गोपाल योञ्जन्स टाईमलेस संग्समा मोहित भए दर्शक

काठमाडौं । मुलुकमा डिजिटल क्रान्तिसँगै हेर्ने गीतको लहर चलेको बेला शुक्रवार साँझ भने एउटा ठुलो जमात गीत सुन्नमा मस्त थिए । कालजयी स्रष्टा गोपाल योञ्जनको गीत संगीतलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गीत सुन्नेहरूको राम्रो जमघट देख्न पाइयो ।

‘गोपाल योञ्जन्स टाईमलेस संग्स’ शीर्षकमा गोपालयले ठमेलको ‘गोदावरी अल्मोनियम एसोसिएसन’ हलमा सांगीतिक साँझ आयोजना गरेको थियो । गोपाल योञ्जनका मात्र गीतहरू प्रस्तुत सो साँझमा दर्शकहरू करिब दुई घण्टा संगीत श्रवणमा आनन्दित देखिए ।

बेलुका ६ बजेबाट ८ बजेसम्म चलेको सो सांगीतिक कार्यक्रममा अग्रजदेखि भर्खरै संगीत सिक्दै गरेको विधार्थी हरूको जमघट थियो । दुई घण्टाका बसाइमा सो सांगीतिक साँझमा गोपाल योञ्जनका १७ वटा गीतहरू प्रत्यक्ष प्रस्तुतिमा दर्शकहरु मोहित बने ।

गायिका बानिका प्रधान शुक्रवार साँझ महिला स्वरमा प्रस्तुत थिइन् । गोपाल योञ्जनको गीतमा प्रस्तुतिमा उनी जोडिएको दशक नाघिसकेको छ । १२ वर्ष अघि हिडेन ट्रेलरले आयोजना गरेको गोपाल योञ्जन सांगीतिक साँझमा पहिलो पटक जोडिएर दार्जिलिङकी बानिकाले गोपालका गीत प्रस्तुत गरेकी थिईन् ।

शुक्रबार साँझ उनीसँग युगल गायनमा दार्जिलिङका गायक महेश सेवा प्रस्तुत भएका थिए । सन २००३ मा आफ्नो पहिलो गीति संग्रह नै गोपाल योञ्जन प्रति समर्पित गरेका महेशले त्यति बेला गोपालकी आमाबाट आफ्नो पहिलो गीतिसंग्रह लोकार्पण गरेका थिए । भारतको रेलवे सेवामा कार्यरत महेश सेवा यही सांगीतिक प्रस्तुतिको लागि त्यहाँबाट केही दिनको बिदा लिएर काठमाडौँ आएका रहेछन् ।

शुक्रवारको ‘गोपाल योञ्जन्स टाईमलेस संग्स’ साँझलाई यिनै युगल जोडी महेश र बानिकाले गोपाल योञ्जनमय बनाए । दुई घण्टाको बसाइमा यी दुईले १७ वटा गीत मार्फत दर्शकलाई आनन्दित तुल्याए । कार्यक्रममा शुक्रवार सुरुका ९ वटा गीत प्रस्तुतिका क्रममा ती गीतको रचना कथा’bout गोपाल योञ्जन पुत्री सृजना सिंह योञ्जनले जानकारी गराइन् । जसका कारण ती गीतप्रति श्रोता झनै मोहित भए ।

जीवनको हरेक मोड…गीतबाट सुरु भएको सो सांगीतिक साँझको पहिलो सत्रमा महेश र बानिकाले क्रमशः ९ वटा गीत आफ्नो स्वरमा पस्किए । यो क्रममा यी स्रष्टाले गोपाल योञ्जनका कालजयी गीतहरू कहिले काहि मनका कुरा…, ए मलाई माया गछु भन्ने, च्याङवा है च्याङ्वा…, मेरो पाऊमा आज…, तिमी देऊ या नदेऊ…सुनाए । यसपछि यी दुईले मायालु हजार हुन्छन्…, बोली पनि दिउँला…, यति चोखो यति मिठो…गीत प्रस्तुत गरेपछि पहिलो सत्रले विश्राम लिएको थियो ।

यसपछिको दोस्रो सत्रमा आफ्नी आमा रिन्छेन योञ्जनलाई मञ्चमा स्वागत गर्दै सृजनाले बाँकी कार्यक्रम सञ्चालनको जिम्मा गोपाल योञ्जन पत्नी रिन्छेन योञ्जनलाई सुम्पिइन् । सो साँझको दोस्रो सत्रलाई रिन्छेनले थप रमाईलो तुल्याइन् । पति गोपाल योञ्जनसँगको प्रेम सम्बन्धदेखि वैवाहिक जीवनका विभिन्न आरोह अवरोहको स्मरण सो क्रममा उनले गरिन् । यसरी रिन्छेनले विगतलाई स्मरण गर्दा दर्शकले त्यसलाई कथाको रुपमा निकै रोचक मानेर श्रवण गरेका थिए । कार्यक्रममा उपस्थित भएका अग्रज संगीतकार रन्जित गजमेरले त रिन्छेनको बिगत प्रस्तुतिले आफू पुरानो दिनमा फर्किएको अनुभव राजधानीलाई सुनाए ।

गोपाल योञ्जनको संगीतमा पहिलो पटक खर्साङ रेडियोमा गीत प्रस्तुत गरेकी गोपालकी बहिनी शान्ति सुधा बहिनी पनि कार्यक्रम आफ्ना दाइका गीतहरूको आनन्द लिँदै थिइन् । अघिल्लो पटक दाईको ’boutमा प्रकाशित पुस्तक विमोचन समारोहमा सहभागी हुन नसकेकी शान्ति यसपटक भने कार्यक्रममा जोडिन पुगेकी रहिछन् ।

शान्तिको भनाइमा गोपाल योञ्जनको दुई गीत सावन फर्की फेरी झ¥यो… र गाउँकी छोरी बढ्यौ है तिमी…लाई सन १९६३ मा गायिका दिलमाया खातीको स्वरमा पहिलो पटक रेकर्ड गरिएको हो । तर यी दुवै गीत रेकर्ड अघि आफुले रेडियो खर्साङमा पहिलो पटक प्रत्यक्ष गाएको शान्तिले बताईन् । यता रिन्छेनले पनि त्यतिबेलासम्म गोपाल योञ्जनका कुनै पनि गीत रेकर्ड नभएको जानकारी कार्यक्रममा गराईन् ।

दोस्रो सत्रमा सो सांगीतिक साँझलाई गोपाल योञ्जनका ८ वटा गीतबाट महेश र बानिकाले माधुर्य तुल्याए । सो बसाइमा यी दुईले गोपालका मलाई माफ गरिदेऊ…, एकान्तमा उसले बोलायो…, यो रातो रातो…, नशालु रात…, गल्ती हजार हुन्छन्.., तिमी भन्छौ म तिम्रो हुँ…, तिम्रो जस्तो मुटु मेरो पनि…, भेटिनु छुट्टिनु…बोलका गीतहरू सुनाए ।

कार्यक्रमलाई विश्राम दिने क्रममा गोपाल पत्नी रिन्छेनले भनिन्,‘गोपाल योञ्जनका धेरै गीतहरूलाई अहिलेका नयाँ पुस्ताले आफ्नो स्वरमा गाएर युट्युब च्यानलमा नराखेको हैनन् । तर पनि गोपालका कालजयी गीतलाई मूल लयमै नयाँ पुस्तालाई पुस्तान्तरण गर्नको लागि प्रत्यक्ष गीत सुन्ने कार्यक्रम हामीले आयोजना गरेका हौँ’, आगामी अगष्टबाट अमेरिकाका विभिन्न शहरमा गोपाल योञ्जनको गीतहरुको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहेको पनि उनले जानकारी गराईन् ।

यो सांगीतिक साँझमा ७ जना बाद्यवादकहरुले प्रत्यक्ष वाद्यवादनमा महेश र बानिकालाई सघाएका थिए । ‘गोपाल योञ्जन्स टाईमलेस संग्स’ सांगीतिक साँझको सम्पूर्ण संगीतको निर्देशन संगीतकार सचिन सिंहले सम्हालेका थिए । संगीत निर्देशनसँगै उनले गिटारमा साथीहरूलाई साथ पनि दिए । कार्यक्रममा प्रत्यक्ष संगीत तर्फ लिड गिटारमा सञ्जीव सुब्बा थिए । यस्तै बेस गिटारमा अनुप दाश, तबला र पाक्र्युसनमा भुवन गन्धर्व, तबलामा कौशल लामा योञ्जन, बाँसुरीमा रत्न विके र सितारमा उत्तम घोष थिए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार