संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन् । ब्रम्मकुमारी राजयोग केन्द्र संखुवासभाको आयोजना र रेडक्रस सोसाईटीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक सय बढीले रक्तदान गरेका छन् । रक्तदान गरौं, जीवन बचायौं भन्ने नारामा साथ ब्रम्मकुमारी राजयोग केन्द्रले बृहत रक्तदान आयोजना गरेको हो ।
ग्लोवल रक्तदान कार्यक्रममा एक सय ८ जनाले रक्तदान गरेको ब्रम्मकुमारी राजयोग केन्द्र संखुवासभाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा ४२ महिला र ६६ पुरुषले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले मानवीय सेवा अनुरूप कार्यक्रमको आयोजना गरिएको ब्रम्मकुमारी राजयोग केन्द्रकी प्रमुख आचार्यले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले आफैले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको हो । एक पिन्ट रगतको अभावमा मानवको ज्यान जाने खतराबाट बचाउन यस्ता कार्यक्रम निरन्तर आवश्यकता भएको प्रमुख शाक्यले बताउनुभयो ।
रक्तदाताले दिएको रगतका कारण अर्को व्यक्तिले नयाँ जीवन पाउने हुँदा यस्तो महान कार्यक्रममा आवश्यकता भएको उहाँको भनाइ छ । खाँदबारीमा व्लड बैंक स्थापना भए पनि विभिन्न समस्याका कारण पुर्णरुपमा व्लड बैक सञ्चान हुन सकेको छैन ।






