उदयपुर । उदयपुरमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सबै त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति हुन् ।
मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किएका छन् ।
गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो । यी आठै जना मुस्लिम समुदायका हुन् । सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो । जसमध्ये एक जनामा कोरोना पुष्टि भएको हो । उनी पनि मुस्लिम समुदायकै हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले भुल्केको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि शनिवार विराटनगर लगिएको र संकलित नमूना मध्ये ८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले अन्य ६१ जनाको नेगेटिभ देखिएको बताए । कोरोना पोजिटिभ देखिएकाहरुलाई पुनः परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनीहरु सबैलाई उदयपुरबाट परीक्षणका लागि एम्बुलेन्समा धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न् । उनीहरु सबै वयस्क उमेरका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) बीरबहादुर बुढा मगरका अनुसार भुल्केबाट २ वटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताए ।
मस्जिदमा बसेका धर्म प्रचार धर्म गुरु जमातीहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो ।
मस्जिदनजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । जामे मस्जिदमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई बिराटनगरस्थित (कोभिड १९) उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । उनीहरुसँगै ल्याइएका तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
मस्जिदमा रहेको धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवारमध्ये घरमुलिको स्वाब परिक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिलासहित ६९ जनामा स्वाब परिक्षणको लागि संकलन गरि बिराटनगर लगिएको थियो । ६९ जना मध्ये ९ जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परिक्षणपछि ८ जनामा संक्रमण भेटिएको हो । उनीहरु ट्याम्पो, अटो चालक, दुध, तरकारी ब्यापारी हुन् ।
स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरेको छ ।
कोरोना प्रभावित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरी ४ सय २१ घर परिवार रहेको भुल्केलाई सिल गरिएको हो । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेष गरिएको (एसपी) बीरबहादुर बुढा मगरले बताए । त्यसले पनि स्थानीयबासीमा त्रास झन बढेको स्थानीयबासी यदु ढकालले जानकारी दिए । उनले भने, ‘यहाँको तरकारी गाईघाट बजार तथा आसपासको क्षेत्र प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको १८ नम्बर बाहिनी अडडामा समेत जाने गरेको छ ।’
तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ जाँजरमा ३–५ फागुनमा भएको नेपाल इज्तिमा सहभागी हुन आएको देखिएको छ । उनीहरु भारतको जोगबनी हुँदै विराटनगर, दुहबी, ईटहरी, इनरुवा, राजबिराज हुँदै बोदेबसाईन नगरपालिका– ५ जाँजरमा भएको सम्मेलनमा सहभागी भई स्थानीय बिभिन्न मस्जिदमा धार्मिक प्रवचन दिई कन्चनपुर, फत्तेपुर, शिवाई हुँदै भुल्के आएको बुझिएको छ ।






