बिराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिकाका अध्यक्ष भिमबहादुर लिम्बुले एक महिलामाथि निर्घात कुटपिट गरेका छन्। बिजुलीको तार टाँग्ने बिषयमा विवाद हुँदा अध्यक्ष लिम्बुले सोही पालिका वडा नम्बर ३ घर भएकी हाल वडा नम्बर ६ नयाबस्ती टोल बस्ने २९ बर्षकी सोम कुमारी राईलाई निर्घात कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी लिएको तर दर्ता नगरेको पिडितलाई न्याय दिलाउन लागि परेकी सीता दाहालले जानकारी दिईन्।
तीनवटा हतियार लिएर आक्रमण गर्न लागेपछि छेकेको मात्र हुँ – अध्यक्ष लिम्बु
राजधानी दैनिकलाई प्राप्त भएको भिडियोमा पनि तार टाँग्ने बिषय विवाद हुँदा महिलालाई एउटा ठूलो दाउरा जस्तो देखिने बस्तु लिएर निर्घात कुटपिट गरेको देखिन्छ। उनले महिलालाई तिमीले किन हतियार लिएको लिएको भन्दै कुटपिट गरेको बताईएको छ।
पिडित राईका अनुसार टोल विकास सस्थाका दाईहरु आएर खोलाको सुरक्षाको लागि भनेर बिजुलीको पोल गाड्ने भन्नुभयो अन्त कतै पोल गाड्ने ठाउँ भेटिएन भन्नु भयो म बजार गइहाले मेरो श्रीमानले दिनु भएन रहेछ म आएर हुन्छ भनेर पोल गाडेर जानु भएछ म बजारबाट आउदा श्रीमानले यहाँ हुँदैन बलेसीमै पोल गर्दा दुर्घटना हुन्छ भन्दा अध्यक्ष प्रावाधिक सहित आएर तार टाग्ने गर्नु भयो अनि मैले दाई तर्कार लगिदिनु भन्दा अध्यक्षले आफू माथि कुटपिट गर्न थालेको बताईन्।
आफूलाई हात हाल्दै घर भित्र लगेर कुटपिट गर्न थालेपछि यसो नगर्नु भन्दा त लाई टिपेर खोलामा फालिदिन्छु धनीपुर्जा निकाल भन्दै कुटपिट गरेको बताईन्। आफूलाई मार्ने नियतले कुटपिट गरेकाले आफूले न्याय पाउनु पर्ने र उजुरी दर्ता नभएसम्म कुनै छलफलमा नबस्ने बताईन्।
यता,उनले भने कुटपिट भन्ने कुरा भ्रामक मात्र रहेको बताउदै एउटा सामाजिक काम गर्ने क्रममा सडक बत्ती तथा खोलामा माछा समरक्षक क्षेत्रमा बत्ती बाल्न पुर्व सहमति भएअनुसार नै तार टाँग्ने क्रममा बिषयमा बादविवाद भएको र समन्वय गर्न जाँदा आफूलाई तीन वटा हतियारबाट सांघातिक आक्रमण भएपछि हतियार खोसेको भिडियो क्लीप हालेर आफूलाई बदनाम गराउन खोजेको बताए।
‘महिलाले आफूलाई पटक -पटक हतियार लिएर झम्टिएको र आक्रमण गर्न लागेपछि छेकेको मात्र हुँ,उनले भने,’मलाई फसाउन सुनियोजित रुपमा भिडियो खिचेको छ,महिलाले हतियार लिएपछि प्रतिरक्षा गर्न आफूले एउटा बाँसको टुक्रा लिएको र प्रहरीलाई सम्पर्क गर्दै गर्दा भिडियो खिचिएको हो।’ महिलाले हतियार प्रहार गरी हाल्यो भने छेक्नको लागि मात्र बाँसको टुक्रा लिएको बताए। महिलाको हतियार खोस्यो ढुंगा टिप्ने र हान्ने गरेको बताए।
उनले महिलाले कुटपिट गरेको भनेर उजुरी हालेको समेत बताए। राजनीतिक प्रतिसोधको आधारमा एउटा पाटी त्यो घटनालाई बढाई चढाई गर्ने काम गरेको बताउदै अहिले जिल्ला समन्वय समितिको कार्यालयमा छलफल गर्न खांदबारी आएको बताए।






