अस्वाभाविक चलखेल

नेपाल धितोपत्र बोर्ड नाम गरेको एउटा निकायको प्रमुख नियुक्त हुनेबेला भएको रहेछ । यो एकदमै सामान्य र नियमित प्रक्रिया हो । यसभन्दा अघि पनि कैयनपटक यस संस्थाको प्रमुखको पद रिक्त भए र भरिए । निकै ठूलो हल्लीखल्ली भएन । नियुक्त हुन खोज्नेका लागि दौडधुपका हिसाबले सकस हुन्थ्यो होला । नियुक्ति दिनेका लागि पनि सकभर आफ्ना नजिकका मानिसलाई ल्याउने दबाब हुन्थ्यो होला । हामीकहाँ व्याप्त प्रचलनअनुसार रकम कलमको चलखेल पनि पक्कै हुन्थ्यो होला । समाचार प्रदायकका लागि एक कलमको सानो वा मझौला आकारको खबर बन्थ्यो । तर, आमचासोको विषय बन्नेगरी हल्लीखल्ली हुँदैनथ्यो ।

तर, यसपटक यो नियुक्ति निकै ठूलो खबरका रूपमा उजागर हुन खोज्दै छ । कोही ५ अर्बको कारोबारको कुरो गर्छन् कोही १० अर्बको ! एक सामान्य मानिसको दिमागले भेट्नै नसक्ने किस्सा कहानीले बजार गर्माएको छ, पत्याउनै मुस्किल ! त्यति सानो एउटा संस्थाको प्रमुख बन्न वा बनाउन मुलुकका सञ्चालक मरिहत्ते गरिलागेका छन् भनेर सुन्दा कसरी पत्याउने ! तर बिस्तारै छानिँदै बाहिर आएका खबरहरू सुन्दा एकथरीलाई कुनै विशेष व्यक्तिलाई त्यहाँको प्रमुख नबनाइ नहुने छ जस्तो बुझिन्छ भने अर्कोथरीलाई त्यो व्यक्तिलाई नरोकी नहुने जस्तो बुझिन्छ । सायद रोक्न खोज्नेको अरू कुनैलाई नबनाइ नहुने बाध्यता पनि होला ! यस रस्साकस्सीमा सरकारको स्थिरतामै प्रश्न उठ्न थालेको र गठबन्धन नै धरापमा पर्न लागेको सुन्दा कुरो निकै गम्भीर रहेछ भनेर नै बुझ्नुपर्ने हुन्छ । अनि लाग्छ साँच्चिकै अर्बौंको हिसाब किताब लुकेकै पो छ कि !

धितोपत्र बोर्डको प्रमुखको पद अनायासै किन यति महत्वपूर्ण बन्न पुग्यो ? अमूक व्यक्तिलाई प्रमुख बनाउन खोज्ने र अमूकलाई रोक्न खोज्ने समूह वा शक्तिकेन्द्रले सो पदको गाम्भीर्यता र सम्बन्धित व्यक्तिको व्यावसायिक दक्षतालाई नै दृष्टिगत गरेर जिद्दी कसेका हुन् त ? वा त्यो पद नियुक्तिकर्ताको लागि निक्कै ठूलो ‘सुनखानी’ हो ? ‘जानकारहरू’का अनुसार यो निकै ठूलो सुनखानी हो । त्यहाँ आफू अनुकूलका मानिस राख्न सकियो भने सयौं अरबी शेखका तेलका इनार खुल्नेछन् ! त्यो पदले सामान्य लगानीकर्तालाई झुक्याएर शून्य मूल्य भएको कम्पनीलाई अर्बौं नगदप्रवाह गराइदिन सक्छ ! सुन्दा अचम्म लाग्ला ! सामान्य मानिसका लागि यो अचम्मित बनाउने विषय नै हो ।

कल्पना गरौं शुद्ध सम्पत्ति (नेट वर्थ) नकारात्मक भएको एउटा कम्पनी छ । अर्थात् त्यो कम्पनीको जम्मा दायित्व कुल सम्पत्तिभन्दा धेरै बढी छ । आजका मितिमा त्यो कम्पनीले आफ्ना सम्पूर्ण सम्पत्ति बेचबिखन गरेर नगदमा परिणत ग¥यो भने पूरा दायित्व चुकाउन सक्दैन । त्यस्तो कम्पनीले आम लगानीकर्तासमक्ष सेयर बिक्रीका लागि प्रस्तुत भयो भने सेयर खरिदकर्ताले कुनै उत्साह देखाउला ? स्वाभाविक उत्तर हो– एउटा पनि सेयर बिक्री हुनेछैन । केही बिक्री भयो भने पनि अंकित मूल्यभन्दा निकै कममा होला । अर्थात् १०० रुपैयाँ अंकित मूल्य भएको सेयर १० रुपैयाँमा बिक्ला । तर, त्यस्तो कम्पनीको सेयर ३ सय रुपैयाँमा बिक्री हुन्छ भने त्यो चटक हो, अत्यन्तै अस्वाभाविक हो । टाट पल्टेको घोषणा गर्नुपर्ने कम्पनीले प्रिमियम मूल्यमा सेयर बेचेर अर्बौं रकम उठाउँछ भने आधा अर्थात् ५० करोड त ‘मालिक’लाई बुझाउन तयार हुन्छ नै होला । विगतमा यस्तै तन्नम कम्पनीको सेयर प्रिमियममा बिक्री भएको उदाहरण भएको बताइन्छ । धितोपत्र बोर्डका प्रमुखसँग यसरी कम्पनीको सेयर बिक्री गराउने साँचो हुन्छ भनिन्छ । यो एउटा सामान्य उदाहरण मात्र हो । कुरो एउटा राम्रो कम्पनीलाई ध्वस्त बनाउने प्रपन्चको पनि हुन सक्छ ।

हामी कसैको साख गिराउने प्रयासमा छैनौं । न त हामी सेयर बजारको प्राविधिक पक्षको सूक्ष्म विश्लेषण गर्न सक्ने स्थितिमा नै छौं । हामी धितोपत्र बोर्डको प्रमुख नियुक्ति गर्न यस मुलुकको सञ्चालक बन्ने जिम्मा बोकेका उच्चतम तहका व्यक्तिमा देखिएको ’संवेदनशीलता’बाट सशंकित छौं । हामी त आमलगानीकर्तालाई सावधान रहन अनुरोध मात्र गर्न सक्छौं ।

‘सुनखानी’ सञ्चालकले भोलि तपाईंसमक्ष प्रस्तुत गरेको सूचना पूरै गलत र मिथ्या हुन सक्छ र त्यसैकारण तपाईं आफंै अब सावधान रहनुपर्छ भन्न मात्र सक्छौं । अन्तमा ठगिने को हो ? सामान्य जनता र आमलगानीकर्ता ! फाइदा कसलाई ? ‘नालायक’ व्यवसायी र ‘सुनखानी’ सञ्चालक राजनीतिज्ञ एवं कर्मचारीतन्त्र । यदि, लगानीकर्ता चनाखो हुने हो भने यिनको षड्यन्त्र सफल हुनेछैन ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी