काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्।
बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेनको नाम पनि समेटिएको हो।
टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई ‘नेता क्याटोगोरी’मा समेटेको छ। म्यागेजिनले छानेका विश्वका २४ प्रभावशाली नेताको सूचीमा बालेन पनि समेटिएका हुन्।
क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान, न्युयोर्क शहरमा मेयर जोहरन मम्दानीलगायतका नेता यो सूचीमा छन् ।
प्रधानमन्त्री शाहलाई म्यागजिनले ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ। प्रधानमन्त्री बालेन ३६ वर्षका छन् । उनी गएको चैत १३ गते नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।
प्रधानमन्त्री शाहका लागि टाइमको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’
टाइम म्यागजिनले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ।
‘सबै नयाँ–पुराना राजनीतिज्ञ चोर हुन्,’ बालेनले एकपटक सामाजिक सञ्जालमा लेखेका थिए। नेपालीलाई आशा छ, उनले आफैंलाई गलत प्रमाणित गर्नेछन्,’ टाइमको लेखमा भनिएको छ।
सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौंको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती अब उनीसामु रहेको टिप्पणी पनि म्यागजिनले गरेको छ।
जसमा शाहको उदयलाई दक्षिण एसियाको जड सुत्रवादी वंशवादी राजनीति विरुद्धको ठूलो प्रहारको रूपमा व्याख्या गरिएको छ।
त्यस्तै, व्यापार र प्रविधिको क्षेत्रबाट गुगलका सुन्दर पिचाई, अर्बपति माइकल डेल, डेभिड एलिसन र टेस्ला तथा स्पेसएक्ससँग आबद्ध ग्विन सटवेल पनि प्रभावशाली १०० को सूचीमा परेका छन्।
कला विधामा बलिउड अभिनेता रणवीर कपूर, हलिउड अभिनेत्रीहरू जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र चर्चित गायक ल्युक कोम्ब्स अटाएका छन्।
त्यसैगरि खेलकुदका हस्ती स्कट्टी सेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जालका प्रसिद्ध व्यक्ति ‘मिस्टर बिस्ट’ पनि यो प्रतिष्ठित सूचीमा समेटिएका छन्। नवप्रवर्तन र विचारको क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्ना जस्ता व्यक्तित्वहरूले पनि एकसयको सूचीमा छन्।
सम्बन्धित समाचार
सरकारले वीरगन्जबाट थाल्यो पूर्वबजेट सुझाव संकलन
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल
२०८४ जेठमा प्रदेश र स्थानीय तह निर्वाचनको गृहकार्य
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने
च्यासलको मूलढोकामा फूल दिएर नेताहरूलाई युवाले गरे खबरदारी
ओली र लेखकको बन्दी प्रत्यक्षीणकरणको रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुँदै






