काठमाडौं । वैदेशिक रोजगारीको आकर्षणमा ओमान जाने नेपालीहरू ठगीको सिकार हुने क्रम बढ्दो देखिएको छ। विशेषगरी “भिजिट भिसा” मार्फत काम दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएपछि ओमानस्थित नेपाली दूतावास ले गम्भीर ध्यानाकर्षण गराउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
दूतावासका अनुसार पछिल्लो समय ठूलो रकम असुल गरी भिजिट भिसामा ओमान पठाइदिने र त्यहाँ पुगेपछि राम्रो तलब र सुविधा सहितको काम लगाइदिन्छु भन्दै झुक्याउने घटनामा उल्लेख्य वृद्धि भएको छ। यसरी ठगीमा परेर ओमान पुगेका धेरै नेपाली अलपत्र अवस्थामा परेपछि दूतावासमा सहयोग माग्दै सम्पर्क गर्ने गरेका छन्।
दूतावासले जनाएअनुसार अलपत्र परेका अधिकांश नेपालीहरूले एजेन्टलाई ठूलो रकम बुझाएको दाबी गरे पनि त्यसको कुनै लिखित प्रमाण नभएको पाइएको छ। ठगी गर्नेहरूले आकर्षक तलब, सहज काम र छिटो प्रोसेसको प्रलोभन देखाएर सर्वसाधारणलाई भ्रममा पार्ने गरेका छन्।
महत्वपूर्ण कुरा के छ भने ओमानमा भिजिट भिसामा गएर त्यसलाई काम गर्ने भिसामा रूपान्तरण गर्न सकिने व्यवस्था छैन। त्यसैले भिजिट भिसामा गएका नेपालीहरू गैरकानुनी रूपमा बस्न बाध्य हुने र पछि गम्भीर समस्यामा पर्ने गरेका छन्।
दूतावासले थप चेतावनी दिँदै भन्छ—यदि कोही भिजिट भिसामा गएर ओभरस्टे भएमा कानुनी रूपमा समस्या आउँछ र दैनिक १० ओमानी रियालसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा उद्धार प्रक्रिया पनि जटिल हुने भएकाले जोखिम अझ बढ्ने गर्दछ।
यसै सन्दर्भमा दूतावासले कामका लागि ओमान जान चाहने नेपालीहरूलाई अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। भिजिट भिसामा काम गर्ने प्रलोभनमा नपर्न र कुनै पनि रकम बुझाउँदा आधिकारिक कागजात र प्रमाण सुरक्षित राख्न पनि सुझाव दिएको छ।
दूतावासले आवश्यक परेमा आफूले उपलब्ध गराएको आधिकारिक फोन नम्बरहरूमा सम्पर्क गरी जानकारी लिन अनुरोध गर्दै, सचेतना अपनाए मात्र यस्ता ठगीका घटनाबाट जोगिन सकिने जनाएको छ।






