‘छोरी, एक दिन तिमी
तिम्रै सन्तानहरुसँग डाँडामा बसेर
ताराहरुमा मलाई हेरीरहँदा
म एक टुक्रा जून भएर तिम्रै अन्जुलीमा खस्नेछु…’
मञ्चमा उभिएर अभिनेता नाजिर हुसेनले जब छोरी शिर्षकमा कविताका यस्ता हरफहरु सुनाए । त्यतिबेला दर्शक दीर्घामा रहेका कविताप्रेमीहरु भावुक बने । द्वन्द्वकालमा राज्यको तर्फबाट मारिएका एक जनयोद्धाको पीडालाई उनले आफ्नो कवितामार्फत प्रस्तुत गरेका थिए ।

अपांगता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जाल (एनएनडिसभी)ले हिजो मंगलबार काठमाडौको थापागाउँ स्थित मण्डला थिएटरमा यस्तो कविता बाचनसहित ३३ औं अन्तराष्ट्रिय अपांगता दिवस मनायो । सोही कार्यक्रममा अभिनेता नाजिरले यो कविता सुनाए । युद्धमा जीवन गुमाएकाहरुको सम्झनामा आफुले यो कविता लेखेको उनको कथन थियो ।
बोल्न सक्ने तर सुन्न नसक्ने कवि तथा अपांगता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जालका पूर्व अध्यक्ष केदार प्रसाद अधिकारीले द्वन्द्वकालमा श्रवणशक्ति गुमाएको पीडा सुनाए । उनले वुवा शिर्षकमा प्रस्तुत गरेको कवितामा अपाँगता भएपछि परिवारले भोग्ने समस्या र गर्ने व्यबहारलाई वुवा कवितामार्फत पस्केका थिए । उनको कविता पनि त्यत्तिकै ससक्त थियो ।
करिब तीन घन्टासम्म चलेको सो कार्यक्रममा अभिनेता नाजिर र केदार प्रसादसहित दुई दर्जन श्रष्टाहरुले आफ्ना कविता सुनाए । उनीहरुले आफ्नो अपांगताको पीडा पनि व्यक्त गरे । त्यहाँ प्रस्तुत कविताहरुमा आफ्ना पीडा सुनेर कार्यक्रम उपस्थित बहुसंख्यक अपांगता भएकाहरुले आँसु रोक्न सकेनन् ।
‘म मृत्युलाई जितेर
हरेक दिन बनेको शहिदको
कथा सुनाउन आएको हुँ
यो कलमले मेरो कथा लेख्दै गर्दा
सरकार कहाँ छ होला ?’
एक खुट्टा गुमाएर पनि एक खुट्टाले नृत्य गर्दै आएकी कलाकार तथा कवि सीता सुवेदीले यो कविता सुनाईन् । सरकारमाथि व्यंग्य गरिएको यो कविता सुन्ने क्रममा दर्शक दीर्घाबाट बारम्बार ताली बज्यो । उनले आफुहरुको आबाज सरकारले नसुन्ने गरेको पीडा कविता मार्फत पाखेकी थिईन् ।

ससत्र युद्धको क्रममा वेपत्ता भएकाहरुले पीडालाई अर्का कवि देवब्रतले कार्यक्रममा सुनाउँदा दर्शक दीर्घामा सुन्यता छायो । सुर्खेतका आत्माराम कामीको पीडालाई कवितामा ढालेर देवब्रतले सुनाएको यो कविता पनि त्यत्तिकै मार्मिक थियो,
‘कहिल्यै फर्किन सकेन मेरो दाई
दिदीले लेख्न सकिनन् दाईको ठेगानामा चिठ्ठी
ओभाएनन आमाका आँखामा आँसु
अघेनाबाट कहिल्यै हराएनन् बारुदको गन्ध
र मुस्कुराएनन् बा…’
यसरी एकपछि अर्को गर्दै युद्धमा हराएका तथा अंगभँग भएर अपांगता जीवन विताईरहेकाहरुकै पीडामा केन्द्रित कविताहरु सो कार्यक्रममा प्रस्तुत भए । अपांगताको कारण अस्पतालको वेडमा छट्पटाईरहेकी एक युवतीको बास्ताविकतालाई कवितामा उनेर डा. मुस्कान पोखरेलले सुनाएको कविता पनि त्यत्तिकै ससक्त र मार्मिक थियो । अबका दिनमा यस्ता कविता लेख्न नपरोस भन्ने कामना पनि उनले सो कार्यक्रममा गरिन् ।

भारतीय सैनिकमा चयन भएर तालिम पछि घर फर्केका म्याग्दीका सुरेन्द्र खत्रीले युद्धकालमा आफ्नै देशमा दुबै हात गुमाउनु प¥यो । मँगलबार यो कार्यक्रमको सञ्चालन गरिरहेका सुरेन्द्रले काव्य प्रस्तुतिका क्रममा आफ्ना भावना पोख्दा उनी स्वयम्ले आँसु रोक्न सकेनन् । अपांगता भएका द्धन्द्धपीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्रले द्धन्द्ध पीडित अपांगता भएकाहरुले अझै न्याय नपाएको पीडा कार्यक्रममा सुनाए ।
कार्यक्रममा केही सपांग र केही अपांगता भएका कविहरुले आफ्ना सृजना सुनाए । सो क्रममा सारश शर्मा अधिकारी, शैलेश्वरी शर्मा, भूमिका थारु, भेनिषा, सौरभ कार्की, रमेश अधिकारीसहित थुप्रै कवि कवियत्रीहरुले सुनाएका कविता निकै प्रभावशाली थिए ।
आफैं अपंँगता भएका राष्ट्रिय सभाका साँसद पदम परियारले कार्यक्रममा सुनेका कविताहरु आफ्नै व्यथाजस्तो लागेको बताए । उनले अपांगता भएकाहरुको हक अधिकारका लागि आफुले संसदबाट बारम्बार आवाज उठाईरहेको पनि जिकिर गरे ।

टिआरसी सिफारिस समितिकी सदस्य स्टेला तामाङले भोग्नेहरुले नै व्यक्त गरेका पीडा सुनेर कार्यक्रममा आफु भावुक भएको बताईन् । अपांगता भएकाहरुको हक हितमा काम गर्दै आएकी उनले अपांगता भएकाहरुकोलागि काम गर्नसक्ने व्यक्तिलाई आफुहरुले आयोगमा ल्याउने उनले जिकिर गरिन् ।






