काठमाडौं । नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूका छोराछोरी चलचित्र क्षेत्रमा लाग्नेक्रम बढेको छ । यसैक्रममा नेपाली चलचित्रका सफल निर्माता तथा कलाकार अशोक शर्माको पथ पहिल्याउँदै उनकी छोरी कृति शर्मा पनि अभिनय क्षेत्रमा आएकी छन् । चलचित्र निर्देशनको तयारी गरिरहेकी उनले बुबा अशोक शर्माले नयाँ चलचित्र डबल ट्रिपलमा काम गर्दै छिन् । त्यसभन्दा अघि कृति एउटा म्युजिक भिडियोमार्फत अभिनयमा आएकी छन् ।
अमेरिकामा उच्च शिक्षा हासिल गरेर आएकी कृतिले अभिनयलाई निरन्तरता दिने समेत बताएकी छन् । उनले नयाँ गीत ‘रिटिङरिटिङ…’को म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । कृतिले मुख्य भूमिका निर्वाह गरेको यस गीतको भिडियोलाई काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
कृति शर्माले यस गीतको भिडियोमा काम गर्दाको अनुभव’bout भनिन्, ‘म चलचित्रको निर्मातासमेत भइसके पनि पहिलोपटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव रमाइलो त भयो नै, त्यसमा पनि यो नृत्यप्रधान गीत भएकाले मलाई नृत्य गर्न केही असहजसमेत भएको थियो तर कोरियोग्राफर तथा कलाकार सुनिल क्षेत्रीले सहज बनाइदिनुभयो ।’
कृतिले मोडल तथा निर्देशक सुनिल क्षेत्रीले आफूलाई अभिनयमा प्रस्ताव राखेको र यो गीत निकै मन परेकाले अभिनयमा जोडिएको बताइन् । गीतको भिडियोमा सुनिलको जोडी भएर काम गर्न निकै सजिलो भएको अनुभव पनि उनले सुनाइन् । आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई समेत निरन्तरता दिने पनि उनले बताइन् । यससँगै आफ्नो सपना चलचित्र निर्देशन गर्नु भएकाले त्यसतर्फ पनि आफू अब पूर्ण रूपमा केन्द्रित हुनेसमेत कृतिले बताएकी छन् ।
छोरी कृतिले निर्देशनभन्दा पहिला अभिनय यात्रा थालेकामा बुबा अशोक शर्मा खुसी छन् । गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोकले छोरी कृतिले आफूलाई यस म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए । कार्यक्रममा अशोकले भने, ‘उनी चलचित्रको पर्दामा भन्दा पनि पर्दापछाडि काम गर्न रुचाउने व्यक्ति हुन्, उनले यसअघि पानीफोटो र रातो टीका निधारमा लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेकी थिइन् र उनलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए म आफ्नै चलचित्रबाट नै डेब्यु गराउन तयार थिएँ ।’
कृतिसँगै यस गीतको भिडियोमा मोडल सुनिलले अभिनय गरेका छन् । यसमा सुनिलको अभिनयसँगै निर्देशन पनि रहेको छ । कलाकार तथा निर्देशक सुनिलले चलचित्र नै अध्ययन गरेर यस क्षेत्रमा आएकी कृति डेब्यु अभिनेत्री भएर पनि उनको काम सशक्त भएको बताए ।
अग्रज गीतकार राजेन्द्र थापाले लेखेको यस गीतमा गायक वसन्त थापा र गायिका एलिना चौहानको स्वर रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन तथा कलर गरेका हुन् ।






