सुर्खेत । महानगर, उपमहानगरपालिका नभएको प्रदेश हो, कर्णाली । यहाँको सहरी विकास र बाक्लो जनघनत्व भएको एक मात्र नगरपालिकामा पर्छ, सुर्खेतको वीरेन्द्रनगर । नगर पञ्चायत हुँदै नगरपालिका बनेको यो ४८ वर्षपछि उपमहानगरपालिका उन्मुख भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा जनप्रतिनिधिले वीरेन्द्रनगरलाई उपमहानगर घोषणाका लागि आवश्यक मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । तर, संघीयताको पहिलो कार्यकालमा सम्भव भएन । दोस्रो कार्यकालमा पुनः नगरपालिकाले यसका लागि आवश्यक मापदण्ड पूरा गर्ने लक्ष्य राख्यो ।
नगरप्रमुख मोहनमाया ढकालले उपमहानगरपालिका बन्नलाई सबै सूचक पूरा भएको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाको आन्तरिक स्रोत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, सञ्चारलगायतका महत्वपूर्ण पूर्वाधार विकासले सम्पन्न भएकाले उपमहानगर घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो । वीरेन्द्रनगरलाई उपमहानगर घोषणाका लागि आर्थिक वर्ष २०७८–७९ बाटै प्रक्रिया थालिएको थियो । नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका घोषणाका लागि नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेको थियो । तर, राजस्वको दायरा पूरा नभएपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन ।
नगरप्रमुख ढकालले हिउँदे नगरसभाको १६औं बैठकले उपमहानगरपालिका बनाउन मापदण्ड पूरा गरेकाले प्रक्रिया अघि बढाउन सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको बताइन् । ‘नगरसभाले उपमहानगरपालिका घोषणाका लागि कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ,’ नगरप्रमुख ढकालले भनिन्, ‘यो एजेन्डा प्रदेशमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पुग्नेछ, मन्त्रिपरिषद्बाट निर्णय भएमा वीरेन्द्रनगर उपमहानगरपालिका बन्नेछ ।’
उपमहानगरपालिका घोषणा हुन २ लाख जनसंख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । २०७८ सालको जनगणनाअनुसार वीरेन्द्रनगरमा १ लाख ५३ हजार ८ सय ६३ जनसंख्या छ । प्रदेश राजधानी हुँदा यहाँ अस्थायी बसोबास गर्नेको संख्या ५ लाख बढी भएको अनुमान छ । आन्तरिक आय २५ करोडको मापदण्ड भने गत वर्ष नै नगरपालिकाले पूरा गरेको थियो । चालू आवमा नगरपालिकाले ४३ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ । फोहरमैला प्रशोधन तथा उचित व्यवस्थापन हुनुपर्ने मापदण्ड पनि पूरा भएको छ । यहाँ संकलित फोहोर वीरेन्द्रनगर–१ तारेभीरमा व्यवस्थापन गरिँदै आएको छ । यहाँ लेदोसहितको फोहोर व्यवस्थापन गर्न प्लान्ट तयार गरिएको छ । विद्युत्, खानेपानी र सञ्चार सेवाको उपलब्धता पर्याप्त भएको नगरपालिकाको दाबी छ । कोहलपुर सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने खानेपानीको दीर्घकालीन समाधानका लागि भेरी पम्पिङ आयोजना सुरु गरिएको छ । अबको ३ वर्षमा भेरी नदीको पानी लिफ्ट प्रविधिबाट वीरेन्द्रनगरमा वितरण थालिनेछ । हाल झुप्राखोलालगायतका स्थानबाट खानेपानी आपूर्तिको व्यवस्थापन मिलाइएको छ ।
नगरभित्रका प्रमुख सडकहरू कालोपत्रे, आधुनिक पशु वधशाला र व्यवस्थित शव दाह स्थलको मापदण्डसमेत पूरा भएको छ । उपमहानगरपालिका बन्न कम्तीमा सय शøयाको एक अस्पताल सुविधा हुनुपर्छ । नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गर्नुका साथै लाटीकोइलीमा १५ शøयाको अस्पताल निर्माणको क्रममा छ । वीरेन्द्रनगरमै ३ सय शøया प्रदेश अस्पतालले विशेषज्ञसहितका सुविधा प्रदान गरिरहेको छ । वीरेन्द्रनगरमै अत्याधुनिक सभाहल, रंगशाला, क्रिकेट मैदानजस्ता संरचना बनेका छन् । उच्च शिक्षाका लागि दुई विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरू छन् ।
सार्वजनिक उद्यानमा बुलबुले ताल, शहीद पार्क, अन्य साना पार्क तथा धार्मिक पर्यटकीय स्थलहरू छन् । पर्यटकलाई बस्नका लागि तारे स्तरका होटल तथा अन्य साना होटल वीरेन्द्रनगरमा पर्याप्त छन् ।






