अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पु-याऊ : काङग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु-याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने काँग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज यहाँ विज्ञप्ति जारी गर्दै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गरेका छन् ।

“गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?” विज्ञप्तिमा भनिएको छ । उहाँले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराए ।

प्रवक्ता शर्माले भनेका छन् “अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुप-यो सरकार । सुनिन्छ भने सुन्नुप-यो । बुझिन्छ भने बुझ्नुप-यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।”

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ