‘माग्ने राजा’का ट्रेलरमा पैसाको रवाफ

काठमाडौं । आगामी ६ भदौबाट रिलिज हुने नेपाली चलचित्र ‘माग्ने राजा’को ट्रेलर बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको यो चलचित्रको ३ मिनेट ४० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रबाट अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) नायकको रूपमा आफू शीर्ष भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रको ट्रेलरमा समेटिएको कथावस्तु पनि केदारकै चरित्रको सेरोफेरोमा घुमेको छ ।

एक साधारण गाउँले युवकको धेरै पैसा कमायो भने उसले के कस्तो रवाफ देखाउँछ भन्ने कथा यो चलचित्रको ट्रेलरमा रहेको छ । पैसा कमाइसके पछि आर्थिक रूपमा सम्पन्न भएको केदारको चरित्रलाई ट्रेलरमा समेटिएको छ । केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो चलचित्र हो । यसअघि उनी द्वितीय भूमिकामा सीमित हुने गरेका थिए ।

यो चलचित्रको ट्रेलरमा केदार घिमिरेसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई समेटिएको छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिकामा रहेको निर्माण पक्षले कार्यक्रममा जानकारी गरायो । यस्तै मिस पविलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रूपमा यसको ट्रेलरमा देखाइएको छ ।

यो चलचित्रमा आफूहरूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिलाई ब्यंग्य गरेको यसका निर्देशक ऋषि लामिछानेले बताए । बिना मिहेनत पैसा कमाएको पैसाले जीवनमा दुःख दिने सन्देश पनि यो चलचित्रमा समेटिएको उनको कथन थियो ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुत कर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीले खिचेको ‘माग्ने राजा’लाई आरआर फिल्मसले वितरण गर्ने छ । यो चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ