फागुन २१ः सुखानीको सम्झना

OLYMPUS DIGITAL CAMERA

इलाम । फागुन २१ हरेक वर्ष ५३ वर्ष अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा मारिएका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । सोही सम्झनामा प्रत्येक वर्ष एमाले श्रद्धाञ्जलिसभा आयोजना गर्दै मनाएका छन ।

पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच वटा रुखहरु सँगै जोडिएर हुर्केका छन् । २०२९ फागुन २१ मा कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह संगै ढलेका तिनै सहिदहरु गतवर्षबाट बल्ल पूर्णकदको शालिकमा भएपनि उभिन पाएका छन् भने यो वर्षबाट शहीदको नाममा दर्ज हुन पाएका छन् ।

झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । यस दिन शहिदहरुको सम्झनामा नेकपा एमाले इलामले सहिद दिवश समारोहको कार्यक्रम रहेको नेकपा एमाले इलामका सचिव रिवन्द्र सुवेदीले बताए ।

नेत्र घिमिरे, कृष्ण कुइइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । घिमिरे, कुइकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ ।

सोही स्थानमा पाँचै शहीदको प्रतिमा पनि स्थापना गरिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । झापाको शनि–अर्जुन नगरपालिका भित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ । पाँचै शहीदको पूर्ण कदको शालिक उभ्याइएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले झापाको शनिश्चरे स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र प्रतिष्ठानले पाँच जना शहीदको पूर्ण कदको सालिकको उभ्याएपछि सम्झनाको रुप केही हदसम्म भएपनि फेरिएको थियो । त्यस क्षेत्रलाई सहिद पार्क बनाएपछि शुल्कसहित प्रतिष्ठानले जानेहरुलाई प्रवेश गराएर पार्कलाई जिवन्त बनाएको छ ।

सामन्तलाई नगिँडे सैनिकसँग नभिडे, आउँदैन जनबाद झोली थापेर’ झापा बिद्रोहमा यहि गीत गाउदै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले जनतालाई सामन्ती राज्यसत्ता बिरुद्ध गरिव किसानहरुलाई गोलबद्ध गरेको थियो । संघर्षका प्रणेताहरुद्वरा रचित क्रान्तिकारी गीतको यो एक अंश अहिले पनि उत्तिकै चर्चामा छ । त्यो बेला अत्यन्त लोकप्रिय मात्र थिएन, सशस्त्र संघर्ष किन र को सँग गरिदैछ भन्ने कुराको सन्देश पनि थियो । क्रान्तिकारीहरुले एक एरिया, एक यूनिट, एक एक्सनको नीति अनुसार २०२८ सालमा लडाकु दस्त तयार गरे । र पार्टीले छनोट गरेका जमिन्दारमाथि भरुवा बन्दूक, भाला, खुकुरी लगायतका घरेलु हतियारद्वारा आक्रमण सुरु गरे ।

क्रान्तिकारीको आक्रमण सुरु भएपछि जमिन्दार सुरक्षाको माग गर्दै पंचायती शासकलाई गुहार्न पुगे । संघर्षको लक्ष्य एवम् उद्देश्य सामन्ती राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्ने थियो । झापा बिद्रोहमा मुलत किसानवर्ग संगठित भई सामन्तका बिरुद्ध हतियार उठाएकाले यसलाई किसान बिद्रोह पनि भन्ने गरिन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी सँग झापा जिल्ला कमिटीले आधारभूत मतभिन्नता राख्दै अलग भएपछि ‘वर्गसत्रु खत्तम अभियान’ नीतिका साथ अघि बढेको हो । सामन्ती राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यकासाथ सुरु भएको झापा बिद्रोहले पंचायती व्यवस्थालाई हल्लाइदिएको थियो ।

२०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकाल माथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना थियो । त्यही घटनापछि झापाले राष्ट्रको ध्यान तान्यो र निरंकुश पञ्चायती व्यवस्था सशस्त्र संघर्षलाई नियन्त्रण गर्ने निहुँमा व्यापक दमन र धडपकडमा गर्न थाल्यो । कम्युनिष्ट क्रान्तिकारीलाई सखाप बनाउने नाममा सयौँ मानिस पक्राउ गरियो । उनीहरुलाई अमानवीय यातनाका शिकार भए ।

पक्राउ गरिएका मध्ये ५ जना युवालाई झापाबाट इलाम जेल सार्ने र लैजाने निहुुँमा झापा र इलाम सीमास्थल सुखानीको जंगलमा २०२९ सालको फागुन २१ गते गोली हानी सामुहिक हत्या गरियो । झापा बिद्रोहमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सी.पी. मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदिप नेपाल, सीता खड्का, मोहन उप्रेती, भिष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, दधिराम उप्रेती, हर्क खड्का, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, रुद्र सुवेदी, टंक चौधरी, गुलाम राजबंशी, खड्क थापा, भीम कुँवर, श्रीराम गिरी, दिलबहादुर खड्का, रीता खड्का, नारायण उप्रेती, मनकुमार गौतम, मनकुमार तामाङ, खड्ग दाहाल, बीरबहादुर श्रेष्ठ, डम्बरबहादुर बानिया, रामचन्द्र उप्रेती, वीरवहादुर मगर, मातृका पाठक, बलवहादुर खड्का, कृष्णवहादुर खड्का, बलवहादुर सुवेदी, धनेन्द्र बस्नेत, गौरा प्रसाई, अमर अधिकारी लगायतका क्रान्तिकारी संलग्न रहेका थिए ।

भारतको नक्सलवादी आन्दोलनको प्रभावले झापाली क्रान्तिकारीमा प्रभाव परेपछि २०२७ सालको अन्त्यतिर झापा विद्रोहको तयारी भएको थियो । झापा बिद्रोहको उद्देश्य सशस्त्र विद्रोहबाट सामन्त राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको थियो । झापा सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दारमाथि योजनाबद्ध आक्रमणबाट भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक