खोटाङ । खोटाङ जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा उल्लेखनीय प्रगति हासिल गरेको छ । प्रहरीले फरार प्रतिवादीहरूको पक्राउ, अपराध नियन्त्रण र कानूनी कारबाहीमा महत्वपूर्ण सफलता प्राप्त गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले हालै सार्वजनिक गरेको वार्षिक प्रगति सूचकाङ्कले जिल्लामा कानून कार्यान्वयन र अपराध नियन्त्रणमा महत्वपूर्ण प्रगति भएको उल्लेख गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले गत वर्ष केही गम्भीर अपराधहरूको सफल अनुसन्धान गरेको छ । २०८० साल मंसिर १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकास्थित नाखामका पवित्रा तामाङको हत्या र लुटपाट मुद्दामा दिपक श्रेष्ठ र सृजना राईलाई पक्राउ गरी जेल चलान गरिएको छ ।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीका धनजित राईको हत्यामा संलग्न तीन जना अभियुक्तहरूलाई पक्राउ गरी कारागार चलान गरिएको छ । अर्को अपराध कै घटनामा, साकेला गाउँपालिका वडा नम्बर २ निवासी ७१ वर्षीय कृष्ण कुमार राईलाई उनकै ४२ वर्षीय छोरा टिकाराम राईले हत्या गरी शव गाडेको गोप्य सूचनाको आधारमा घटनाको ३ दिनपछि शव उत्खनन गरी अभियुक्त टिकारामलाई पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस्तै, जबरजस्ती करणी मुद्दामा फरार रहेका किरण राईलाई इन्टरपोल मार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याएर थप अनुसन्धान पुुरा गरि पुर्पक्षका लागि कारागार चलान गरेकोे, लालुपाते सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा ३५ जना विरुद्ध मुद्दा दायर गरी पीडितहरूलाई रकम फिर्ता गराइएको प्रहरीले जनाएको छ ।
सहकारी संस्थाको बचत रकम अपचलनमा कुल ४ करोड ४१ लाख २ हजार ७७० रुपैयाँको दाबी रहेको मुद्दामा मिलापत्र गराई पीडितहरूलाई न्याय दिलाउन सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार, अदालतले उपलब्ध गराएको २१२ जना फरार प्रतिवादीको सूचीमध्ये १२४ जनालाई पक्राउ गरिएको छ ।
यस कारबाहीबाट ११३ वर्ष ११ महिना ७ दिन कैद, ८ लाख २३ हजार ४६१ रुपैयाँ जरिवाना र २ लाख ३२ हजार ७८६ रुपैयाँ क्षतिपूर्ति असुल गरिएको छ । बाँकी ८८ जना मध्ये केहीको मृत्यु भइसकेको र केहीले पुनरावेदन गरिरहेको जानकारी दिइएको छ । यस्तै यस वर्ष जिल्लामा २१५ वटा अपराधिक घटना दर्ता भएका छन् । ३८ वटा झुण्डिएर आत्महत्याका घटना रहेका छन्, यो गत वर्षहरूको तुलनामा आत्महत्याका घटनाममा कमी आएको देखिएको छ भने जबरजस्ती करणीका घटना दर्तामा वृद्धि भएको छ ।
यस वर्ष २७ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन्, जुन गत वर्षको तुलनामा करिब दोब्बर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यस्तै खोटाङमा नयाँ प्रकारका अपराधहरूका घटना दर्ता गरि कारवारी गरिएकोे छ । जिल्लामा पहिलो पटक १७ वटा बैंकिङ कसुर सम्बन्धी घटना दर्ता गरिएको छ । अन्य दर्ता भएका घटनाहरूमा ठगी, कर्तव्य ज्यान, लागू औषध, चोरी, अभद्र व्यवहारलगायत रहेको प्रहरीले जनाएको छ ।
खोटाङ प्रहरीले विभिन्न नवपर्वतनीय कार्यहरूतर्फ बिद्यार्थीहरूलाई कानूनी ज्ञानको ’boutमा जानकारी दिन “अवारनेसस ट्रिप टु पोलिस” कार्यक्रमको शुरुवात गरिएको, रक्तदान कार्यक्रमको आयोजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सडकमा बिक्षिप्त अबस्थामा रहेका सहयोगापेक्षी २ जना सडक मानवको उद्धार गरी मानवसेवा आश्रम बिराटनगर पठाईएको जनाइएको छ ।
यस्तै डढेलोबाट घर गुमाएका पुर्व प्रसनि गोपाल बहादुर थापा मगरलाई नगद १ लाख ५० हजार उपलब्ध गरएको जनाएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न क्याम्पस, विद्यालय तथा समुदायमा ९९ हजार सेवाग्राहीलाई सचेतनामूलक जानकारी प्रदान गरिएको छ । साथै, विभिन्न ८ गाउँपालिकामा नागरिकका पीरमर्का तथा गुनासो सुन्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयय खोटाङले जनाएकोे छ ।





