संखुवासभा । संखुवासभामा निर्माणाधीन छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडकको ब्रेक थ्रु गरिएको छ । उत्तरी क्षेत्रको च्याम्ताङदेखि घोङगोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टान सहितको भीर नेपाली सेनाले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरेको हो ।
आज ब्रेक थ्रु का लागि रक्षा मन्त्री मानवीर राई, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का, पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको उत्तद दक्षिण कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बंगलादेशले फाइदा लिन सकिनेछ ।
सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरिएको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले बताउनुभयो । समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई मन्त्री राईले धन्यवाद दिए । मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख बताए ।
बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए । चीन र भारत जोड्ने खाँदवारी–किमाथांका सडक छिचोलिएपछि सञ्जालमा जोडिएको हो । यता सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । खाँदबारी–किमाथांका सडकको दूरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।
उक्त सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ । यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ ।
सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्का सडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।







