‘सुनखानीमा भाँजो (बार) हालेको र छ । हामी पनि हालौं, हामी पनि नयाँ मान्छेलाई गाउँ छिर्न नदिउ ।’ गाउँमै होम क्वारेन्टाइनमा बसेका भाईहरु हिजो बेलुका छलफल गर्दै थिए । बिहानै गौंडोमा झाँजो हालेछन् । सेतो कागजमा लेखेर टाँसेका पनि छन् ‘कृपय अपरिचित मान्छेहरु हाम्रो गाउँ छिर्ने कष्ट नगर्नु होला ।’
नीलकण्ठ नगरपालिका र ज्वालमुखी गाउँपालिकाको साँध थियो सुनखानी (काउलेडाँडो) । त्यहि भाँजो हालेको थियो ज्वालामुखी गाउँपालिकाले । गाउँपालिकाले हालेको भाँजो पक्कि बार थिएन तैपनि सर्वसाधारणका लागि पक्कि बार सरह थियो । भाँजो हाल्नुलाई पक्कि बार लगाउनुको रुपमा बुझ्छन् ।
काउलेडाँडामा भाँजो हालेको थाहा पाएपछि भाइहरुले बिहानै घरमै भएको चारवटा बाँस लगेर गौंडैमा गाडेर आए । माइलो भाइले फुर्ति लाउदै भन्यो । ‘ल आमा मैले बार हालिदिँए अब नयाँ मान्छे हाम्रो गाउँमा छिर्दैन, अनि हाम्रोमा कोरोनाको डर हुन्न ।’ आमाले भन्नु भो ‘फुर्ति लाउन पर्दैन यस्तो झाँजो पहिला पनि हाल्थे ।’
जिल्लावाट सञ्चालित एफएम रेडियोहरुले गाउँ गाउँमा भाँजो हालेको प्रसंगलाई समाचारको विषय बनाउन थालेका थिए ।
गाउँमा भाँजो । नयाँ पुस्ताका लागि अचम्म लाग्न सक्छ । काठमाडौमा फलामको गेट खोलेर ओहोर दोहोर गर्नेहरुका लागि भाँजो नौलै चिज हो । गाउँमै जन्मे हुर्केकाहरुका लागि यो सामान्य हो ।
खासमा गाउँमा यो बार पुरानो संस्कार हो । अहिले पनि जारी छ । धेरैले भित्रीवारी जोगाउन हिउँदमा र खुल्ला साँध सिमानामा जोगाउन बर्खामा झाँजो हाल्ने चलन छ । बाँस, चिलाउने, तिँदु, कट्टुसलागयतका हाँगा काटेर सेउला सहित हालिन्छ भाँजो ।
यसपालिको भाँजो अलि फरक खालको छ । बारीमा बस्तु भाउ नछिरोस् भनेर होइन । ‘केभिड १९’ कोरोन संक्रमित गाउँमा नछिरुन् भन्नका लागि हालिएको हो ।
तगाँरो र आँखी झ्याल हरायो
पहिला गाउँका प्रत्येक घरमा तँगारो (गेट) हाल्ने चलन थियो । भूकम्पपछि बनेका घरहरुले तँगारो बिर्सिए । पूर्ननिर्माण प्राधिकरणले घर बनाउदा सिमेन्ट दल्नै पर्ने उर्दी जारी ग¥यो सानो झ्याल राख्नै नपाइने नियम बनाएपछि पूर्खाले मेहनत गरेर बनाएका ४÷५ सय वर्ष पुराना आँखीझ्याल विस्थापित भए । भूकम्पअघि गाउँमा कसैले नयाँ घर बनाएपनि आँखी झ्याल पुरानै राख्ने चलन थियो । आँखी झ्यालको आयुका वारेमा वैज्ञानिक अध्ययन, अनुसन्धान छैन । तर, सबैले भन्ने गर्थे ‘यो झ्याल त मेरो हजुरबाकै पालाको हो ।’
भूकम्पपीडित जिल्लामा प्राधिकरणले खटाएका इन्जिनियरले आँखी झ्याल कामै लाग्दैन भने । प्राधिकरणको नियम अनुसार झ्यालको साइज चार बाइ छ हुनुपथ्र्यो । राँबो र छिनोको सहयोगमा परम्परागत बुट्टा कुँदिएका आँखीझ्याल साना साइजका हुन्थे ।
इन्जिनियरले भनेको मानेन भने राज्यले उपलब्ध गराउने तीनलाख पाइन्थ्यो । तीनलाखको मोहमा मन नलागी नलागी आँखीझ्याल कसैले फुटाएर दाउरा बाले त कसैले बाख्राको खोरतीर व्यवस्थापन गरे ।
बिफर आउदा पनि भाँजो हाल्थे
बिफर लागेर बिरामी भएको मान्छेलाई गाउँलेहरु कुर्न डराउथे । मरेपछि मलामी जान डराउथे । जब कतै बिफर आएको हल्ला चल्थ्यो । गाउँमा कटुवाल कराउथे

पहिला पहिला गाउँमा बिफर आउथ्यो । अहिलेको कोरोना जस्तै विफर पनि महामारीको रुप थियो । बिफर लागेर पनि बाँचेको ब्यक्तिलाई ‘भाग्यमानी’ भनिन्थ्यो ।
आमा भन्नुहुन्छ ‘बिफर लागेर बिरामी भएको मान्छेलाई गाउँलेहरु कुर्न डराउथे । मरेपछि मलामी जान डराउथे । जब कतै बिफर आएको हल्ला चल्थ्यो । गाउँमा कटुवाल कराउथे ।
‘सुन पाँचो हो गाउँले, गाउँमा बिफर आएकाले घरमै जोगिएर बस्नु होला, मकै कसैले नभुट्नु होला ।’ साँझ बिहान गाउँको डाडामा बसेर कटुवाल कराएपछि मान्छे सर्तक हुन्थे । गौडा गौडामा भाँजो हाल्थे । मकै भुटेपछि बिफरको फोका मकै जस्तै ठूला हुन्छ भन्ने मान्यता अनुसार मकै भुटन छाड्ने चलन थियो ।
कोरोना भाइरसको सन्त्रासले अहिले फेरि गाउँ गाउँमा भाँजो हाल्न सुरु भएको छ । उ बेला बिफर आउदा न औषधी थियो न त अहिले जस्तो सानुन र सेनेटाइजर । अहिले त हाल हातमा भएको मोबाइलले कोरोना भाइरसबाट यसरि जोगिन सकिन्छ भन्दै छिन छिनमा सन्देश दिइरहेको छ । विकसित मुलुकका विज्ञ चिकित्सकले समेत कोरोना संक्रमण भएर अस्पताल जानेहरुलाई ज्युर्दै घर फर्काउने सामथ्र्य गुमाउन छाडेका छन् । हामी हरेक दिन कोरोन संक्रमणले मुत्यु हुनेअरुको संख्या गन्दै गौंडा गौंडामा भाँजो हाल्न व्यस्त छौं ।
हामीलाई थाहा छ । गाउँ गाउँमा संक्रमण फैलियो भने हाम्रो स्रोत र साधनले संक्रमितहरुलाई बचाउन सक्ने छैन । जोगिने उपाय भने आफुले सिक्दै अरुलाई पनि सिकाउन सक्ने छौं । हाम्रो गौंडाको भाँजो कसैलाई ओहोर दोहोरमा बन्देज लाउनका लागि हैन, कोरोन संक्रमण सचेतनाका लागि हो भनेर बुझौं ।