देश एमालेकरण भयो, कांग्रेसले रोक्न सक्नुपर्छ: शेखर कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश एमालेकरण गर्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको पूर्वआप्रवासी समन्वय विभागद्धारा शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले राज्यका महत्वपूर्ण पदमा एमालेका मान्छेहरु नियुक्त गरिएको र त्यसलाई कांग्रेसले रोक्न जरुरी रहेको बताए । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, गभर्नर एमालेकै छन्, यसको अर्थ अहिले मुलुकमा एमालेकरणको प्रयास भइरहेको छ, उनले भने, ‘कांग्रेस मुख्य जिम्मेवारीमा नभएकै कारण मुलुकको संकट समाधान नभएको हो, जब कांग्रेस मुलुकका प्रमुख जिम्मेवारीमा हुन्छ, तब मुलुकका सबै प्रकारका संकटको समाधान हुने गरेको इतिहास छ ।’

नेता कोइरालाले एमालेका सबै कुरा ठीक भन्दै जान नसकिने बताए । यदि सबै कुरा ठीक भन्दै जाने हो ८४ सालको निर्वाचनलाई कसरी फेस गर्ने हो भन्दै प्रश्न गरे । उनले कांग्रेसले एमालेसंग सहकार्य र प्रतिष्पर्धा बराबर गर्न सक्नुपर्ने धारणा राखे । यस विषयमा पार्टी रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

‘कांग्रेसको कार्यकर्ता भएपछि सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ, कोइरालाले भने, ‘हामी सरकारमा छौँ, सरकारकै आलोचना गरिरहेका छौँ, म आफै अहिलेको सभापतिसँग भिडेको हो तर, मैले राम्रो काममा सधैं सभापतिलाई साथ दिएको छु ।’ सरकारले र पार्टीले गरेका गलत निर्णयको विरोध गर्न उनले कार्यकर्तालाई आग्रह गरे । भेलालाई कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही, जानकी सिंह, सांसद हृदयराम थानी लगायतले सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली