काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा फेरबदल भएको विषयमा सिंगो संसद् जवाफदेही बन्नुपर्ने आवाज संसदभित्र र बाहिर उठिरहेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् बैठकमा समितिको सभापतिबाट राजीनामा दिएको घोषणा गर्दै यस प्रकरणमा सिंगो संसद् जवाफदेही हुनुपर्ने बताए ।
खतिवडाको सभापति पद नै जानेगरी विधेयकमा भएको हेरफेरपछि हामीले प्रतिनिधिसभाका चार जना सांसदलाई सांसदले विधेयक पढ्छन् कि पढ्दैनन् भनेर सोधेका छौं । उनीहरूले विधेयक नपढेको भन्ने आरोप मात्र भएको बताए । तर, सँगसँगै के पनि भने भने ‘हामी सबै विधेयक पढ्दैनौं’ ।

३ मिनेटमा ३० पेज बुझाउन सकिन्नः यादव
नेपाली कांग्रेसकी नेतृ एवं सांसद नागिना यादवले सांसदले विधेयक पढ्दैनन् भन्ने कुरामा सत्यता नभएको बताइन् । उनले समितिबाट सर्वसम्मत पारित भएको विधेयक विश्वासका आधारमा आफ्नो धारणा राख्दै पारित हुने गरेको बताइन् ।
सर्वसम्मत समितिबाट पारित भएको विधेयकमा कर्मचारीले ‘बदमासी’ गर्नाले सांसदको बदनामी हुने गरेको उनको दाबी छ ।
‘सांसदलाई ३ मिनेटको समय दिने त्यो ३ मिनेटको समयमा ३० पेजभन्दा लामा विधेयकमा आफ्नो धारणा राख्ने हो,’ उनले भनिन्, ‘समितिबाट पारित भएको विधेयक सांसदलाई दिएर पाँच दिनको समय दिनुप¥यो, अनि बुँदाबुँदा अध्ययन गर्न पाउँछ, समय नदिने र पढेनन् भन्ने हल्ला गर्नु ठीक होइन ।’

सांसद सबै विषयको विज्ञ होइन: श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं सांसद लिलानाथ श्रेष्ठले सांसदहरू सबै विषयको विज्ञ नभएको बताउदै सबै विधेयकमा गम्भीर भएर नै छलफल हुने गरेको बताए । समितिका सभापतिले कहिलेकाहीँ अन्तिम समयमा समितिबाट पारित विधेयक सांसदलाई नदिई पेस गर्ने र त्यसै पारित हुने भएकाले कहिलेकाहीँ त्रुटि देखिने गरेको उनको जिकिर छ ।
‘सांसदहरू सबै विषयका विज्ञ होइनन्, विभिन्न विषयमा हामीले विज्ञको पनि सल्लाह लिन्छौं, देशविदेशका कतिपय व्यवस्था हेर्छौं, दफावार छलफल हुन्छ, कहिलेकाहीँ समितिका सभापतिले सांसदलाई अन्तिम चरणको छलफलपछि समय नदिई संसद्मा पेस गर्ने कारणले कहिलेकाहीँ त्रुटि हुनजान्छ,’ उनी भन्छन् ।

सबै विधेयक पढ्न सकिन्न : मोदी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं सांसद अमनलाल मोदीले सबै सांसदले सबै विधेयक पढ्न नसक्ने बताए । सांसदहरूले कुन बुँदामा संशोधन हाल्ने, कुनमा चासोको विषय छ ? त्यस’boutमा अध्ययन अनिवार्य गर्दै आफ्नो धारणा राख्ने उनले बताए । मुख्य विषय समितिबाट पारित हुँदा समितिका सभापतिले के आधारमा सही गरेर प्रतिवेदन संसद्मा पेस गरे र कसरी निर्णयार्थ पेस गरे भन्ने कुराको जवाफ सोही समितिका सभापतिले दिनुपर्ने मोदीले बताए ।
‘सबै विधेयक सबै सांसदले पढ्दैनन्, आफूलाई चासो लागेको बुँदा पढेर संशोधन हाल्ने र धारणा राख्ने हो तर समितिमा दफावार छलफल हुन्छ, गम्भीर छलफल हुँदै पारित भएको विधेयक निर्णयार्थ संसद्मा पेस हुँदा समितिका सभापतिले के हेरेर सही गरे भन्ने जवाफ त उहाँले नै दिने हो,’ मोदीले भने ।

परम्परागत शैलीको दोषः अधिकारी
जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद प्रकाश अधिकारीले सबै सांसदले विधेयकहरू पढेरै आफ्नो धारणा राख्दै आएको बताउदै परम्परागत शैलीका कारण कहिलेकाहीँ त्रुटि हुनसक्ने कूटनीतिक जवाफ दिए ।
निजामती विधेयक समितिबाट पारित भएपछि संसद्मा आएको बताउदै अधिकारीले भने, ‘बंग्याएर आयो, छानबिन समिति पनि बन्यो, पढ्दैपढ्दैनन् भन्ने होइन, पढिन्छ, परम्परागत शैलीले पनि कहिलेकाहीँ प्रभाव पारेको हुन्छ ।’
राजीनामा रोष, कर्मचारीलाई भएभरका दोष
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा कर्मचारीको लोभका कारण आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा गरेको दाबी गरेका छन् ।
मंगलबार संसद् बैठकमा बोल्दै खतिवडाले कर्मचारीहरू हुल बाँधेर आफ्ना मागको रटान दिएर हिँडेका बेलामा आफूले उनीहरूलाई विश्वास गरेर अन्तिम प्रतिवेदन अक्षरशः नहेर्नु कमजोरी भएको स्विकारेका छन् ।
राजीनामा घोषणा गर्दै खतिवडाले कर्मचारीतन्त्रको विकृति र राजनीतिक नेतृत्वलाई नटेर्ने प्रवृत्ति छ्याङ्ग पारिदिएका छन् । कुलिङ पिरियड राख्नुपर्छ भन्नेमा आफू हिजो पनि आज पनि रहेको बताउँदै सभापति खतिवडाले राजनीतिक नेतृत्वलाई पनि चेतावनीपूर्ण भाषामा दोषी देखेका छन् । संसद्मा बोल्दै खतिवडाले भने, ‘चाकडी गर्नेलाई आज राजीनामा गराएर भोलि नियुक्ति दिइने काम भएको छ, त्यसलाई रोक्नुपर्छ भन्ने मेरो मान्यता हो, म यसमा दृढ छु, कर्मचारीहरूबाट भएको कमजोरीको समेत जिम्मेवारी लिँदै मैले नैतिकता देखाउनैपर्छ ।’
कर्मचारीहरूले राजनीतिक नेतृत्वलाई अपमानित गर्ने गरेको र आफूहरूलाई देखाएर उनीहरूले स्वेच्छाचारी काम गर्ने गरेको खतिवडाले दाबी गरेका छन् । ‘स्थायी सरकार हामी हौं, प्रधानमन्त्री–मन्त्री त पाहुना हुन्’ भन्ने कर्मचारीहरूको मानसिकताका कारण पनि उनीहरूको स्वार्थविपरीतको काम तथा निर्णय हुन कर्मचारीले कुनै पनि हालतमा नदिने गरेको तथ्यसमेत खतिवडाले छ्याङ्ग पारिदिएका छन् ।
खतिवडाले कर्मचारीको अनेक बिन्तीभाउको परवाह नगरी पारित गरेको अवस्थामा कानुनसँग सम्बन्धित मन्त्रालय र राज्य व्यवस्थाका कर्मचारीको मनसाय र नियतका कारण त्रुटि भएको बताउँदै कर्मचारीको चलखेल भएको विषयमा अन्तिममा गहिरिएर अध्ययन नगर्नु आफ्नो कमजोरी भएको स्विकारेका छन् ।
सिंगै संसद् पनि जिम्मेवार
सभापतिका रूपमा आफूले जिम्मेवारी लिएर राजीनामा घोषणा गर्दैगर्दा खतिवडाले सिंगै संसद्माथि नैतिक प्रश्न उठाएका छन् । ‘यो त्रुटि मेरो मात्र हो कि संसद्को पनि हो ?’ प्रश्न गर्दै खतिवडाले भने यस्तो विधेयक संसद्बाट पारित हुँदा सांसदहरू विधेयक पढ्दै नपढी पास गर्छन् भन्ने सन्देश गएको बताएका छन् ।






