एकीकृत समाजवादीको अध्यक्ष नेपाल, खनाल कि भुसाल ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन १६ असारदेखि २० असारसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको चुनावी सरगर्मी बढेको छ । महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुन अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट साढे दुई वर्षअघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट समेत नेतृत्वमा आउन खोजेका छन् ।

नेपाल र खनाल दुवैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकारसमेत चलाइसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउने अकांक्षा आफू निकटका नेताहरूसँग राख्ने गरेका छन् ।

नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसालसमेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउन खोजेका छन् ।

एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए । एमालेले गत आमनिर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनले एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए ।

एमालेको सौराहामा भएको महाधिवेशनमा भुसाल उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेका भुसाल ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधंै चर्को रूपमा विरोध गरिरहेका थिए । पार्टीमा खनाल निकट मानिने भुसाल वैचारिक नेतामा पर्छन् ।

आगामी महाधिवेशनमा दुवै नेताले अध्यक्षको दाबी नछाड्दा सर्वसम्मत अध्यक्ष चयनको विषयले प्राथमिकता पाउन थालेको छ । केही दिनयता दुवै नेताले सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू बाधक नबन्ने अभिव्यक्ति दिन थालेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको निकटका अखिल नेपाल महिला संघ (समाजवादी)को मुखपत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वसम्मत नेतृत्व चयनका लागि सबैले सोच्नु राम्रो कुरा भएको बताए ।

‘महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने कुरा आएको छ, यो बहुत राम्रो र सुन्दर कुरा हो । त्यही विषयमा सबैले विचार गर्नु राम्रो हुन्छ । यो आन्दोलन अप्ठ्यारो अवस्थामा अगाडि बढाएका हौं । त्यस बेलामा खुट्टा कमाएर धर्मर गरेको भए पार लगाउनसक्ने थिएनौं । चुनौतीको बेलामा मानिसको पहिचान हुन्छ,’ नेपालले भने ।

अध्यक्ष नेपालको भनाइप्रति लक्षित गर्दै सम्मानित नेता खनालले सहमतिका लागि टाउको जोडेर हुन्छ कि अँगालो हालेर हुन्छ भन्दै प्रश्न गरेका छन् । ‘दस्ताबेजमा छलफल भइरहेको छ, सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्ताबेजलाई परिस्कृत गरेर पारित गर्छौं । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? केले एकता गर्छ ? हामी एउटा वैचारिक राजनीतिक कार्यदिशाका आधारमा जुटेका छौं । नीति, सिद्धान्त र लक्ष्यका आधारमा अघि बढेका छौं,’ खनालले भने ।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्धन गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा)का अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकआपसमा सद्भाव तथा भ्रातृत्व कायम भई सामाजिक एकता अभिवृद्धि हुने कुरा उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी