सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ९ नं वडा कार्यालयको आयोजनामा शुक्रबार (आज) काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुँदै छ । महोत्सवका साथै युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन, विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनीसमेत हुने वडा कार्यालयले जनाएको छ ।

सम्मेलनमा काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक अध्ययनमा आधारित कार्यपत्र प्रस्तुति तथा टिप्पणी, काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिता, सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता र स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता सञ्चालन हुनेछ । वक्तृत्वकलामा कक्षा ९ देखि १२, चित्रकलामा कक्षा ६ देखि ८ र नृत्य प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले भाग लिनेछन् ।
वडाध्यक्ष ऋषि गिरीले महोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । वीरेन्द्रनगर–९ स्थित संरक्षित वन क्षेत्रमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक सम्पदा हो । यो सुर्खेतको मात्र नभई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमा पर्छ ।
काँक्रेविहारको बेजोड कलाकृति, ऐतिहासिकता, पुरातात्विक पक्षलगायतका ’boutमा थप खोज, अनुसन्धान र प्रवर्धन जरुरी रहेकाले महोत्सव आयोजना गरिएको वडाध्यक्ष गिरीले बताए । काँक्रेविहार परिसरमा सञ्चालन हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री यामलाल कँडेलले गर्नेछन् ।






