जलबिन्दुबारे जानी राखौं

जलबिन्दुबारे जानी राखौं

rabindra-adhikari

रवीन्द्र अधिकारी

विश्व जलबिन्दु महासंघ र विश्व जलबिन्दु बिरामी महासंघको संयुक्त पहलमा यस वर्ष पनि मार्च १२ देखि १८ सम्म जलबिन्दु रोगसम्बन्धी चेतना अभिवृद्धि गर्ने मनसायले विश्व जलबिन्दु सप्ताह मनाइयो । यी दुई देहाएका संस्थाले २००८ देखि विश्व जलबिन्दु दिवसको सुरुवात गरे र २०१० देखि हरेक वर्ष विश्व जलबिन्दु सप्ताह वा वल्र्ड ग्लौकोमा विक मनाउँदै आइरहेका छन् । सन् २०२० को अन्तसम्ममा जलबिन्दु रोगीहरूको संख्या करिब ७ करोड ६० लाख पुग्ने आँकलन गरिएको छ र यो रोगको चापलाई थोरै भए पनि नियन्त्रण गर्न यी दुई संस्थाले मात्र सामना गर्न नसक्ने भएकाले समाजका हरेक तह र तप्काबाट जलबिन्दु रोगबारे जनचेतना फैल्याउन यो अभियान आवश्यक भएको हो । तसर्थ जोसँग जेको विज्ञता वा सुविस्ता छ त्यही उपयोग गरेर सामाजिक सञ्जाल तथा स्थानीय तहबाट समेत यो सप्ताहलाई व्यापक बनाउनु हामी सबैको दायित्व हुन जान्छ । हामी सबैले जलबिन्दु रोगबारे जानकारी पाउनु किन आवश्यक छ भन्ने कुरा यसै लेखमार्फत प्रकाश पार्न खोजिएको छ ।
हुन त जलबिन्दु धेरै किसिमका हुन्छन्ः आफैं सुरु हुने जलबिन्दुलाई प्राथमिक जलबिन्दु र अन्य रोग र अवस्थाहरूले गर्दा सिर्जना हुने जलबिन्दुलाई द्वितीय (सेकेन्डरी) जलबिन्दु भन्ने गरिन्छ । द्वितीय जलबिन्दुको नियन्त्रण कारक रोगको उपचारपछि स्वतः हुन्छ । आँखाको गेडाको समग्रतालाई कायम राख्न आँखाभित्र पैदा भइरहने पानी (एक्वाइस ह्युमर) को चाप स्थिर भइरहनु पर्दछ । यो तरल रगत छानिएर निरन्तर आँखाको गेडीभित्र लेन्सभन्दा अगाडिपट्टिको भागमा प्रसार भइरहन्छ । पछि फेरि आइरिस (आँखाको रङ निर्धारण गर्ने पुतली) र पारदर्शक कर्नियाबीचमा रहने सूक्ष्म छिद्रहरूबाट छानिएर पुनः रगतमै मिसिन्छ । ती छिद्रहरू भएको चेपलाई कोण वा एंगल भनिन्छ । एंगल साँघुरो वा बन्द भयो भने पानीको निकास नभएर अकस्मात् आँखाको चाप अनियन्त्रित रूपले बढ्छ । सामान्यतया १० देखि २० एमएमएचजी हुनु पर्ने चाप धेरै भएमा आँखा जोड जोडले दुख्ने, रातो हुने, बिजाउने देखि लिएर टाउको दुख्ने र वान्तासमेत् हुने लक्षणहरू देखा पर्दछ । यो आँखाको आपत्कालीन अवस्था हो किनकि समयमै उपचार पाएन भने यसले छोटै समयमा दृष्टि पुर्ण रूपले नष्ट गरिदिन्छ । समयमै अस्पताल पुगेको अवस्थामा आँखाको चापलाई तुरुन्त कम गर्ने औषधि वा सुइको प्रयोगद्वारा दृष्टिलाई जोगाउन सकिन्छ । जलबिन्दु रोगबाट दीर्घकालीन बचावटका लागि भने पुतली वा आइरिसलाई प्वाल पार्ने विधि पेरिफेरल आइरिडेक्टोमी र ती छिद्रहरूलाई ठूलो पार्ने वा खोल्ने शल्यक्रिया तथा लेजर पद्धतिहरू उपलब्ध छन् ।
कोण खुला भएर पनि हुने जलबिन्दुलाई प्राथमिक खुला कोण जलबिन्दु भनिन्छ, जसमा क्रमिक रूपले पुनः नफर्किने गरी दृष्टि नसा बिगिँ्रदै जान्छ । यो रोगमा आँखाको चाप सामान्य वा बढी पनि हुन सक्छ तर दृष्टि क्षेत्रमा क्रमशः ह्रास आउँछ । माथिको भन्दा यो जलबिन्दुको प्रकार किन घातक मानिन्छ भने यसमा कुनै लक्षणहरू हुँदैनन् । कुनै लक्षणविना भित्रभित्रै यो रोगले दृष्टि नसा नष्ट गरिरहेको हुन्छ र सम्बन्धित व्यक्तिलाई यो कुरा थाहा पनि हुँदैन । प्रायजसो बिरामी अन्य समस्या बोकेर अस्पताल जाँदा चिकित्सकद्वारा दृष्टि नसा परीक्षण गर्दा अकस्मात् यो रोग पत्ता लाग्छ । अथवा जलबिन्दुले दृष्टि क्षेत्रमा निकै नै असर गरिसकेपछि बिरामी अस्पताल पुग्छन् ।
जलबिन्दुको जोखिम समूह निम्न प्रकार छन् ः
– परिवारको सदस्यमा जलबिन्दुको रोग छ भने
– कुनै कारण बस लामो समयसम्म कोर्टिकोस्टेरोइड भन्ने औषधी प्रयोग गरेको छ भने
– आँखामा चोटपटक लागेको छ वा अप्रेसन गरेको छ भने
– ४० भन्दा माथिको उमेर समूह
– उच्च रक्तचाप वा मधुमेहको रोग छ भने
– दृष्टि दोष (टाढा नदेख्ने ठूलो पावरको चस्मा लगाउने व्यक्तिमा)
खुलाकोण जलबिन्दु रोगको पूर्णतया उपचार नभए तापनि यसलाई रोकथाम गरेर अन्धोपन हुने समयलाई पछि धकेल्न सकिन्छ । यो रोगका अन्तिम अवस्थामा दृष्टि क्षेत्र साँघुरिएर टनेल भिजन मात्र बाँकी रहन्छ र अन्तत्वगत्वा आँखाको दृष्टि पूर्णतया नाश हुन्छ । अब जलबिन्दु रोगका बारेमा आफूले जानिसकेपछि अरूलाई पनि यसबारे जानकारी दिनु हाम्रो कर्तव्य हो ।

(अधिकारी रेयुकाई आँखा अस्पताल, बनेपाका दृष्टि विशेषज्ञ हुन् )