पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् ।

बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गरे । पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उनको भनाइ थियो ।

सभापति लामिछानेले भने, ‘समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो ।’

सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको स्पष्ट पारे । पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने उनको भनाइ थियो ।

‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ,’ सभापति लामिछानेले भने ।

सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताए । सरकारले गरेका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसंगमा सभापति लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले समय आएपछि त्यसको औचित्य पुष्टि गर्ने बताए ।

‘पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ,’ उनले भने ।

सरकारका कामकारबाहीमा सुधारको आवश्यकता देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई सरकार र पार्टीबीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गरे । लोकतन्त्रका मूल्य र मान्यताप्रति पार्टी स्पष्ट रहेको बताउँदै उनले आवश्यक पर्दा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने बताए ।

राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार सही ढंगले प्रयोग गर्न दिनुपर्ने बताउँदै सभापति लामिछानेले अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने धारणा राखे । प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल तथा मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने संस्थागत व्यवस्था रहेको बताए ।

सरकार र पार्टीबीचको सम्बन्ध’bout सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने र आवश्यकताअनुसार सुझाव तथा खबरदारी गर्ने अभ्यासलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने