ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान थालेका छन् । निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने हस्ताक्षर संकलन अभियानमा सक्रिय सहभागीहरूको भनाइ छ ।

अध्यक्ष हटाउन हस्ताक्षर अभियान तिव्र

उपाध्यक्ष पौडेलको अभियानमा पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूको समेत समर्थन छ । एमालेको युवा, विद्यार्थी, बुद्धिजीवी संगठनका नेताहरूले २१ फागुनको निर्वाचनमा अध्यक्ष ओलीसहित नेताहरूको लज्जास्पद हारपछि विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान थालेका हुन् ।

२३ र २४ भदौको जेनजी विद्रोहको केही दिनअघिसम्म पनि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा आउन नदिन सक्रिय थिए । तर ७ महिनापछि पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमाले नेतृत्वमा आउनका लागि दौडधुपमा लागेकी छन् । जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठन भएको गौरीबहादुर कार्कीको प्रतिवेदनअनुसार पक्राउ परेका ओली अहिले जमानीमा रिहा भइसकेका छन् ।

आफू पक्राउ परेपछि ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएका छन् । थापालाई नै संसदीय दलको नेतासमेत बनाएका छन् । माओवादी पृष्ठभूमिका थापा दलको नेतासहित कार्यवाहक अध्यक्ष भएको भण्डारी, पोखरेल, पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईसहितका नेतालाई मन परेको छैन । अहिले यी नेताहरूले नै एमालेमा ओलीको विकल्प खोज्दै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान थालेका हुन् ।

राजनीतिक रूपमा ओली पहिलेको तुलनामा कमजोर भएका छन् । २१ फागुनको चुनावमा ओलीले झापा–५ बाट मात्र हारेनन्, पार्टी नै २५ सिटसहित तेस्रो दलका रूपमा खुम्चियो । युवा विद्रोह दबाउन दमन गरेको आरोपको अनुसन्धानका लागि उनी केही दिन न्यायिक हिरासतमा समेत बस्नुप¥यो ।

सोही मौका छोप्दै थापा कार्यवाहक अध्यक्ष भएपछि एमालेका रैथाने नेताहरू उनको विकल्प खोज्न थालेका छन् । पूर्वमाओवादी नेता थापा तत्कालीन एमाले र माओवादीबीच एकता र त्यसपछि एमाले ब्युँतिएपछि एमालेमै बसेका थिए ।

एमालेको पुनर्जागरणका लागि पार्टीभित्रै विशेष महाधिवेशनको माग चर्कोरूपमा उठ्न थालेपछि पूर्वराष्ट्रपति भण्डारी, पोखरेल, पौडेल, विष्ट, भट्टराईसहितका नेताहरू सक्रिय भएका हुन् । गत शुक्रबार भण्डारीले नयाँ बानेश्वरस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा सम्पादकहरूसँग अन्तक्र्रियासमेत गरेकी थिइन् । एमालेभित्र विशेष महाधिवेशनका पक्षमा आवाज जोडतोडले उठिरहेका बेला भण्डारीले सम्पादकहरूसँग भेटेकी हुन् । भण्डारी एमाले उपाध्यक्ष हुँदा उनी निकट रहेका नेताहरू भने भण्डारीको भेटघाटलाई राजनीतिक सक्रियताको नवीकरणका रूपमा हेर्न नहुने बताउँछन् ।

राजनीतिक रूपमा समस्यामा रहँदा मौन बस्नु उपयुक्त नहुने ठानेरै भण्डारी सक्रिय भएको उनीहरूको भनाइ छ । भण्डारीका स्वकीय सचिव राजकुमार राई भने अहिलेको भेटघाट एमालेको आन्तरिक राजनीतिसँग कुनै अर्थ नरहेको बताउँछन् । यसअघि भण्डारी सक्रिय राजनीतिमा आउन खोज्दा एमाले केन्द्रीय कमिटीले नै रोकेको थियो । २०–२२ भदौमा भएको दोस्रो महाधिवेशनमै भण्डारीलाई रोक्ने ओलीको कदमलाई धेरैले समर्थन गरे ।

सो सम्मेलनले दुई कार्यकालभन्दा अध्यक्ष हुन नपाउने र ७० वर्षीय उमेर हदको व्यवस्था पनि हटायो । यो प्रावधान ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुलाउन हटाइएको थियो । त्यो कदमले एमाले नेतृत्वमा पुस्तान्तरणको मुद्दालाई पन्छाएको थियो । साथै जेनजी आन्दोलनको मर्मअनुसार रूपान्तरणको बाटोमा पनि पार्टी हिँडेन । जेनजी आन्दोलनलगत्तै पनि भण्डारीले प्राप्त अवसर सदुपयोग गर्न सकिनन् ।

सक्रियरूपमा राजनीतिमा फर्कन नसकेपछि मंसिरमा आयोजित ११औं महाधिवेशनमा भण्डारीले बाहिरबाटै आफ्नो प्रभाव देखाउन खोजेकी थिइन् । अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भण्डारीले समर्थन गरेको पनि नेताहरू बताउँछन् । ओलीविरुद्ध प्यानलै उठाए पनि पोखरेललाई महाधिवेशन प्रतिनिधिले भने पत्याएनन् । १९ सदस्यीय सचिवालयमा पोखरेल पक्षबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई मात्रै विजयी भए । पोखरेल आफैं पनि ओलीसँग भारी मतान्तरले पराजित भए ।

२१ फागुनमा भएको संसदीय चुनावमा प्रत्यक्षतर्फका १६५ मध्ये एमालेले ७ सिट मात्रै जित्यो । समानुपातिकतर्फ ११० मध्ये १८ सिटसहित समग्रमा एमालेले २५ सिट जित्यो । पार्टीले जनसमर्थन गुमाइरहँदा विशेष महाधिवेशनको माग उठिरहेको हो । त्यसैबीच भण्डारीको राजनीतिक सक्रियतालाई चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वमन्त्री खड्कालाई रिहा गर्न सर्वोच्चकोआदेश