काठमाडौं । नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड र म्यान्मामा लगेर बन्धक बनाउन थालेपछि अहिले नेपाल सरकार झस्केको छ ।
म्यान्मा (बर्मा)का कयिन प्रान्तस्थित म्यावडी र सोसँग जोडिएको थाइल्यान्डको मेसटमा बन्धकमा परेको भन्दै पीडितहरूले हाल गुहार गर्न थालेपछि सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।
थाइल्यान्ड र म्यान्माका लागि ट्राभल एड्भाइजरी जारी
मासिक १ लाख तलब हुन्छ । बस्न र खान फ्री हुन्छ भन्दै तस्करहरूले सामान्य प्रलोभनमा पारी बिटक्वाइन, फिसिङलगायतका साइबर अपराधमा लगाउने गरेको उजुरी गत वर्षको साउनमा नै उजुरीहरू परेको थियो ।
मानव तस्करको प्रलोभनमा परी २ वर्षअघि अर्थात २०७९ मंसिर महिनामा नेपाली युवाहरूको एउटा समूह म्यान्मा पुगी अलपत्र परेको थियो । तर पनि सरकारले ठोस कार्य गरेको थिएन ।
तर, अहिले भने धेरै उजुरी परेपछि सरकारले एडभाइजरी जारी गरेको हो ।
मानव तस्करहरूले आईटी क्षेत्रको काम हो भन्दै लग्दै अवैध साइबर अपराधमा लगाउने गर्दै आएका थिए । रोजगारी खोज्दै दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्ड, म्यान्मा, कम्बोडिया र लाओस् पुगेर अलपत्र पर्न थालेपछि सरकारले पहल गरेको हो ।
परराष्ट्र मन्त्रालयले थाइल्यान्ड, म्यान्मालगायतका मुलुक जाने नेपालीका लागि ट्राभल एड्भाइजरी जारी गर्दै भनेको छ, ‘थाइल्यान्ड र म्यान्मामा सूचना प्रविधि (आईटी) का क्षेत्रमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र म्यान्माको याँगौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट कयाँ प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने गरेको पाइएको छ ।’
याँगौंस्थित नेपाली राजदूतावास र बैंककस्थित राजदूतावासमा उजुरीको चाङ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मानव तस्करहरूले जबरजस्ती अवैध कार्यहरूमा लगाउने, राहदानी खोसिदिने, १२–१३ घन्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
‘त्यस्ता घटना जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याँगौं र बैंककमा आवेदन गर्ने नेपालीको संख्यामा उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’
मानव तस्करहरूले अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएको बताइएको छ ।
थाइल्यान्ड र म्यान्मामा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म÷कम्पनी÷रोजगारदाताहरूका ’boutमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म÷कम्पनी÷रोजगारदाताहरूको वेबसाइट चेकजाँच गर्न पनि आग्रह गरिएको छ ।
यसअघि याँगौंस्थित दूतावासले २६ पुस २०७९ मा एउटा विज्ञप्ति जारी गर्दै मानव तस्करको प्रलोभनमा परी म्यान्मा नआउन अनुरोध गरेको थियो । अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई लक्षित गरी गैरकानुनी रूपमा बैंकक हुँदै म्यान्मा तथा सोझै म्यान्मा ल्याई उनीहरूलाई कम्पनीहरूमा बन्दी बनाएर काम गर्न लगाइएको पाइएको याँगौंस्थित दूतावासले उल्लेख गरेको थियो ।
थाइल्यान्ड र म्यान्माको सूचना प्रविधि (आईटी) क्षेत्रमा ‘डिजिटल सेल्स एन्ड मार्केटिङ एक्जुकेटिभ्स’का रूपमा रोजगारी दिने प्रलोभन तस्करले नेपालीहरूलाई देखाउँदै आएका छन् । म्यान्माको कयिन प्रान्तको म्यावडी क्षेत्र अहिले म्यान्माको सेना र विद्रेही समूहबीच संघर्ष चलिरहेको छ । त्यो क्षेत्रलाई विद्रोहीहरूले कब्जामा लिएर आफ्नो आधिपत्यमा राज्य चलाइरहेको छ ।
पीडितहरूका अनुसार म्यावडी पुगेपछि सबैभन्दा पहिले राहदानी खोसिने गरिन्छ, अनि बन्दी बनाइन्छ । दैनिक १३ घन्टाभन्दा बढी समय अनलाइन जुवा खेलाउने, अनलाइनबाट ठगी गराउने तर तलब नदिने गरेको छ ।
म्यान्माको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन, म्यान्मा र थाइल्यान्डमा रहेका नेपाली दूतावासमा सम्पर्क गर्ने गरेका छन् । तर पनि म्यान्मा आउने र ठगिने क्रम नरोकिएपछि सरकारले पुनः ट्राभल एडभाइजरी जारी गरेको हो ।
दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेको छ । थप नेपालीको उद्धारको प्रयास भइरहेको जनाएको छ । तर, म्यान्माको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले उद्धार गर्नसमेत चुनौतीपूर्ण रहँदै आएको जनाइएको छ ।
म्यान्मामा बन्धक बनाइएका नेपालीहरूसँग तस्करहरूले १० देखि २० हजार अमेरिकी डलर लिएकोसम्म तथ्य फेला परेको छ । मानव तस्करहरूले मुक्त गर्न पनि २० हजार डलरसम्म लिने गरेको पाइएको छ ।






