विदेशमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिने भएको छ । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखतमा यस्तो कर लगाइने उल्लेख छ ।

फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकनका बखत पनि सो कर लगाइने उल्लेख छ ।

यसैगरी, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकममा १ प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिला गर्नुपर्ने भएको छ । त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ ।

कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आव २०७८÷७९ र २०७९÷८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बजेटमा उल्लेख छ ।

२०८० असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम २०८१ फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिमाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने बजेटमा उल्लेख छ ।

नेपालमा उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट विगतमा दिइएकामा सो छुट आगामी आवबाट लागू हुनेगरी हटाइएको छ । त्यस्तै, आव २०७९÷८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा १ प्रतिशत कर लाग्ने गरेकामा अबदेखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

बैंक, वित्तीय संस्था तथा सहकारीमा राखेको निक्षेपबाट सर्वसाधारणले पाउने ब्याजमा विगतमा लाग्दै आएको ५ प्रतिशत करलाई वृद्धि गरी ६ प्रतिशत लाग्नेगरी संशोधन गरिएको छ ।

व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएबापत वा नेपालबाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले १ प्रतिशत करकट्टी गरी जम्मा गर्ने व्यवस्था रहेकामा अब त्यसलाई वृद्धि गरी ५ प्रतिशत कायम गरिएको छ ।

५० लाखभन्दा बढीको आयमा करको दर वृद्धि गरी अब ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । कार, भ्यानलाई ४ हजार रुपैयाँ कर लाग्दै आएकामा त्यसलाई वृद्धि गरी पाँच हजार ५ सय पु¥याइएको छ ।

बचत तथा ऋणको कारोबार गर्ने नगरपालिकामा सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिकामा सञ्चालित सहकारीलाई १५ प्रतिशत र महानगरपालिकामा सञ्चालित सहकारीलाई २० प्रतिशत करको दर निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी