राष्ट्रिय दिवसको अवसरमा…

हामी नेपालीहरू वर्षैभरि विभिन्न नाममा धार्मिक र सांस्कृतिक चाडपर्व मनाइरहन्छौं । लोकतन्त्र दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसजस्ता विभिन्न राजनीतिक तिथिमितिमा दिवस पर्व पनि मनाउँछौं । आज ३ असोज अर्थात् संविधान दिवस । तर, यो अन्य दिवसजस्तै एउटा दिवस मात्र होइन, यो नेपाल राष्ट्रको औपचारिक राष्ट्रिय दिवस हो । कुनै समयमा नेपालको राष्ट्रिय दिवस तत्कालीन राजाको जन्मोत्सवको दिन हुने गथ्र्यो । नेपालको राष्ट्रिय गान पनि गद्दीमा आसीन राजाको व्यक्तिगत प्रशस्तीगान हुने गथ्र्यो । आज राजा छैनन् र विविधताले भरिएका सम्पूर्ण नेपालीले एकजुट भएर राष्ट्र आराधना गरिन्छ । यो सब व्यवस्था ३ असोज २०७२ का दिन जारी संविधानले गरेको हो र त्यसैकारण यो दिन सम्पूर्ण नेपालीको ‘नेसनल डे’ अर्थात् राष्ट्रिय दिवस हो ।

संविधान सर्वस्वीकार्य निश्चित रूपमा भइसकेको छैन । गहिरिएर हेर्ने हो भने संसारको कुनै संविधान पनि सर्वस्वीकार्य नहुन सक्छ । कुनै न कुनै समूह वा तप्काका आफ्नै गुनासो रहन्छन् । लोकतन्त्र हो भने त असहमति यसको अविभाज्य अंग हो वा अझ भनौं सौन्दर्य नै हो । असहमतिका आवाजहरू उन्मुक्त ढंगले गुन्जिनु नै लोकतन्त्रको विशेषता हो । तर, असहमतिका आवाजहरूको संयोजन गर्ने काममा संविधान सक्षम छ कि छैन वा रह्यो वा रहेन भनेर घोत्लिनुपर्ने अवस्थाचाहिँ विद्यमान छ भन्न हिच्किचाउनु नपर्ला । यस्तो अवस्था हुनुका पछाडि स्वयं संविधानमा रहेको विसंगति हो वा संविधान कार्यान्वयन गर्नेहरूको व्यवस्थापकीय नालायकीपन हो अथवा महŒवपूर्ण भूमिका ओगट्ने हैसियतमा पुगेकाहरूको आचरण नै मूल रूपमा विकसित भइनसकेको हो ? यी तीनमध्ये आंशिक रूपमा प्रत्येक कारण जिम्मेवार हुन सक्छ । अरू कसैले दोष औंल्याइदिएर हुन्न, माथिदेखि तलसम्मका सबै नेपालीले आ–आफ्नो व्यवस्थापकीय क्षमता र नैतिक एवं व्यावहारिक आचरणका ’boutमा आत्मपरक आलोचनात्मक मूल्यांकन गर्नुपर्ने अवस्था छ । त्यसपछि मात्र संविधानको अक्षर र भावनाको छिद्रान्वेषणमा लाग्नु ठीक हुन्छ । विमति सुन्न सक्ने धैर्यता र सहनशीलता नै छैन र विमति व्यवस्थापनको ल्याकत नै छैन भने जतिसुकै राम्रो संविधान लेखिए पनि त्यो सफल हुनै सक्दैन । अहिलेको मूल समस्या यही पो हो कि ?

‘समाजवाद उन्मुख’जस्तो शब्दावली राखेर व्यक्तिको छनोटको स्वतन्त्रता वा वैचारिक उडानलाई कुण्ठित गर्न खोजिएकै हो । आवश्यकता नै नभएको धर्मनिरपेक्षता शब्द समावेश गरेर एकातिर अल्पसंख्यकहरूको नाजायज तुष्टीकरणको बाटो प्रशस्त गरिएको छ भने धर्मनिरपेक्षताको शाब्दिक अर्थसमेत नमिल्नेगरी अनौठो व्याख्या गरेर बहुसंख्यकलाई प्रसन्न बनाउने प्रयास गरिएको छ । यो टालटुल मात्र हो । दैलोदैलोमा सिंहदरबार पु¥याउने लोभलाग्दो नाराका साथ लागू गरिएको भनिएको संघीयताले के गरेको छ बताइरहन नपर्ला ! संघीयताको सबैभन्दा प्रखर समर्थकहरूमा पनि आफू सुहाउँदो कित्ताकाट गरेर पुस्तौंपुस्ता चल्ने जमिनदारी खडा गर्ने भन्दा परको सोच नदेखिएकै हो । संविधान छ, त्यस सुहाउँदो ऐन छैन । बल्लबल्ल थोरै ऐन बने पनि नियमावली छैन । स्वाभाविक रूपमा मन्त्री पद बिक्री गर्ने ठेकेदारहरू देखिनथाले र खर्चको भार बढ्नुबाहेक जनताले खासै सकारात्मक अनुभूति गर्न पाएनन् ! स्थानीय निकायमा शून्य व्यवस्थापकीय क्षमता भएका तर राज्यको सम्पत्ति लुट्नु आफ्नो जन्मसिद्ध अधिकार रहेको ठान्नेहरू उम्मेदवार बन्ने र तिनीहरू नै विजयी पनि बन्ने वातावरण बन्यो । परिणामतः चरम भ्रष्टाचार हुनु स्वाभाविक हो । यस्तो बेथितिका लागि संविधानलाई दोष दिने कि यी जनप्रतिनिधि भनाउँदाको क्षमता र आचरणलाई जिम्मेवार मान्ने ?

एकताका नेपालमा व्यवस्थासँग विमति राख्नेहरूलाई ‘अराष्ट्रिय तत्व’ भन्ने बिल्ला भिराइन्थ्यो । बीपी कोइरालालाई फाँसीको माग गर्ने कैयन राजभक्त पञ्चहरू आज पनि ज्यूँदै छन् । तर, आज तिनै पञ्च र उनका मानसपुत्रहरू ‘कांग्रेसले बीपीको बाटो छोड्यो’ भन्दै बीपीको गुनगान गर्दै हिँडेका भेटिन्छन् । वास्तवमा यस लोकतन्त्रले विकसित हुँदै आजको संविधानसम्म आइपुग्दा यस दस्तावेजले संयोजनकारी एवं समन्वयकारी भूमिका खेलेको प्रमाण हो । संसारभरिकै इतिहास हेर्ने हो भने कुनै गद्दीच्युत राजा या त मारिएका छन् अथवा देशबाट पलायन हुनुपरेको छ । नेपालमा गद्दीच्युत गरिएका राजा सरकारी सुरक्षामा हाँसीहाँसी मुलुक भ्रमण गर्दै छन् र सायद पुनः शासनारूढ हुने योजना पनि बनाउँदै छन् । आजको राष्ट्रिय दिवसका दिनलाई ‘कालो दिवस’का रूपमा मनाउन र १ मिनेट बत्ती निभाउने आह्वान गर्ने महानुभाव पनि निर्धक्क भएर आफ्नो ‘अभियान’ चलाउँदै छन् । हिंसात्मक इतिहास बोकेका उग्र वामपन्थी त अब लगभग मूलधारकै बनिसके । विमति राख्नेहरू जतिसुकै सानो संख्यामा भए पनि असहमत हुने उनीहरूको हक यस संविधानले दिएको छ र यो कुरो व्यवहारमा समेत लागू छ । यो लोकतन्त्रको सबैभन्दा उत्तम सूचक हो र यो संविधानको सर्वोत्तम सौन्दर्य हो । राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा लोकतान्त्रिक आचरण विकसित होस् भन्ने कामना गरौं !

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति