चन्द्रौटा महोत्सवको मुख्य आकर्षण ‘ग्रिन नर्सरी’

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजना भएको नवौँ चन्द्रौटा महोत्सवमा एक अनौठो आकर्षण बनिरहेको छ कमान सिंह दर्लामीको ग्रिन नर्सरी। महोत्सवको स्टल नम्बर ११,१२ र १३ मा रहेको यो नर्सरीले उपस्थिति जनाउने हजारौँ आगन्तुकहरूको ध्यान तानिरहेको छ।

महोत्सव स्थलमा प्रवेश गरेसँगै यहाँका ढकमक्क फुलेका फूलहरूको सुगन्ध र रङ्गले सबैलाई मन्त्रमुग्ध बनाएको छ। यहाँ फूलका बिरुवा किन्ने र फोटो खिच्नेहरूको भीड लागेको छ। विशेष गरी, आकर्षक विभिन्न फुल र बिरुवाका प्रजातिहरूले आगन्तुकहरूलाई आकर्षित गर्दै महोत्सवको मुख्य आकर्षण बनेको छ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ३ स्थित ठाडा गाउँका कमान सिंह दर्लामी, जसले यस महोत्सवमा आफ्नो नर्सरी राखेका छन्, यस क्षेत्रमा फूल खेती व्यवसायका पक्के स्थापित नाम बन्न पुगेका छन्। उनले महोत्सवमा पहिलो पटक आफ्नो नर्सरी राखेका हुन्, तर यसअघि उनले विभिन्न स्थानहरूमा आफ्नो नर्सरीका फूल प्रदर्शन गरिसकेका छन्। यद्यपि, चन्द्रौटा महोत्सवमा उनी पहिलो पटक भाग लिएका छन्।

दर्लामीका अनुसार उनले लगभग २० वर्षअघि फूल खेती सुरु गरेका थिए। सुरुमा अर्को पेसामा आबद्ध रहे पनि उनको फूलप्रति विशेष प्रेम र लगावले उनलाई यस व्यवसायमा प्रवेश गरायो। उनले भने, “मैले आर्टिस्ट फोटोग्राफरको रूपमा करियर सुरु गरेको थिएँ, तर पुष्प व्यवसायमा आउनु मेरो लागि प्राकृतिक छनौट थियो। फूलहरूले मलाई शान्ति र सन्तुष्टि दिन्थे।”

उनको ग्रिन नर्सरीमा सयपत्री, गोदावारी, जिरेनियम, सिरेनिया, गजेनिया, देन्थस, डबलपिटुनीया, मेरीगोल्ड, डगफलावर, स्टकमाइण्ड, इन्पेसन जस्ता विभिन्न प्रजातिका फूल र आउटडोर तथा इनडोर प्लान्टहरू उपलब्ध छन्। मङ्सिर,पुस र माघको महिनामा लाग्ने मेला तथा महोत्सवका कारण यति बेला फूलको व्यापारमा वृद्धि भएको छ। यस वर्षको तिहारमा ६० हजारको फूल विक्री गरेको उनले बताए। फूलहरूको माग अन्य समयमा पनि उच्च रहेको छ, र यसले उनलाई वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्मको आम्दानी हुने बताए।

पारिवारिक दृष्टिकोणमा कमान सिंह दर्लामीसँग एक श्रीमती र छोरी छन्। उनले भने, “मैले सुरु गरेको नर्सरीबाट मात्र होइन, मैले ४ जनालाई प्रत्यक्ष रोजगारको अवसर पनि प्रदान गरेको छु। “कमान सिंह ६५ वर्षका भए तापनि उनमा जोस र उत्साह भने कम भएको छैन। उनले एस.एल.सी पास गरेका छन् र आजकल फूल र मल सम्बन्धी प्राविधिक जानकारी दिने तालिम पनि प्रदान गर्छन्।

दर्लामीका अनुसार फूल खेतीका लागि पहाडको वातावरण अत्यधिक उपयुक्त हुन्छ। समुन्द्र सतहदेखि ७०० मिटर माथि फूल खेती राम्रो हुने उनको अनुभव छ। यद्यपि, यो व्यवसायमा चुनौती पनि धेरै छन्। नेपालमा प्रायः फूलका बीउहरू नपाइने, बीउमा रोग लाग्ने र प्राकृतिक प्रकोपका कारण गम्भीर समस्याहरू उत्पन्न हुने गरेको उनले बताए। २०७६ सालमा उनलाई ठुलै समस्याको सामना गर्नुपर्ने अवस्था आयो। अविरल वर्षासँगै आएको असिनाले उनका करिब ३० लाख रुपैयाँका फूलहरू नष्ट गरिदिए। यद्यपि, उनले भने, “त्यो समयमा धेरै मन्त्री र सांसदहरू आए, तर सबैले केवल आश्वासन मात्र दिए। कोही पनि सहयोगमा उपस्थित भएन।”

उनले सरकारसँग माग गर्दै भने, “सरकारले केही अनुदान र टनेल प्रदान गरे धेरै सहज हुनेछ। यसले हामीलाई प्राकृतिक प्रकोपबाट बच्न र व्यवसायलाई वृद्धि गर्न मद्दत पुर्‍याउँछ।”

दर्लामीको व्यावसायिक दृष्टिकोण भने समर्पण र धैर्यमा आधारित छ। उनले भने, “यदि तपाईँमा लगन र धैर्यता छ भने नेपालमा पनि केही गर्न सकिन्छ।विदेशमा गर्ने मेहनत तथा लगानीले नेपालमै केही गर्न सकिने भन्दै देशमा केही गर्न चाहानेको लागि सरकारले पनि हेर्नुपर्ने बताए ।

कमान सिंह दर्लामीको ग्रिन नर्सरी र फूल खेतीको यात्रा केवल आर्थिक सफलतासम्म सीमित छैन। यो एक समर्पण, सङ्घर्ष र प्राकृतिक सौन्दर्यप्रतिको प्रेमको प्रतीक हो। यस्ता उद्यमशीलता र प्रेरणादायक कथाहरूले अन्य कृषकहरूलाई पनि आफ्नो सपना पुरा गर्न हिम्मत दिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित