दाङ । नया आर्थिक वर्ष सुरु भएसँगै यतिबेला तुलसीपुर उपमहानगरपालिकाका बैठकहरु धमाधम बस्नुपर्ने बेला हो । बैठकमा वार्षिक कार्यक्रमको समिक्षा, शाखा महाशाखाबाट आएका एजेण्डाको विषयमा छलफल, त्यसको निर्णय, नयाँ कार्यक्रम स्वीकृत, कार्यक्रम कार्यान्वयनको कार्यतालिका निर्माण, वडाहरुलाई अख्तियारी लगायतका कामले गति लिनुपर्ने हो ।
तर पछिल्लो तुलसीपुर उपमहानगरपाकिला नीति र विधि विपरित चलिरहेको महसुस गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका बैठक समयमै बस्न नसक्दा नीतिगत समस्या देखिको छ नै जनताका कामहरु समेत प्रभावित भएका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा कार्यापालिका बैठक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने व्यस्था छ । तर तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक झण्डै ३ महिना पुग्नै लाग्दा समेत एक पटक पनि बस्न सकेको छैन् ।
नीति र विधि अनुसार पालिका नचल्दा विकास र सेवाका काममा मात्रै लगाम लागेको छैन, यसले सुशानमा समेत धक्का दिने आंकलन गरिएको छ । कार्यापालिका बैठक गएको जेठ ३२ गते बसेको थियो । त्यस यतादेखि बैठक बस्न सकेको छैन ।
पालिका चल्नका निमित्त बैठक र छलफलहरु भइरहनुपर्छ । तर समयमै कार्यापालिका बैठक नबस्दा बजेट कार्यान्वयन, विपद् व्यवस्थापन, दिनदिन चल्ने प्रशासनिक कामहरु, वर्षातपछि भत्किएका सडकहरुको मर्मत, सुत्केरी भत्ता, स्मार्ट छोरी कार्यक्रम र क्यान्सर, मृगौला तथा मुटु रोगी बिरामीको सहयोग, सामाजिक सुरक्षा भत्ता लगायतका विषयहरु ठप्प भएको नगर प्रवक्ता माधव वलीले बताए ।
उपमेयर के भन्छिन् ?
यता तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले कार्यपालिका बैठक बसाउने विषयमा कुरा गर्दा मेयरले अफ्ना कुरा नसुनेर विषयलाई अर्कैतिर मोड्ने गरेको बताइन ।
‘हामीहरु जनताको काम गर्न निर्वाचित भएर आएका हौं । आफुखुशी गर्ने छुट हामीलाई छैन् । म अमेरिकामा डेढ महिना बसेर आएँ । मेरो कारणले बैठक रोकिएको त होइन । आउने वित्तिकै सकभर कार्यपालिका बैठक बसौं नभए बैठक मात्रै भएपनि बसेर केही महत्वपूर्ण एजेण्डामा निकास दिँउ भनेको छु, उपमेर चौधरीले भनिन्– ‘सुरुसुरुमा मेयर उपमेयर मिल्दैनन् भन्थे अहिले को, नमिलेर बैठक बस्न सकेको छैन ? सत्य, सत्य नै हुन्छ हेर्नुस ।’
के भन्छन स्थानीय विज्ञ ?
तुलसीपुर उपमहानगरको नगर कार्यपालिका बैठक ३ महिनासम्म नबस्नु भनेको आश्चर्यजनक विषय भएको विज्ञहरुले बताएका छन् । महिनामा कम्तिमा पनि २ पटक बस्नु पर्ने बैठक तीन महिनासम्म नबस्नु भनेको त यसले सकारात्मक सन्देश जान नसक्ने स्थानीय विज्ञ रमेश अधिकारीले बताए ।
‘यो कुनै घर चलाउने कुरा होइन । सरकारका चलाउने हो । कार्यपालिका बैठक भनेको सरकारको क्याविनेट बैठक जस्तै हो । कार्यपालिका भनेको सरकारको दैनिक प्रसासनिक काम लगायत महत्वपूर्ण निर्णय गर्ने कार्यकारी संयन्त्र हो । बैठक लामो समयसम्म नबस्दा धेरै निर्णयहरु रोकिएका हुन्छन् ।
त्यसरी निर्णय रोकिदा जनतालाई विकास र सेवा दिने विषयमा यसले नकारात्मक असर पार्छ ।’ स्थानीय विज्ञ अधिकारीले भन्नुभयो । हप्ता वा दुइ हप्तामा बस्नु पर्ने बैठक तीन महिना पुग्नै लाग्दा समेत नबस्नु यसको सन्देश नकारात्मक जान्छ, राम्रो जाँदैन् स्थानीय विज्ञ अधिकारीले भने ।
उपमेयर देशबाहिर भएका कारण बैठक बसेन : मेयर खडका
यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कार्यपालिकाको बैठक नबसेको २ महिना मात्रै भएको बताएका छन् ।
मासिक रुपमा नियमित कार्यपालिका बैठक बस्नुपर्ने भए पनि उपप्रमुख देश बाहिर गएकाले बस्न नसकेको उनले बताए ।
कार्यापालिका बैठक समयमै बस्न नसक्दा आन्तरिक लेखा परक्षिणको काम देखि पालिकाको खाता सञ्चालन नहुँदा केही समस्या भएको स्वीकार गर्दै तिज लगत्तै कार्यपालिका बैठक बस्ने नगर प्रमुख खडकाले बताए ।
कार्यपालिकामा १९ वटा वडाका वडा अध्यक्ष, ८ जना मनोनीत कार्यपालिका सदस्य मेयर उपमेयर समेत गरेर २९ रहने कानुनी व्यवस्था रहेको छ ।






