गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै देउवाले आयोगको निर्णय प्रक्रियालाई अस्वाभाविक बताए । एक जना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।

देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए । पार्टी पैसाको प्रभावमा नभई विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्ने उनको भनाइ थियो ।

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन् । यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ उनले भने ।

पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै देउवाले १८ करोडमा पार्टी अरूलाई बेच्नेले कांग्रेस जोगाउन नसक्ने जिकिर गरे । आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए ।

‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु । अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ । यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो,’ देउवाले भने ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्दै उनले पार्टीको पहिचान र चुनाव चिह्न रुख कायम रहनेमा आफू आशावादी रहेको बताए । ‘मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ । अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव शर्मा बर्खास्त