दक्षिण कोरियामा चरा ठोक्किएर विमान दुर्घटना

सियोल । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको जेजु एयरको विमान दुर्घटना भएको छ । राजधानी सियोलबाट करिब २ सय ९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे विमान दुर्घटनाग्रस्त भएको हो ।

१७९ को मृत्यु, दुईको जीवितै उद्धार

जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो

थाइलैन्डको बैंककबाट फर्कदै गरेको ७सी२२१६ विमानमा चालक दलका ६ सदस्य र यात्रु १ सय ७५ सहित १ सय ८१ जना सवार थिए ।

दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको छ । चालक दलका दुई सदस्यलाई जीवितै उद्धार गरिएको छ । विमानमा १ सय ७३ दक्षिण कोरियाली र दुई थाइल्यान्डका नागरिकसहित १ सय ७५ यात्रु थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएकोे र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिङ’को साथ गरिएको थियो ।

स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडियोमा विमानले आफ्नो ल्यान्डिङ गियरबिना नै अवतरण कोसिस गरेको देखाइएको छ । विमान भुइँमा चिप्लिँदा कंक्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासि आगोको मुस्लो निस्किएको थियो ।

अधिकारीहरूका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारण’bout थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।

विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । ‘जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,’ अग्निनियन्त्रक निकायका एक अधिकारीले भने ।

स्थानीय टेलिभिजनले प्रसारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ । यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।

चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो
दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा ६ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो ।

हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङअनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो ।

विमान चालकले चेतावनीपछि संकटकालीन अवस्थाको घोषणा बिहान ८ः५९ मा गरेको मन्त्रालयले जनाएको छ । त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरे पनि ३ मिनेटपछि बिहान ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

‘धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने अवस्थाको (बर्ड स्ट्राइक)को चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्था (मे डे)को घोषणा गरेका थिए,’ मन्त्रालयले भनेको छ ।

अधिकारीहरूका अनुसार कन्ट्रोल टावरले धावनमार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो, त्यसपछि विमानचालकले रनवेमा ठोक्किएर भित्तामा नठोक्किँदासम्म अवतरणलाई सुरक्षित गर्ने प्रयास गरेका थिए ।

सियोलबाट २ सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको थियोे ।

मन्त्रालयले मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रूपमा छोटो भएका कारण दुर्घटना भएको भन्ने धारणालाई अस्वीकार गरेको छ ।

धावनमार्ग २ हजार ८ सय मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाई करिब २ हजार ५ सय मिटर रहेको छ ।

‘दुर्घटनाग्रस्त भएको बोइङ ७३७–८०० विमान १ हजार ५ सय मिटरदेखि १ हजार ६ सय मिटर लामो धावनमार्गमा अवतरण गर्न सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘धावनमार्गको लम्बाइका कारण दुर्घटना भएको भन्न गाह्रो छ ’cause अन्य विमानहरू कुनै समस्याबिना अवतरण गरिरहेका छन् ।’

कोरिया एयरपोर्ट कर्पोरेसन (क्याक)को तथ्यांकअनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ देखि यस वर्षको अगस्टसम्म १० वटा चरा ठोक्किएका घटना (बर्ड स्ट्राइक) भएका छन् ।

क्याकका अनुसार विमानस्थलहरूले चराहरूलाई टाढा राख्न ध्वनिक निवारक र अन्य उपायहरू प्रयोग गरेका छन् । यातायात मन्त्रालयले आफ्नो ‘एभिएसन एन्ड रेलवे एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड’का सदस्यहरूलाई आइतबार दिउँसो मुआन विमानस्थलमा पठाएको छ ।

अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना
मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् १९८३ मा सोभियत लडाकु विमानले रुसी आकाशमा उडेको कोरियन एयरको विमान खसाल्दा विमानमा सवार सबै २ सय ६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एयरको विमान दुर्घटना हुँदा २ सय २५ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो
दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ ।

‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएको’ बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह