विपद् व्यवस्थापन पूर्वतयारीमा जुट्यो वीरेन्द्रनगर

वीरेन्द्रनगर–९ तल्लो पर्सेनीमा जडान गरिएको बाढीको पूर्वसूचना दिने साइरन । तस्बिर: प्रकाश अधिकारी

सुर्खेत । मनसुन भित्रिएसँगै वीरेन्द्रनगर नगरपालिकाले विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य थालेको छ । बाढी–डुबान र नदी कटानको उच्च जोखिममा रहेको वीरेन्द्रनगरले पूर्वसूचना प्रणाली, वर्षा मापन केन्द्र जडान गर्नुका साथै उद्धार सामग्री तथा उपकरणहरूलाई तयारी अवस्थामा राखेको हो ।

पूर्वसूचना प्रणाली जडान, प्रतिकार्य योजना निर्माण, पीडितले सात दिनभित्र राहत पाउने

आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत नगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य थालेको छ । नगरपालिकाले यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको छ । आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले विपद्सम्बन्धी ऐन, कार्यविधि, कार्ययोजनाका आधारमा पूर्वतयारीका सबै कार्य गरिएको जानकारी दिए । ‘केन्द्रको आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय व्यवस्थापन समिति, टोल विकास संस्थाहरू, विपद् उद्धार कार्यदल, गैरसरकारी संस्थाहरूलाई तयारी अवस्थामा राखेका छौं,’ आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गिरीले भने, ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा जोखिम संवेदनशील क्षेत्रमा न्यूनीकरणका कामहरू सम्पन्न गरिएको छ ।’

विपद् व्यवस्थापन ऐन र कार्ययोजनाका आधारमा जोखिम संवेदनशील भू–उपयोग योजना, भू–उपयोग नीति, जग्गा एकीकरण, भूकम्पीय जोखिम आँकलन, भौतिक पूर्वाधार तथा भवन मापदण्डलगायतका नीतिहरू लागू गरेको छ । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नं २ र ९ बाढी र डुबान, वडा नं १४, १५, १६ पहिरो, वडा नं ३ भूकम्पबाट बर्सेनि प्रभावित हुँदै आएका छन् ।

आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको छ । २०७१ सालमा सो खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । हाल सो क्षेत्रमा तटबन्ध गरिएको हो । इत्राम खोलामा पनि तटबन्ध बनेपछि २ सयबढी घरधुरी लाभान्वित भएका बताइएको छ ।

वीरेन्द्रनगर–९ तल्लो पर्सेनीमा बाढी–डुबानको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । त्यहाँका ६३ घरधुरीलाई लक्षित गरी रिमोटबाट चल्ने साइरन जडान गरिएको हो । सो साइरनको ध्वनि नगरपालिका कार्यालयमा पनि सुनिने व्यवस्था मिलाइएको छ । यसले कार्यालयबाट उद्धार सामग्रीसहित परिचालन हुने मद्दत टोली पुग्ने बताइएको छ । समावेशी टोल विकास संस्थाकी अध्यक्ष गीता खानले साइरन जडानबाट गाउँलेले सुरक्षित महसुस गरेको बताइन् । उनले भनिन्, ‘चारैतिर नालाले घेरेको बस्ती भएकाले सामान्य वर्षा हुँदासमेत डुबानको खतरा छ, साइरन जडानका साथै र सेफ्टी ज्याकेटहरू वितरण गरिएकाले सुरक्षित महसुस गरेका छौं ।’ स्थानीयका अनुसार २०७१ सालको बाढीबाट यस टोलका तीन जनाले ज्यान गुमाएका थिए ।

नगरपालिकाले पूर्वसूचना प्रणाली व्यवस्थापनका साथै उद्धार उपकरण एवं जनशक्तिलाई पनि तयारी अवस्थामा राखेको छ । आपत्कालीन कार्यसञ्चालन केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबरबोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबर ट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको छ । नगरपालिकाले स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिकाअन्तर्गत तालिमप्राप्त अग्नि नियन्त्रक १४ जना, द्रुत लेखाजोखा ४१, खोज तथा उद्धारकर्ता २४, बासटोली १७ जनालाई परिचालन गर्नेछ । नगरपालिकाले ६५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष बनाएको छ ।

यसैबीच, नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै विपद्का लागि तत्काल राहतको प्रबन्ध गर्ने जनाएको छ । मंगलबार आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले विपद् पूर्वसूचना प्रणाली व्यवस्थापनलाई जोड दिँदै विपद्सम्बन्धी घटना घटेमा विवरण प्राप्त भएको सात दिनभित्र राहत उपलब्ध गराउने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग