सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । पक्राउपर्नेमा रिसाल मात्रै बैंकका तत्कालीन कर्मचारी हुन् भने बाँकी सात जना सञ्चालक सदस्य हुन् ।

सीआईबीले कम मूल्यको धितो राखेर देउराली बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई बढी कर्जा प्रवाह गरेको भन्दै पक्राउ गरेको हो । सोही प्रकरणमा सीआईबीले तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना बैंकरलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

यसअघि गौतम र न्यौपानेसहित तत्कालीन सेन्चुरी बैंकका कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।

बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेन्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपाने र तत्कालीन सेन्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । पछि उनीहरू हाजिरी जमानीमा छुटेका थिए । सो विषयमा अहिले पनि अनुसन्धान गरिरहेको सीआईबीले काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष तथा पूजा ग्रुपअन्तर्गतका पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिसमेतको सञ्चालक रहेका प्रतिवादी रविन्द्र चौलागाईलाई अधिक कर्जा दिएको निष्कर्ष निकालेको थियो ।

सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारीसमेतका व्यक्तिसँग मिलेमतो गरी आपराधिक मनासायका साथ नियोजित रूपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उद्देश्य राखी प्रतिवादी रविन्द्र चौलागाईले निजको परिवारभित्रका नातेदार समेतको नाममा पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिसमेतका कम्पनी सञ्चालन गरेको ठहर सीआईबीको रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिनभन्दा बाहिर गई प्रतिवादीले आफूअनुकूलको अवस्था सिर्जना गरी कम्पनीको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्रसमेत बनाएको आरोप सीआईबीले लगाएको छ ।

मूल्य अभिवृद्धिी करको कागज बनाई, नभएको कारोबारको स्टक तथा रिसिभ देखाई गलत वित्तीय विवरण तयार गरी, नक्कली लेखा परीक्षणसमेत बनाई उल्लिखित नक्कली कागजातसमेतका आडमा गैरकानुनी रूपमा प्रतिवादीले आआफ्नो जिम्मेवारीअनुसारको फरकफरक भूमिका निर्वाह गरी विभिन्न शीर्षकमा धितोले खाम्नेभन्दा अत्यधिक बढी रकम कर्जा दिएका थिए ।

२ अर्ब ३० करोड ८१ लाख रुपैयाँ प्रवाह गरी बैकिङ कसुरमा संलग्न तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ मनौज न्यौपानेसमेतलाई गत १४ फागुनमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरिएको थियो ।

अनुसन्धानको क्रममा सो कसुरमा तत्कालीन सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठसमेतको संलग्नता देखिएकाले सो कसुरमा संलग्न अध्यक्ष राजेशकुमार श्रेष्ठलगायतको संलग्नता देखिएपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर