उदयपुर । ईलाका प्रशासन कार्यालय कटारीले नयाँ प्रशासनिक भवनबाट सोमवार देखि सेवा प्रवाह गर्ने तयारी थालेको छ । प्रशासन कार्यालयको नव निर्मित अत्यधुनिक भवनबाट सेवा सुचारु गर्न लागेको हो । कटारी नगरपालिका– ३ कटारीस्थित कान्छी बजारमा साढे ३ तले भवन निर्माण सम्पन्न भएपछि आईतवार रामनवमीका दिन कार्यालय सरेको हो ।
१२ वर्ष देखि भाडामा कार्यालय संञ्चालन गर्दै आएको ईलाका प्रशासन कार्यालयले चैत २४ गतेबाट भने आङ्खनै नवनिर्मित भवनबाट सेवा दिने भएको छ । कटारी नगरपालिका–४ मा भाडामा संञ्चालित कार्यालय अब कटारी नगरपालिका–३ मा नवनिर्मित भवनबाट सेवा शुचारू गर्ने तयारीमा पुगेको हो ।
२ वर्ष अघि शिलान्यास भएको सो भवन सङ्घीय सरकारको ५ करोड ६३ लाख २० हजार ९ सय ८१ रुपैयाँ ७६ पैसामा ठेक्का सम्झौता भएको हो । उदयपुरको पश्चिमी भेगका कटारी नगरपालिका, ताप्ली गाउँपालिका तथा उदयपुरगढी गाउँपालिकाका केही वडाबासीको सहज सेवाका लागि कटारीमा दशक अघि देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याएको हो ।
भवन निर्माणको जिम्मा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि, नयाँ वानेश्वरले २ वर्ष भित्र निर्माण सक्ने गरी २०७९ असारमा सम्झौता गरेर काम थालेको थियो । निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर सुरेन्द्र जयसवालले भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएको बताए । कटारीमा २०६९ चैतदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको हो । सदरमुकाम गाईघाटसँग भौगोलिक दूरी टाढा हुँदा पश्चिम पहाडी भेगका सर्बसाधरणलाई सेवा सहज बनाउन कटारीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।
ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राईका अनुसार भाडाको भवन साँघुरो भएकाले नवनिर्मित नयाँ भवन उदघाटन हुन केही समय लाग्ने भएकाले कार्यालय भने सोमवार देखि सञ्चालनमा ल्याउने तयारी भएको बताईन । भवन हस्तान्तरण हुने बित्तिकै उदघाटन गरेर कार्यालय सञ्चालन गर्ने तयारी थियो, तर उदघाटन गर्न समय लाग्ने देखिएकोले तुरुन्तै कार्यालय सञ्चालन ल्याउने तयारी थालेको उनको भनाई छ ।
नयाँ भवन सञ्चालनपछि जिल्लाका पश्चिम भेगका सर्बसाधारणलाई सेवा लिन सहज हुने उनको भनाई रहेको । त्यहाँबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा शान्ति सुरक्षाको काम हुँदै आएको छ । जिल्लाका पश्चिमी र उत्तरपश्चिमी पहाडी भेगका सेवाग्राहीहरुलाई लक्षित गरी प्रशासन कार्यालय कटारीमै बनेपछि २ दिन लगाएर जिल्ला सदरमुकाम गाईघाटमा रहेको जिल्ला प्रशासन कार्यालय जानु पर्ने वाध्यता हटेको थियो ।
कार्यालयले अहिले कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको १, २ र ३ नम्बर वडालाई सेवा दिंदै आएको छ । स्थापना भएको १२ वर्ष सम्म कटारी नगरपालिका– ४ मा भाडाको घरमा काार्यलय संञ्चालन गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । कार्यालयले दैनिक सरदरमा २५ जना सेवाग्राहीलाई नागरिकता त्यति नै संख्यामा राष्ट्रिय परिचय पत्र, राहदानी र विभिन्न समावेशीता खुल्ने सिफारिस साथै संस्था नवीकरणको सेवा प्रदान गर्दै आई रहेको छ ।






