दैलेखको मकैबालीमा अमेरिकी फौजी कीरा

दैलेख । नारायण नगरपालिका–२ स्थित जाहारकोटका किसानहरू पछिल्ला दिनमा मकैबालीमा फौजी कीरा र गबारोको प्रकोपले किसानहरु समस्यामा परेका छन् । बैशाखको अन्तिम सातादेखि अमेरिकी फौजी कीराको प्रकोप तीव्र बनेपछि किसानहरूले मकै उखलेर पुनः मकै रोप्न थालेका हुन ।

नारायण नगरपालिका २ का किसान उदयबहादुर थापाले गएको वैशाख लगाएको मकैबाली गवारोले सखाप पारेपछि पुनः १५ गते मकै लगाएका थिए । यस भन्दा उनले सोही महिनाको १० गते बारीमा मकै रोपको बताए । उनले भने,‘पहिला यस्तो रोग लागेको थिएन । यसपालि मनकामना जातको मकैमा फौजी कीरा र गबारोले ठूलो क्षति पु¥यायो।’ पाँच सदस्यीय परिवार पाल्नुपर्ने जिम्मेवारी बोकेका थापाको पाँच रोपनी मकैबाली पूर्ण रूपमा नष्ट भएको छ ।

थापाले आफ्नो दिबाकर कृषि तथा पशुपन्छी फार्म दर्ता गरे पनि बारम्बार जिल्ला कृषि विकास कार्यालयमा अनुदानको फाराम भर्ने गरेको भएता पनि सक्कली किसानलाई भन्दा कार्यालय भने अन्यलाई प्राथमिकता दिइएको आरोप लगाए ।

त्यस्तगरि सोही वडाका ५५ वर्षीय बखतबहादुर थापाको ६ रोपनी मकै र तरकारी बालीमा फौजी किरा र जेठ ७ गते परेको असिनाले व्यापक क्षति पु¥याएको छ । करेला, लौका, चिचिण्डा, काँक्रा लगायतका तरकारी र मकैबाली असिनाले सखाप पारेको दुखेसो पोखे ।

३३ वर्षीया देविका थापा पनि असिनाले क्षति पुगेका किसानमध्ये एक हुन् । ’प्लास्टिक टनेलमा भएको बाहेक सबै तरकारी असिनाले नष्ट ग¥यो । उनले भनिन्,असिना पानीले मैले बारीमा लगाएको सबै तरकारी असिनापानीले नष्ट ग¥यो । क्षतिको विवरण वडा कार्यालयमा निवेदन मार्फत बुझाएको छु ।

नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाले असिना, हुरीलगायतका कारण क्षति पुगेका बालिको विवरण संकलन गरि सकिएको छ । क्षतिपूर्ति रकम चाँडै वितरण गरिने जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले नारायण नगरपालिका–२ जाहारकोटका २१ जना किसानका ३६ रोपनी जग्गामा भएको तरकारी उत्पादनको मूल्यांकनको आधारमा करिब १ लाख ९४ हजार रुपैयाँ राहत वितरणको निर्णय भएको जानकारी दिए । राहत रकम केही दिनमै किसानहरूलाई उपलब्ध गराइने छ,प्रमुख पाण्डेले भने ।

कार्यालय प्रमुख पाण्डेका अनुसार जलवायु तथा मौसमको परिवर्तनका कारण जिल्लाका विभिन्न ठाउँमा फौजी कीरा र गबारोको असर देखिएको बताए । पानी परेपछि किराको प्रकोप कम हुने अनुमान गरिएको छ । हालसम्म मकैमा लागेको किराको सम्बन्धमा कार्यालयमा औपचारिक गुनासो आएको छैन । गाउँ बस्ती टोलमा अनुगमन जारी राखेका छौं,उनले भने ।

यसैबीच, विपद् व्यवस्थापन समिति दैलेखले बाढी, पहिरो, असिना, हुरी, जंगली जनावरको आक्रमण जस्ता कारणले किसानले लगाएको अन्नबाली,तरकारी खेतीको क्षति व्यर्होनु परेको जनाएको छ । क्षति पुगेको किसानहरूलाई राहतस्वरूप जिल्लाभर ५२ लाख १ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, भैरवी, ठाँटीकाँध, डुङ्गेश्वर, नौमुले, महाबु र गुराँस गाउँपालिकाका प्रभावित किसानलाई लक्षित गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग