पोखरामा शृङ्खलाबद्ध चोरीमा संलग्न गिरोह पक्राउ

पोखरा । पोखरामा शृङ्खलाबद्धरुपमा चोरीका घटनामा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । सुनका गरगहना १२ तोला ८ लाल तथा २४ तोला चाँदीका गरगहनासहित विभिन्न सामान चोरी आरोपमा प्रहरीले चोरीका नाइके सुवास बिकसमेत ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पक्राउ पर्नेहरु सबै एकअर्काका नातेदार रहेको र उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा मुद्दा चलाइएको जानकारी दिए ।

पक्राउ पर्नेमा चोरीका मुख्य नाइके तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १०, साँखेका २६ वर्षीय कटुप्पा भन्ने सुवास बिक छन् । ढुंंगा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्ने उनी विगतमा पनि चोरी कसूरमा कास्की जिल्ला अदालतबाट उनलाई ५ वर्ष कैद र साढे ३ लाख जरिवाना भएको थियो । २०७९ सालमा कारागारबाट छुटेपछि ३ महिना कतार गएर फर्किएका थिए । उनलाई गत २९ वैशाखमा पोखराको बूढीबजारबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति हुन्–तनहुँ साँखेकै २३ वर्षीय बिमल विक । ड्राइभिङ पेसामा आबद्ध उनी सुवासका ठूलोबुवाका छोरा हुन् ।

सुवास बिकका मामा नाताका ५३ वर्षीय दुर्गाबहादुर थापा पनि पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा ९, काल्खुका दुर्गाबहादुर पोखराको रामबजारमा स्याङजा कोल्माकोट सुनचाँदी पसल चलाउँछन् । उनीमाथि पनि २०५७ र २०६४ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा अनुसन्धान भएको थियो । त्यस्तै, २०८० सालमा वडा प्रहरी कार्यालय वालिङबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा अनुसन्धान भएको थियो ।

तनहुँको शुक्लागण्डकी ११, दुर्गेका २२ वर्षीय गणेश सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुर्गाबहादुरको सुनचाँदी पसलका कालीगढ उनी सुवासका फुपूका छोरा पर्छन् । सुवासका फूपूका अर्का छोरा स्याङ्जा पुतलीबजार ९, काल्खुका ३३ वर्षीय सुरेश विक पनि चोरी गिरोहका अर्का सदस्य हुन् । उनी पनि दुर्गाबहादुरको सुनचाँदी पसलमा कालीगढ छन् ।

पोखरामा यसरी एकपछि अर्को चोरीका घटना बढ्न थालेपछि प्रहरी कार्यालयमा उजुरीको चाङ लागिसकेको थियो । पोखराका विभिन्न ९ स्थानका १२ वटा घरमा तथा तनहुँमा ३ चोरीका घटनाको उजुरी रहेको प्रहरीले जनायो ।

तत्पश्चात् प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान प्रक्रिया थालेकोमा संगठितरुपमा चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको जनायो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घरमा कोही नभएको अवस्थामा ताला फोडी चोर्ने गरेको, विशेषगरी सुनचाँदीका गरगहना र नगदमा मात्र फोकस गर्ने गरेको, चोरी सकेका गरगहना आफ्नै नातेदार सुनचाँदी पसल संचालक दुर्गाबहादुरलाई दिने गरेको खुलेको छ ।

सुवासले चोरी गर्न ग २२ प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । साथै, ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । मोटरसाइकल भने सुवासले आफ्नो दाइ नाताका नरबहादुर बिकबाट प्राप्त गरेका थिए । नरबहादुर पनि हाल हतिहतियार तथा खरखजाना मुद्दामा कारागारमा सजाय भोगिरहेका छन् । बिमल बिकले चोरी गर्न जाँदाआउँदा मोटरसाइकलमा ल्याउने पु-याउने काम गर्थे । उनीहरुको साथबाट प्रहरीले सुनचाँदीका छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्र पोते, मोती माला, सिक्रकी, औंठी, चन्द्रमा, गेडी पोते, मंगलसूत्र, नौगेडी, फूली, टप, पञ्चरत्ने बालाहरु बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति