गुडिरहेका दुईवटा बस बगाउँदा ५३ जना बेपत्ता, सबैको अवस्था अज्ञात

काठमाडौं । मुलुकभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोमा परेर एकै दिन १५ जनाको मृत्यु भएको छ । विगत तीन दिनदेखि मनसुन थप सक्रिय हुँदा मुलुकभर बाढी र पहिरोका घटना बढेको हो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार शुक्रबार साँझसम्म कास्कीमा ११ जना, म्याग्दीमा दुई जना, चितवनमा दुई जना गरी कुल १५ जनाको मृत्यु भएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको शुक्रबार बिहान मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । त्यस्तै, कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा–३२ चैनपुरमा तीन जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका–११ तल्लो ताप्लेमा एक जनाको मृत्यु भएको छ ।

मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते भएका छन् । ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए । विपद्का कारण झन्डै २ करोडबराबरको भौतिक क्षति भएको छ ।

सबैभन्दा बढी कास्कीमा २३ वटा मनसुनजन्य विपद्का घटना भएको प्रहरी प्रवक्ता रेग्मीले बताए । सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् । उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा ६, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् ।

एक महिनामा १ सय ३ जनाको मृत्यु
मनसुन सुरु भएयता मुलुकका विभिन्न ठाउँमा मनसुनजन्य विपद्बाट १ सय ३ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांकनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी १ सय ३ जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा आठ जना, बाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १ सय ९ जना घाइते भएका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बाग्मती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन् ।

बाढीका कारण १ सय ८२ घर डुबानमा परेका छन् । १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति भएको प्रहरीले जनाएको छ । सो अवधिमा विपद्का घटनाबाट ३ हजार ५ सय ४७ परिवार विस्थापित भएका छन् ।

७७ वर्षयताकै भारी वर्षा, अध्ययन गर्न कार्यदल
गत साता कञ्चनपुरको चाँदनी दोधारामा भएको भारी वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागले टोली खटाएको छ । ७७ वर्षयताकै धेरै वर्षा भएको ‘रेकर्ड ब्रेक’’boutमा जानकारी लिनका लागि स्थलगत अध्ययन गर्न विभागले टोली पठाएको हो । गत २३ र २४ असारका दिन २४ घण्टाको अवधिमा ६ सय २४ मिलिमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा मापन भएको थियो ।

वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार चाँदनी दोधारास्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले चाँदनी दोधारास्थित वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको ’bout अध्ययन गरेको मौसमविद् कँडेलले जानकारी दिइन् । यसका साथै उनले दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरिएको बताइन् ।

अध्ययन टोलीले कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टाको अवधिमा रेकर्ड भएको ६ सय २४ मिलिमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै हो । हनुमाननगरमा ५७३ दशमलव ६ र सुन्दरपुरमा ५५६ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । सो टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन् ।

उच्च बहाव र धमिलो त्रिशूलीमा खोज्न कठिनाइ
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुईवटा बस शुक्रबार रातिसम्म पत्ता लाग्न सकेका छैनन् ।

शुक्रबार बिहान साढे ३ बजे पहिरोसँगै बगेका दुईवटा यात्रुबाहक बस सिमलताल पहिरोसँगै बगेर त्रिशुली नदीमा बेपत्ता भएका हुन् । दुईवटा बसमा चालक, सहचालकसहित ५३ जना बेपत्ता भएका छन् । तर, कति यात्रु थिए भन्ने’bout अझै ठोस तथ्यांक भने आइसकेको छैन ।

पहिरोले बगाउँदा बेपत्ता भएका दुईवटा बसमध्ये वीरगन्जबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश–०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु सवार रहेका बताइएको छ । साथै, काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बाग्मती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना सवार थिए । दुईजना बीचबाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

गौर जाँदै गरेको डिलक्स बसमा हालसम्म प्राप्त विवरणनुसार बसका यात्रुहरूको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्रलगायतको नामबाट सिट बुक भएको छ ।

नन्दुको नामबाट पाँच जनाको सिट बुक भएको देखिन्छ । यसैगरी, सन्तु र नवीनको नामबाट चार जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुको नाम पनि उल्लेख छैन ।

काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको एन्जल डिलक्सका दुईवटा बस एकसाथ चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएको प्रहरीले जनाएको छ । ती बस एकआपसमा साइड दिने समयमा लेदोसहितको पहिरोमा बगेर बेपत्ता भएको अनुमान गरिएको छ । साथै, काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेको बसमा सात जना भारतीय नागरिक पनि थिए । वीरगन्जबाट छुटेको बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने अहिलेसम्म विवरण केही खुल्न सकेको छैन । चालक जवाहिर महतोले चलाएको सो बस वीरगन्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।

बस पहिरोमा पुरिएको जानकारी प्राप्त भएसँगै सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरी बस खसेको ठाउँमा दिनभर खोजीमा सक्रिय भएको थियो । पानीको उच्च बहाव, धमिलो र गहिरो भएका कारण दिनभर खोजी गर्दा पनि यात्रुबाहक बस भेट्न नसकिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा ७० जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ । सशस्त्र प्रहरीले बस खोज्नका लागि चुम्बकको सहायताले पनि लामो प्रयास गरेको थियो । तर, बसको कुनै संकेत भेट्न नसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले टोली नै परिचालन गरेर देवघाटसम्म गोताखोरको प्रयोग गरेर शुक्रबार दिनभर हराइरहेको बस खोजेको थियो । सशस्त्र प्रहरीका तीनवटा बोट र नेपाली सेनाको एउटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ । पानीको ठूलो भुमरी र उच्च बहावका कारण हराइरहेको बस भेट्न नसकिएको जनाइएको छ । खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीले बसमा लगाइएको पर्दा भने फेला पारेको छ । पानीको उच्च बहावका कारण नदीको गहिराइमा पुगेर खोज्नसक्ने अवस्था नभएपछि शुक्रबार साँझदेखि टोलीले खोजी कार्य स्थगन गरेको छ । टोलीले हुक लगाएर, बाँसका लामा भाटा, रडको सहायताले पनि खोजी कार्य दिनभर गरेको थियो ।

वीरगन्जबाट काठमाडौंका लागि आउँदै गरेको बसमा सवार यात्रु
१. अन्सारी जी समेत दुई जना (भारत घर)
२. सन्तोष ठाकुर, भारत
३. सुरेन्द्र शाह, भारत
४. आदित मियाँ, भारत
५. सुनिल शाह, भारत
६. साहनबाज आलम, भारत
७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)
८. अरविन्द्र दुवे, ठेगाना नखुलेका ।
९. हरिन्द्र पण्डित, ठेगाना नखुलेका ।
१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)
११. परमानन्द जी, बारा मुसहर्वा
१२. हृदयनारायण राउतसमेत तीन जना (पर्सा रंगपुर)
१३. सालिम मियासहित दुई जना (रघुनाथपुर)
१४. रैजुल आलमसमेत दुई जना (पर्सा कटिया)
१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)
१६. राजेन्द्र केसी, डिलक्स मालिक ।
१७. चौधरी थरका सह–चालक ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी